ad ad

खेल


एएफसीको प्रस्तावः विश्वकप छनोटका खेल अब ४ महिनापछि मात्र गरौं

एएफसीको प्रस्तावः विश्वकप छनोटका खेल अब ४ महिनापछि मात्र गरौं

नेपालखबर
जेठ २४, २०७७ शनिबार ४:४१,

एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट खेल ४ महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ।

नेपालले खेल्ने उक्त खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा) लाई प्रस्ताव गरेको हो। यसअघि गत चैतमा अस्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियो।

स्थगित खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ। विभिन्न देशका फुटबल संघसितको भिडियो बैठकपछि एएफसीले उक्त मितिमा खेल गराउन तयारी थालेको हो।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ। एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिएमा नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ।

समूह बीमा रहेको नेपालले हालसम्म ५ खेलमा तीन अंक जोडेको छ। नेपालले चाइनिज ताइपेईलाई पराजित गरी उक्त समूहमा चौथो स्थान बनाएको थियो। हालसम्मको खेल प्रदर्शनअनुसार १२ अंकका साथ अस्ट्रेलिया शीर्ष स्थानमा, १० अंकका साथ कुवेत दोस्रो, समान १० अंक नै बनाएको जोर्डन तेस्रो तथा अंकविहीन अवस्थामा रहेको चाइनिज ताइपेई समूह बीको पुछारमा छ।

समूहको शीर्ष टोली विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एसिया कपमा सोझै पुग्नेछ। दोस्रो हुने टोली विश्वकपको तेस्रो चरणमा तथा एसिया कप छनोटको तेस्रो चरणमा पुग्नेछ। तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोली विश्वकप छनोटबाट बाहिरिने छन्। विश्वकप २०२२ कतारमा तथा एएफसी एसियन कप २०२३ चीनमा हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .