नेपाली राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक खेल्ने कीर्तिमान रक्षक विराज महर्जनको नाममा छ। दुई वर्षअघि आफ्ना गुरुकै नाममा रहेको सर्वाधिक खेलको कीर्तिमान उनले भंग गरेका थिए।
विराजको नाममा ७२ खेलको कीर्तिमान छ। उनका गुरु तथा पूर्वकप्तान राजुकाजी शाक्यले ६८ खेल खेल्दै राखेको कीर्तिमान उनले भंग गरेका हुन्।
यी कीर्तिमानी पूर्वकप्तानले यसपटक दशरथ रंगशालामा राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्दै सन्न्यास लिने घोषणा गरिसकेका छन्।
दशरथ रंगशालामा अहिले त्रिदेशीय फुटबल प्रतियोगिता भइरहेको छ। जसमा किर्गिस्तानको यू–२३, बंगलादेश र नेपाली राष्ट्रिय टोली भिड्दै छन्। यही प्रतियोगितालाई विराजले अन्तिम बनाउने निर्णय गरिसकेका छन्।
‘पहिलेदेखि घरेलु मैदानमा खेल्दै विश्राम लिने सोच बनाएको थिएँ। यसपटक त्यो अवसर जुरेको छ,’ विराज भन्छन्, ‘यही प्रतियोगिताबाट मैले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णयमा पुगेको छु। यसबारे एन्फालाई पनि जानकारी गराइसकेको छु।’
नेपालले बिहीबार किर्गिस्तानसँग खेल्दै छ। जितेमा नेपालले अर्को खेल चैत १२ गते बंगलादेशविरुद्ध खेल्नेछ। नतिजा आफ्ना पक्षमा आयो भने नेपालले चैत १६ गते फाइनल खेल्नेछ। त्यसो भएमा त्यही खेलबाट विराजले बुट थन्क्याउनेछन्।
नेपाल फाइनलमा नपुगेका खण्डमा त्यसअघि नै विराज अन्तिमपटक राष्ट्रिय जर्सीमा उत्रनेछन्।
कोरोना महामारीका कारण पछिल्लो वर्ष खेलकुदका कुनै गतिविधि भएनन्। त्यसअघि नै फिटनेसका कारण विराज एक वर्षदेखि प्रशिक्षकको रोजाइमा परेका थिएनन्।
अन्तिमपटक उनी २०१९ जुनमा मलेसियासँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा थिए।
त्यसयता गोलरक्षक किरण चेम्जोङले नेपाली टोलीको नेतृत्व गरिरहेका छन्। बिहीबार किर्गिस्तानविरुद्धको खेलमा पनि विराज उनकै कप्तानीमा खेल्नेछन्।
सफल कप्तान
सन् २०१५ मा तत्कालीन कप्तान सागर थापासहितका खेलाडी म्याच फिक्सिङमा मुछिएपछि विराजलाई नेपाली टोलीको नेतृत्व दिइएको थियो।
उनले २०१५ डिसेम्बरमा साफ च्याम्पियनसिपमा पहिलोपल्ट नेपाली टोलीको नेतृत्व गरेका थिए। त्यसयता उनले १८ खेलमा राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन्।
विराज कप्तान चुनिएको अर्को वर्ष नेपालले ३ ठूला उपलब्धि हात पारेको थियो। बंगलदेशमा बंगबन्धु, भारतमा १२औं साग र मलेसियामा सोलिडारिटी कप जितेको हो। त्यसपछि उनी नेपाली फुटबलका सफल कप्तानमा दरिएका थिए।
जसलाई उनी आफ्नो खेल जीवनको उत्कृष्ट क्षण मान्छन्। भन्छन्, ‘देशका लागि उपाधि जित्नु ठूलो कुरा हो। ती सबै जित जीवनभर सम्झनामा रहनेछन्।’
सन् २००८ मा पोखरामा भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलबाट विराजले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। रक्षकको भूमिकामा रहने उनले एक गोलसमेत गरेका छन्। २००९ मार्चमा भएको एएफसी च्यालेन्जकपमा किर्गिस्तानविरुद्ध उनले गोल गरेका हुन्।
ए डिभिजन लिगमा पनि सफल
दशरथ रंगशालाकै छेउमा छ, विराजको घर। सानो छँदा उननी काका (रत्नकाजी महर्जन) र दाइ (विक्रम महर्जन) को पछि लागेर दशरथ रगंशाला छिर्थे। उनका काका र दाइ पनि फुटबल खेलाडी हुन्।
फुटबलमा रुचि देखाएपछि विराज एन्फा एकेडेमीमा भर्ना भए। २०५४ सालमा स्थापित एन्फा एकेडेमीको तेस्रो ब्याच विराजले उमेर समूहमा खेल्दै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
सुरुमा विराजले अन्डर—१० बाट खेलेका थिए। त्यसपछि क्रमशः नेपाली अन्डर–१५, १६, १७, १९, २३ सबै उमेर समूहबाट खेल्दै आफूलाई निखारे।
उनीसँग ‘लेफ्ट’ र ‘राइट ब्याक’ दुवैबाट खेल्न सक्ने क्षमता छ। २०६३ सालमा संकटा क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका विराजले न्युरोड टिम (एनआरटी) हुँदै थ्रिस्टारको जर्सीमा ए डिभिजन लिग खेले।
थ्रिस्टारबाट उनले २०६७ सालमा पहिलो ए डिभिजन लिगको उपाधि जिते। त्यसपछि मनाङ–मर्स्याङ्दी क्लबमा आबद्ध भए र फेरि ए डिभिजन लिगको उपाधि हात पारे। दुई वर्षअघि मच्छिन्द्र क्लबमा अनुबन्ध भएर पनि उनले उपाधि प्राप्त गरे।
यसरी ३ क्लबबाट ए डिभिजन लिगका उपाधि जित्ने कीर्तिमान पनि उनकै नाममा छ। देशका लागि ३ र घरेलु उच्च श्रेणीको फुटबलमा पनि ३ उपाधि हासिल गरेका उनी आफूलाई भाग्यमानी ठान्छन्।
‘थ्रिस्टार, मनाङ र मच्छिन्द्र तीनवटै क्लबबाट लिग उपाधि जितें। देशका लागि पनि ३ उपाधि जितें, त्यस अर्थमा म आफूलाई भाग्यमानी मान्छु,’ विराज भन्छन्।
‘फुटबलबाट अलग हुँदिनँ’
विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भए पनि घरेलु प्रतियोगितामा भने उनलाई अझै केही वर्ष देख्न पाइनेछ। त्यसपछिको भविष्यबारे उनले अहिल्यै केही सोचिसकेका छैनन्।
‘बुट थन्क्याउन लाग्दा दुःख पक्कै लागेको छ। म फुटबलबाट कहिल्यै टाढा रहन सक्दिनँ,’ विराज भन्छन्, ‘केही समय घरेलु फुटबलमा हुनेछु। त्यसपछि के हुन्छ, निर्णय गरिसकेको छैन।’
‘मैले जे पाएँ फुटबलकै कारण पाएँ। फुटबल नभएको भए आज मलाई कसैले चिन्ने थिएन,’ उनी थप्छन्, ‘सायद फुटबलसँग नजोडिएको भए म एउटा कुवाको भ्यागुताजस्तो काठमाडौंमै सीमित हुन्थें होला।’
Shares
प्रतिक्रिया