ad ad

राजनीति


चिनियाँ विदेशमन्त्री वाङविरुद्ध प्रदर्शन गर्ने नौ महिला पक्राउ

चिनियाँ विदेशमन्त्री वाङविरुद्ध प्रदर्शन गर्ने नौ महिला पक्राउ

नेपालखबर
भदौ २३, २०७६ सोमबार ९:२२,

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीविरुद्ध प्रदर्शन गर्ने नौ जना महिलालाई प्रहरीले सोमबार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै भाटभटेनीबाट पक्राउ गरेको छ।

सोमबार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै भाटभटेनीमा प्रदर्शन भएको हो।

नेपाली चेलीबेटी चीनमा बेचबिखन भइरहेको भन्दै महिलाहरुको एक समूहले ‘चेलिबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका प्लेकार्डसहित विरोध–प्रदर्शन गरेको छ।

विरोधमा उत्रिएका नौ जनाको समूहलाई नेपाल प्रहरीले सोमबार साढे १२ बजे पक्राउ गरी सुरुमा प्रहरी वृत कमलपोखरीमा राखेको थियो। अहिले उनीहरूलाई महेन्द्र पुलिस क्लवमा सारिएको छ।

सिन्धुपाल्चोककी २२ वर्षीय सीता ज्योती, नवलपरासी घर भई काठमाडौंको जडिबुटी बस्ने ३० वर्षीय उर्मीला पन्थी, ललितपुर लगनखेल बस्ने ३३ वर्षीय शोभा डंगोल, सलार्ही घर भई हाल जडिबुटी बस्ने २५ वर्षीय पुनम ठकुरी, तेह्रथुम घर भई हाल कोटेश्वर बस्ने ३२ वर्षीय मीना श्रेष्ठ, सुनसरीकी ४० वर्षीय निर्मला ठकुरी, किर्तिपुर बस्ने ४५ वर्षीय उमा बुढाथोकी पक्राउ परेका हुन्।

त्यसैगरी काभ्रेपलाञ्चोक घर भई भक्तपुर बस्दै आएकी गीता भण्डारी र धापाखेल ललितपुरकी ४४ वर्षीय तेजकुमारी थापा पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ।

चीनका विदेशमन्त्री वाङ यीको भ्रमणको सन्दर्भ पारेर महिलाहरू प्रदर्शनमा उत्रेका हुन्। राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको क्रममा वाङ आइतबार तीन दिने नेपाल भ्रमणमा आएका छन्।

नेपालमा यसअघि चीनबाट उच्च तहको भ्रमण हुँदा यहाँ रहेका तिब्बती शरणार्थीहरूले प्रदर्शन गर्ने गरे पनि महिलाहरूको यस्तो विरोध प्रदर्शन भने पहिलो पटक भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .