गत वर्ष रुविना क्षेत्रीको सपना थियो, १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्ने। नेपालका लागि त्यसको उच्च महत्व थियो। किन पनि भने सागमा त्यो नै महिला क्रिकेटका लागि नेपालको पहिलो सहभागिता थियो।
एशियाली स्तरमा नेपाललाई परिचित गराइसकेका महिला क्रिकेटरले रुविनाकै कप्तानीमा पहिलो सहभागितामै सागमा पदक जिते। यो जितमा एउटै फर्मुलाले काम गरेको उनको बुझाइ छ, ‘मेहनत।’
बितेका एक वर्षमा घरेलु खेलकुदका धेरै विषय फेरिए। क्रिकेटमा महिलाको उपस्थिति नभएको अवस्थामा फ्रेन्चाइज क्रिकेट सुरु भयो। यो नेपाली महिला क्रिकेटका लागि कोशेढुंगा थियो। यी परिवर्तनहरुसँगै रुविनाको लक्ष्य पनि फेरिएको छ। यतिबेला उनी एउटा फरक सपना बुन्दैछिन्, ‘नेपाली महिला क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउने।’
कसरी त?
महिला क्रिकेटमा पछिल्लो समय राम्रो काम भइरहेको उनको बुझाइ छ। फ्रेन्चाइजले उत्साह थपिएको उनी बताउँछिन्। ‘पहिला धेरै खेलाडी विदेशिए। अब नयाँ पुस्तालाई यो क्षेत्रमा आउ भन्न सक्ने अवस्थामा छौं’ उनी सुनाउँछिन्, ‘हामी केही यस्ता खेलाडीहरु छौं जो केही गर्नपर्छ भनेर लागेका थियौं। त्यो लगावले अहिले नयाँ पुस्तालाई आउ भन्न सक्ने वातावरण बनेको छ।’
खेलाडीको क्षमता बढाउने योजना
राष्ट्रिय टोली कप्तान उनी भन्छिन्, ‘महिला क्रिकेटमा पहिलाभन्दा राम्रो काम भइरहेको छ। फ्रेन्चाइज क्रिकेट सुरुवातले उत्साह थपिएको छ। सागमा कास्य जित्दा हामीले धेरै मेहनत गरेका थियौं। नतिजा सोचेजस्तो नआए पनि सबैलाई जान्न पायौं। आगामी दिनमा अझ सुधार गर्नुपर्छ।’
रुविना एक दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खोल्दै आएकी छिन्। क्रिकेटलाई नै जीवन मान्ने उनी आफ्नो लक्षप्रति दृढ देखिन्छिन्। ‘मेरो लागि जिन्दगी नै क्रिकेट हो, नेपाली टोलीलाई विश्वकप छनोटसम्म पुर्याएपछि मात्र मेरो श्वास रोकिन्छ होला’, उनी भन्छिन्, ‘महिला क्रिकेटमा लगानी गर्ने र सकारात्मक सोच्ने हो भने त्यो सम्भव छ।’
यतिबेला उनी गृह जिल्ला झापा काँकरभिट्टामा छिन्। क्रिकेटलाई आफ्नो जीवन मान्ने उनी सकुन्जेल खेल्ने र त्यसपछि खेलाडी उत्पादनमा लाग्ने सोचमा छिन्। क्यानको ध्यान नपुगेको ठाउँमा सहयोग गर्ने र खेलाडीको क्षमता बढाउने उनको योजना छ। ‘क्रिकेटमै केही गर्छु। आफ्नै ठाउँमा एउटा एकेडेमी खोलेर खेलाडी उत्पादनमा लाग्छु होला’, उनी भन्छिन्।
भविष्यमा खेलाडी उत्पादमा लाग्ने योजनामा रहेकी उनी अहिले पनि लगभग त्यस्तै काम गरिरहेकै छिन्। फुर्सद हुँदा खेलाडीलाई अभ्यस्त बनाइराख्नु ठूलो चुनौती हो। उनी यसकै लागि काम गरिरहेकी छिन्। त्यसका लागि उनले स्थानीय क्लबबाट खेलाडीलाई भारतका विभिन्न ठाउँ लैजाने गरेकी छिन्। भारतमा राम्रो क्रिकेट संरचना छ। उनीहरुसँग खेल्दा नेपाली खेलाडीले खारिने अवसर पाउँछन्।
‘अफ पिरियडमा जति खेलाडीलाई इङ्गेज गर्न सकिन्छ त्यो राम्रो हुन्छ’, उनी सुनाउँछिन्, ‘हाम्रो देशमा नियमित क्रिकेटको वातावरण छैन त्यसैले हामी मिलन क्रिकेट क्लब (एमसीसी) को माध्यमबाट खेल्न नयाँ खेलाडीलाई भारत लगिरहन्छौं।’
नयाँ खेलाडी उत्पादनका लागि वमन्स क्रिकेट लिग (डब्लुसिएल) मात्र पर्याप्त नभएको उनको बुझाइ छ। ‘महिला क्रिकेट लिग राम्रो छ तर नयाँ खेलाडी उत्पादनका लागि त्यो मात्र पर्याप्त नहुन सक्छ’, उनी भन्छिन्। डब्लुसिएलले मास र मिडियाको सामु खेल्न सहयोग पुर्याएको उनको अनुभव छ। भन्छिन्, ‘यो क्रिकेटपछि महिला खेलाडीलाइ हेर्ने नजर बदलिएको छ। यसले खेलाडी चिनाउन पनि मद्दत पुगेको छ।’
यो महिला खेलाडीले ‘पिकअप’ लिने समय भएको उनको बुझाइ छ। तर खेलाडी छनोटका लागि बहृत् संरचना नेपालमा छैन। ‘सबै जिल्लामा ट्यालेन्ट हन्ट गरेर अन्तर स्कुल प्रतियोगिता गर्नुपर्छ वा प्रदेशस्तरमा प्रतियोगिता गर्न जरुरी छ’, उनी भन्छिन्, ‘कति ठाउँमा खेलाडी छन् कति खेलाडी अझै खुलेर आउन सकेका छैनन् त्यता क्यानको ध्यान जान जरुरी छ।’
फेरि त्यो कुरा सम्झिन चाहन्न उनी
११ वर्ष अघि रुविनाले महिला क्रिकेटमा एउटा कीर्तिमान बनाएकी थिइन्। सिंगापुरविरुद्धको खेलमा एक ओभरमा ५ विकेट लिँदै बनाएको त्यो कीर्तिमान अहिले पनि कायम छ। ‘त्यतिबेला कप्तान रितु कनौजियाले मलाई बल थमाइदिनु भयो। सुरुमा के गर्ने गर्ने भन्ने भयो। सबै बल आँखा चिम्लेर फालेको थिएँ, एकै ओभरमा ५ विकेट लिएँ। खेल हामीले जित्यौं’, उनी सम्झिन्छिन्।
उनको त्यो सिंगापुर यात्रा सहजै भएको थिएन। पासपोर्ट बनाउनै उनले ठूलो सघंर्ष गर्नुपर्यो। पासपोर्ट नबनेको कथा नागरिकतादेखि नै सुरु हुन्छ। त्यो कुरा उनी अहिले पनि सम्झन चाहन्नन्। ‘त्यति बेला बाबा हुनुहुन्थेन। मम्मीको नामबाट नागरिकता नबन्दा क्रिकेट छोडुँजस्तो लागेको थियो। मम्मी पनि धेरै रुनुभयो, छोरीको सपना पूरा नहुने भयो भनेर’, उनी भन्छिन्।
राष्ट्रका लागि खेल्न जाने खेलाडीलाई रोक्नु हुन्न भनेर क्रिकेट संघले पहल गरेपछि बल्ल उनको नागरिकता र पासपोर्ट बन्यो। फर्किएपछि उनी फेरि झापा जिल्ला प्रशासन कार्यालय पुगिन्, सिडिओलाई धन्यवाद भन्न।
पहिला पासपोर्ट दिन हिच्किचाउने सिडिओले फर्किंदा भने अर्कै व्यवहार देखाए। ‘यस्तो छोरी जन्माउने आमा खोइ? भन्दै प्रशंसा गर्नुभयो’, उनी सुनाउँछिन्। त्यो समय सम्झिँदा अहिले पनि उनी भावुक हुन्छिन्, ‘मलाई रुविना क्षत्री क्रिकेटले नै बनाएको हो, चिनाएको हो। त्यो बेला जे भोगेँ त्यस्तो कुनै खेलाडीले भोग्नु नपरोस्। देशको लागि खेल्ने खेलाडीलाई कागजपत्रले रोक्नु हुन्न।’
प्रतिक्रिया