१८ बर्षअघि आजकै दिन अर्थात् १९ जेठ ०५८ मा दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रका प्रमुख एडिसी (शाही पाश्वर्ती) का रुपमा ड्युटीमा थिए, महासेनानी सुन्दरप्रताप राना।
तर, उनले ड्युटी लिएको एकाध घण्टामै नारायणहिटी राजदरबार परिसरभित्रको त्रिभुवन सदनमा यस्तो विभत्स घटना हुनपुग्यो, जहाँ राजा वीरेन्द्रको परिवारको नै वंशनास भयो। बडामहारानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजन गरी राजपरिवारका सबै मारिए।
राजपरिवारका सदस्य र निम्त्याइएका नातेदारहरुको मात्र पहुँच हुने त्यो शुक्रबारे रात्रिभोजमा तत्कालिन युवराज दीपेन्द्रले गोली चलाउँदा त्यो विभत्स हत्याकाण्ड हुन पुगेको मानिन्छ। राजा वीरेन्द्रलाई गोली लागेको एक मिनेट बित्दानबित्दै महासेनानी राना घटनास्थल पुगेका थिए, १० मिनेट पुग्दा नपुग्दै उनले राजालाई छाउनीस्थित सैनिक अस्पताल पुर्याएका थिए।
राजा वीरेन्द्र र राजपरिवारको सेवामा १७ बर्ष बिताएका महासेनानी रानालाई केही समयपछि भने दरवार हत्याकाण्डपछिका राजा ज्ञानेन्द्रले अवकास दिए। राजपरिवारसँगको सम्बन्ध र दरवार हत्याकाण्डलाई समेटेर किताब पब्लिसर्स प्रालिले महासेनानी रानाको ‘दरबारको दुखान्त (राजपरिवार र संहारः मैले जसरी देखेँ) पुस्तक हालैमात्र बजारमा ल्याएको छ।
यो पुस्तकबाहेक रानाले दरवार हत्याकाण्डबारे निकै कमैमात्र मुख खोलेका छन्। भिडियो अन्तर्वार्ता त कहीँकतै प्रशारण भएको छैन। प्रस्तुत छः १८ बर्षअघि आजैको दिन भएको दरबार हत्याकाण्डबारे महासेनानी (अप्रा) रानाको वृत्तान्त भिडियोमाः
प्रतिक्रिया