भारतीय क्रिकेट कन्ट्रोल बोर्डले २००८ मा महत्वाकांक्षी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग(आईपीएल) सुरु गर्यो। यसले विश्व क्रिकेटलाई नयाँ व्यावसायिक युगमा प्रवेश गरायो।
स्थानीयको अपनत्व हुने गरी सहरका नाममा टोली, व्यावसायिक घरानाको स्वामित्व, बोलकबोलद्वारा खेलाडीको लिलामी, स्वदेशी–विदेशी खेलाडी, आकर्षक पारिश्रमिक, पुरस्कार, मनोरन्जन फ्रेन्चाइज क्रिकेटका मुख्य विशेषता हुन्।
आईपीएलको सफलतापछि विश्वभर नै यही प्रकृतिका क्रिकेटको क्रेज बढ्यो। अस्ट्रेलिया, इंग्ल्याण्ड, वेष्ट इन्डिज, पाकिस्तान, बंगलादेशमा, यूएई लगायत देशमा अहिले फ्रेन्चाइज क्रिकेट भइरहेका छन।्
सन् २०१४ मा टी–२० विश्वकप खेलेपछि नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढ्यो। तर विश्वमा फ्रेन्चाइज क्रिकेट लोकप्रिय हुँदै गर्दा नेपालमा भने त्यसको कुनै सुरसार थिएन। नेपाल क्रिकेट संघ(क्यान)को वार्षिक क्यालेन्डरमै नेपाली क्रिकेट सीमित थियो। त्यसबाहेक निजी क्षेत्रले फाट्टफुटट प्रतियोगिताहरु गरिरहेका थिए।
यहीबेला सन् २०१६ मा धनगढीबाट सुवास शाहीले नेपालमा फ्रेन्चाइज क्रिकेटको अभ्यास सुरु गरे। नेपालका लागि नौलो त्यो अवधारणा अहिले लोकप्रिय छ। अन्य देशमा एउटा मात्रै फ्रेन्चाइज क्रिकेट हुँदा नेपालमा भने तीन वटा राष्ट्रियस्तरका फ्रेन्चाइज क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएका छन्।
‘हामीले त्यसबेला स्थानीयस्तरमै भए पनि फ्रेन्जाइज अवधारणा, अक्सन गर्दै व्यवसायिक अभ्यास सुरु गर्यौँ,’ शाही सम्झन्छन्, ‘त्यो नौलो प्रयोग नेपाली क्रिकेटलाई व्यवसायिक मार्गमा डोर्याउने प्रवेश विन्दु थियो। अहिले त्यही कन्सेप्ट देशभरी लोकप्रिय छ।’
शाही स्थानीय धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष पनि हुन्। एकेडेमीले स्थानीयस्तरमा धनगढी क्रिकेट लिग(डीसीएल) आयोजना गर्दै आएको थियो। डीसीएलको तेस्रो संस्करणमा नेपालमा पहिलोपल्ट फ्रेन्चाइजी अवधारणा लागू गरिएको थियो।
कैलालीका पाँच स्थानको नामबाट टोली बनाइएको थियो। स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडीहरुबीच धनगढीको ओम प्यालेसमा बोली लागेको थियो। सुरुवात भएकाले त्यसबेला न्यूनतम ५ हजारदेखि सर्वाधिक ४० हजारसम्म बोली लगाउन सकिने प्रावधान थियो।
तत्कालीन यू–१९ राष्ट्रिय टोलीका कप्तान राजु रिजालले त्यस अक्सनमा सर्वाधिक ४० हजार भाउ पाएका थिए। नेपालमै पहिलोपल्ट भएको त्यो अक्सन सम्झिँदा राजु अहिलेपनि रोमाञ्चित हुन्छन्।
‘पहिलोपल्ट खेलाडीहरुमाथि त्यसरी भाउ लाग्दा कुन टोलीले किन्ला, कतिमा किन्ला भनेर उत्सुकता हुन्थ्यो,’ राजु सम्झन्छन्, ‘खेलाडीहरुले खेलेर पैसा पाउन थालेको पनि त्यसैबेलादेखि हो।’
स्थानीयस्तरमा फ्रेन्चाइजीको अनुभव सम्हालेको अर्कोवर्ष नै शाहीले देशकै पहिलो राष्ट्रिय फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) घोषणा गरे। त्यसअघि शाहीले आफ्नै कलेज सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)को मुख्य आयोजनामा एसपीए कप गर्दै आएका थिए। जसमा देशभरका क्लब सहभागी हुन्थे।
एसपीए कप र डीसीएललाई मर्जर गरेर डीपीएल बनाइएको थियो। यहीबेला क्यान आईसीसीको निलम्बनमा पर्यो। क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेटको गतिविधि ठप्प भएको बेला देशकै सर्वाधिक पुरस्कार राशी रहेको अक्सनमा आधारित डीपीएलको घोषणाले क्रिकेटलाई नयाँ उर्जा दियो।
डीपीएलमा विराटनगर, काठमाडौँ, बुटवल, धनगढी, महेन्द्रनगर र अत्तरियाका फ्रेन्चाइजी टोली थिए। टोलीका मालिकहरुले काठमाडौँको याक एन्ड यती होटलमा भएको अक्सनमा खेलाडीहरुमाथि बोली लगाएका थिए।
धनगढीबाट सुरुवात भएको अवधारणामा टेकेर अहिले तीन संस्करणको डीपीएलसहित देशमा तीन वटा फ्रेन्चाइजी लिग हुन्छन्। क्यानले समेत नेपाल प्रिमियर लिग घोषणा गरिसकेको छ।
‘खेलकुदलाई उद्योगका रुपमा विकास गर्नु आवश्यक छ,’ शाही भन्छन्, ‘त्यसका लागि व्यावसायिक अभ्यास हुन जरुरी छ। त्यही अवधारणासहित हामी अघि बढेका छौं।’
फेरि नौलो प्रयोग
एक दशक क्रिकेट व्यवस्थापनमा विभिन्न प्रयोग गर्दै आएका शाहीले यसपटक फुटबलमा त्यस्तो अभ्यास गरेका छन्।
आगामी वैशाख ११ गतेदेखि नेपालमा पहिलो फ्रेन्चाइजी फुटबल प्रतियोगिता नेपाल सुपर लिग हुँदैछ। चौधरी घरानाको मुख्य लगानीमा आयोजना हुन लागेको प्रतियोगितामा सात सहरका नाममा टोली घोषणा भइसकेको छ।
काठमाडौं रेजर्स एफसी टोलीमा यामाहा नेपाल, ललितपुर सिटी एफसीमा भाटभटेनी, चितवन एफसीमा आईएमई, पोखरा थन्र्डर्समा लक्ष्मी ग्रुपले लगानी गर्दा धनगढी एफसीमा शाही अध्यक्ष रहेको गो ड्रिमर्स प्रालिले लगानी गरेको छ।
‘नयाँनयाँ प्रयोग गर्दै आफूहरुले गरेको प्रयास नयाँ लेभलमा लैजाने र आफ्नो अनुभव अरुलाई सेयर गर्ने उदेश्य अनुरुप हामीले फुटबल टोली लिएका हौँ,’ शाही भन्छन्, ‘यसअघि अलगअलग सोचका टिम सञ्चालकहरुलाई व्यवस्थापन गर्ने, एउटै छातामा संगठित बनाएर लैजाने अनुभव लिइएको थियो। त्यो अनुभव यहाँ टिम सञ्चालनमा प्रयोग गर्नेछौं।’
एउटा फ्रेन्चाइजी टोलीले अक्सन, मार्की खेलाडी, विदेशी खेलाडी, व्यवस्थापन, होटल, यातायात, प्रचार आदिमा कराडौं रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। अन्य टोलीसँग व्यावसायिक घरानाहरु जोडिए पनि शाहीको टोलीसँग भने ठूलो ब्रान्ड जोडिएका छैनन्।
‘स्पोन्सरहरुसँग हाम्रो लामो अनुभव पनि छ। खेलक्षेत्रमा लगानी गर्दाका फाइदाहरु हामीले उहाँहरुलाई सजिलै बुझाउन सक्छौँ,’ शाही भन्छन्, ‘हामीले तत्काल प्रतिफल पनि खोज्नुहुन्न। दुईचार वर्ष लगानी गरेपछि बल्ल प्रतिफल आउन थाल्नेछ।’
शाहीले आफूहरुको उदेश्य खेलको माध्यमबाट आफ्नो क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमै पहिचान दिलाउनु रहेको बताए। उनले चार लाखको लगानीमा पहिलो सिजनको क्रिकेट प्रतियोगिता गराएको स्मरण गर्दै फलस्वरुप धनगढीलाई क्रिकेटको सहरका रुपमा चिनाउन सफल भएको बताए।
‘लगानी गरेपछि नगदका रुपमा आउने नाफालाई मात्रै प्रतिफलका रुपमा लिनुहुन्न,’ शाहीले भने, ‘चाहेको भए हामी एउटा इभेन्टबाट पैसा जोगाउन सक्थ्यौँ। हाम्रो प्रत्येक सिजनमा स्पोन्सरको लगानी पनि बढ्दै गएको छ। तर हामीले पैसा कमाउनेभन्दा पनि इभेन्ट ग्रो गर्दै गयौँ। त्यसको प्रतिफलस्वरुप अहिले धनगढीलाई खेलकुदका माध्यमबाट चिनाउन सफल भएका छौँ।’
शाहीसँग अहिलेसम्मको परिचय क्रिकेट नै हो। कोरोनाका कारण अघिल्लो वर्ष हुनुपर्ने डीपीएलको चौथो संस्करण हुन सकेको छैन। यता क्यानले देशमा हुने तीन वटा फ्रेन्चाइजी लिगबारे कुनै निर्णय नलिँदा आयोजकहरु अलमलमा परेका छन्। शाही डीपीएललाई अझै अर्को तहमा लैजाने योजनाका साथ अघि बढेको तर त्यसअघि क्यानले फ्रेन्चाइजी लिगबारे स्पष्ट धारणा दिनुपर्ने बताउँछन्।
‘हामीले त्यत्रो लगानी गरेर डीपीएललाई यहाँ पुर्याएपछि चटक्क छाड्ने भन्ने हुँदैन। यसलाई नयाँ लेभलमा लैजाने हो,’ शाहीले भने, ‘सुरुमा क्यानले फ्रेन्चाइजी क्रिकेटलाई कसरी लैजाने, तीनवटा प्रतियोगिताको व्यवस्थापन कसरी गर्ने हो, स्पष्ट पार्नुपर्यो। सबैले क्रिकेटको विकास खोजेका हुन्। फर्म्याट परिवर्तन वा समायोजन वा अन्य कुनै बाटो अपनाउन सकिन्छ।’
प्रतिक्रिया