अधिकांशले आफ्ना लागि सपना देख्छन्। केहिको भने फरक हुन्छ।
त्यस्तै फरक सपना देख्नेमा पर्छिन १३औं दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा स्वर्ण पदक विजेता संगीता धामी।
उनको सपना हो देशका लागि पदक जितेर आफ्नो परिवारलाई पहिचान दिने।
संगीताको अर्को सपना हो– त्यहि उपलब्धिका आधारमा आमालाई एउटा सानो चिटिक्कको घर बनाइदिने।
‘अहिले हामी ठुलो बाबाको घरमा बस्छौं। अब ममीको लागि एउटा घर बनाउने सपना छ,’ उमेरले २० वर्ष लाग्दै गरेकी उनले भनिन्, ‘ममी बस्ने एउटा घर भए ढुक्क हुने थिएँ। ममीको सपना पुरा गर्न सके भने मेरो सपना पनि पुरा हुनेछ।’
गतवर्ष मंसिरमा स्वदेशमै भएको १३औं सागमा स्वर्ण जितेपछि उनी हजारौं खेलप्रेमीको नजरमा परिन्।
संगीता तिनै खेलाडी हुन् जसले सागको ३६ वर्षे इतिहासमा कुस्तीमा नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाइन्। उनले स्वर्ण हासिल गरेपछि छायाँमा परेको कुस्ती खेलले पनि चर्चा पायो।
कुस्ती खेल्न थालेको छोटो समयमा नै उनले अन्तर्राष्ट्रिय पदक देशकै लागि जितेकी थिइन्। कञ्चरपुरकी संगीताले २०७४ सालबाट कुस्ती खेल्न थालेकी हुन्। उनको मेहनत, भाग्य र संयोग नै भन्नुपर्छ उनले खेलेका सबैमा स्वर्ण पदक नै जितेकी छिन्।
पहिलो पटक राखेप च्याम्पियनसिप खेल्दा नै प्रथम भएकी संगीताले एसकेएएन कुस्ती प्रतियोगितामा स्वर्ण जितेकी थिइन।
२०७५ मा वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता र गतवर्ष वैशाखमा आयोजना भएको आठौ राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण पदक जितिन। घरेलु प्रतियोगितामा सबैमा स्वर्ण पदक जितेकी उनलाई सागमा पनि स्वर्ण जित्नसक्छु भन्ने विश्वास त थियो, तर ढुक्क भने थिइनन्।
‘साग नै मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। साथीहरु खेलेको देखेर नै मलाई डर लागेपनि गुरुहरुलाई म माथि भरोसा थियो,’ उनले भनिन्।
नेपालखबरसँग संगीताले त्यो क्षण सम्झदै भनिन्, ‘मलाई खेल्दा त्यस्तो डर भने लागेन। दिमागमा जित्नुपर्छ भन्नेबाहेक केहि थिएन। पछि स्वर्ण पदकमा मेरो नाम लिदाँ खुसी भएँ। सबैले अगांलो हाल्नुभयो। त्यो क्षण अहिलेपनि आँखा अगाडि आइरहन्छ।’
अन्तर्राष्ट्रिय स्तरको सफलतापछि सबैको वाहवाही पाउनु त स्वभाविक हो। तर, उनले खेल सुरु गर्दाको यात्रा भने निकै संघर्षपूर्ण छ।
कुस्ती नै किन?
उनको गाउँमा खेलकुद गतिबिधि कम हुन्थे। कुस्ती खेलाडी बन्छु र स्वर्ण जित्छु भनी कुनै त्यस्तो योजनाका साथ उनी खेलाडी बनेकी पनि हैनन।
‘अरु खेल खेल्न पैसा लाग्थ्यो तर कुस्ती खेल्न पैसा लाग्थेन। त्यही भएर पनि यो खेल रोजेकी हुँ’ उनले कुस्ती रोज्नुको एउटा मुख्य कारण खुलाइन्।
संगीताले बजारको स्कुल पनि कुस्ती खेल्न कै लागि छानेकी थिइन्। महेन्द्रनगरको भृकुटी स्कुलमा पुगेपछि उनको खेल जीवनले गति लिएको थियो। कञ्चनपुर महेन्द्रनगरकी उनले कुस्ती प्रशिक्षणमा सहभागी भएर घर फर्कँदा टाढा र ढिला हुने भएपछि साथीलाई पनि खेल्न राजी गराइन्।
तर साथीले खेललाई निरन्तरता दिन सकिनन्, उनको लगत्तै बिहे पनि भयो।
संगीतामा भने खेलाडी नै बन्ने उत्कट चाहना थियो। त्यसका लागि ऊर्जा पनि थियो। तर के खेल खेल्ने र त्यसका लागि कसरी अघि बढ्नुपर्छ भन्ने प्रष्ट मार्गचित्र भने ती किशोरीमा थिएन। अलमलमा रहेकी उनलाई बाटो देखाइदिने पनि कोहि थिएन।
‘खेलाडी बन्छु भन्ने थियो, तर कुस्ती खेल्छु भन्ने थिएन। त्यो बेला मलाई कसैले यो खेल भनेनन् र कुनै खेलमा खेल्न पनि बोलाएनन्,’ उनले सम्झिइन्, ‘सरहरुले तिमी राम्रो खेल्छौ चाहिँ भन्नुहुन्थ्यो।’
त्यहिबीच उनले पढ्ने स्कुलमा कुस्ती प्रशिक्षक राजेन्द्र चन्द पनि आए।
खेल्ने हुटहुटी भए पनि कुन खेल खेल्दा के हुने भन्ने संगीतालाई खासै थाहा थिएन। उनी कबड्डीमा जाने सोच्दै थिइन। त्यति नै बेला लक्ष्मी चन्दले उनलाई कुस्ती खेल्न प्रेरित गरिन्।
‘उहाँले कबड्डीमा नजाउ तिमीले कुस्तीमा नै राम्रो गर्न सक्छौ भनेकोले पनि मैले कुस्ती छोड्न चाहिन,’ उनले थपिन्।
५ महिनामा ५ गुरु
उनले आफु सफल हुन योगदान पुर्याउने प्रशिक्षकको लामो सुची पेश गरिन्, ‘मलाई ५ महिनामा ५ जना गुरुहरुले सिकाउनु भयो। सायद त्यही कारण पनि म सफल हुन सकेँ।’
उनले त्यसको श्रेय चिफ कोच गुरु बह्मदेव यादव, मुम्ताज अली, शिवधारी यादव, धर्मराज यादव अनि राजेन्द्र चन्द गुरुलाई दिन्छिन्।
‘उहाँहरु नभएको भए आज म गोल्ड मेडलिष्ट संगीता भनेर चिनिने थिइन,’ उनले भनिन्।
सुदूरपश्चिमको एउटा अति सामान्य परिवारको अप्ठेरो परिस्थितिमा जन्मिएकी संगीताको चाहना थियो– आफ्नो परिवारको पनि एउटा पहिचान होस् भन्ने।
खेलमार्फत आफ्नो परिवारलाई चिनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिइन्।
‘हाम्रो परिवारलाई कसैले चिन्ने कुरा भएन,’ उनले त्यति बेलाको दृढता सुनाइन, ‘खेलेरे परिवार र आफ्नो ठाउँलाई चिनाउछु भन्ने ठानेर यसमा लागि परिरहेँ।’
आमा नै आधार
उनी खेलमार्फत् आफ्नो, परिवार र समाजको पहिचान बनाउन यति दृढ थिइन् कि उनले त्यसकै कारण समुहको खेल पनि रोजिनन्।
‘समूह खेलमा सबैको नाम आउँदा मेरो नाम हराउँछ, त्यसैले मैले एकल खेल नै रोजेँ,’ संगीताले सुनाइन्।
उनले खेलमा ठूलो सपना बुनिरहँदा त्यसमा साथ दिने मुख्य आधार थिइन् उनकी आमा।
आमाले नै उनलाई एक्लै हुकाईएकी हुन। त्यसैले आमाको दुःखलाई उनले नजिकबाट देखेकी छिन।
बाबुकाे बेवास्ता
बाबुसँग भने उनको चित्त दुःखाई छ।
‘बहिनी पेटमा हुँदै बाबाले छोरा भएन भनेर हामीलाइ छाडेर अर्को बिहे गरेर जानुभएको हो रे। त्यसपछि आजसम्म बुवासँग भेट पनि भएको छैन,’ उनले पारिवारिक पीडा सुनाइन्।
त्यतिबेला संगीता त्यस्तै ९-१० वर्षकी थिइन्। त्यसपछि आमाले नै एक्लै हुर्काइन्, पढाइन् र खेल्न वातावरण बनाइदिइन्।
‘सायद ममीले नै हिम्मत हारेको भए आज यहाँसम्म हामी आइपुग्थेनम होला। ममीले गरेको संर्घष देखेर पनि मलाइ केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने आँट आउँछ।’
अहिले आमालाई थोरै भएपनि खुसी पार्न सकेकोमा संगीता खुसी छन्।
उनले साग जितेर घर फर्कदा आफूले फिल्ममा मात्र देखेको दृष्य आफ्नो वास्तविक जीवनमा भोगिन्।
‘मैले कल्पना पनि गरेको थिइन। टोलमा सबैजना जम्मा भएर मलाइ उचालेर रमाइरहेका थिए। मलाई सबैले माया गरेको देखेर ममी रुनुभएको थियो। त्यो क्षण सम्झदा अहिले पनि म निकै भावुक हुन्छु,’ उनले भनिन्।
'भैसीवाली'ले अन्तर्राष्ट्रिय पद जितेपछि
बहिनीको स्कुल गाउँमा थियो भने संगीताको बजारमै पथ्र्यो। घरमा एउटा मात्र साइकल थियो।
आमाले साइकल लिएर जाँदा उनी हिडेर स्कुल जानुपथ्र्याे। साइकलमा स्कूल जाँदा भने अरुको घर दुध पुर्याउँदै जाने गर्थिन।
‘त्यहि भएर मलाइ साथीहरुले दुधवाली, भैसीवाली भनेर जिस्काउथे। त्यो बेला केही भन्थिन तर घरमा आएर रुन्थेँ,’ उनले थपिन्, ‘त्यो बेलामा बाबा नभएर मलाइ यस्तो भनेका होला भन्ने लाग्थ्यो। कुनैबेला बाबालाई भेटेँ भने प्रश्न गर्न मन छ, छोरी भयो भनेर किन छाडेर जानुभयो भनेर?’
उनले सागमा स्वर्ण पदक जितेपछि उनको गाउँ नै जम्मा भएर हर्षोल्लास मनाउँदा उनका बाबुले भने उनलाई सम्पर्क पनि गरेनन्, बधाई दिनु त परको कुरा।
संगीताले आफ्नो परिवार र समाजलाई पहिचान दिइन्, तर उनकै बाबुले भने उनको सफलताप्रति कुनै चासो देखाएनन्। त्यति ठूलाे ऐतिहासिक सफलता हासिल गर्दा पनि सम्पर्क गरेर बधाई छोरी समेत भनेनन् उनले।
उनले खेल जीवनलाई अघि बढाउने विषयमा दिर्घकालिन योजना पनि बनाएकी छिन्।
‘मैले आजसम्म हारेको छैन। अझ धेरै गर्नुपर्छ भन्ने सोच छ,’ उनले भनिन, ‘खेल जीवनलाई अझै अघि बढाउन सशस्त्र प्रहरी बल (एपीएफ) मा आबद्ध हुनका लागि आवेदन दिएकी छु। त्यसमा सफल भइन भने पनि अरु ठाउँमा पनि सरकारी जागिर नै खाने लक्ष्य छ।’
कुस्ती खेल्न चाहनेलाई उनी भन्छिन्, आफूलाई भित्रैदेखि मन परेको खेलमा दृढताका साथ लागिरहे सफलता हासिल गर्न सकिन्छ।
तर, त्यसका लागि परिवारको साथ भने अनिवार्य हुने उनको ठहर छ।
राष्ट्रिय खेलकुद परिषद्ले भने अरु खेल र खेलाडीलाइ जस्तो कुस्तीलाइ प्राथमिकता नदिएको गुनासो उनको छ।
कुस्तीमा सरकारले लगानी नगरेका कारण खेलाडीहरु पलायन भइरहेको उनको बुझाई छ।
‘कुस्तीमा आबद्ध खेलाडीलाई जोगाउन सक्ने हो भने नेपालले साग वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्छ। सबै खेललाई बराबरको व्यवहार गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्।
प्रतिक्रिया