ad ad

खेल


महिला गोल्डकपको उपाधि कनकाईलाई

महिला गोल्डकपको उपाधि कनकाईलाई

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १५:५६,

झापाको अर्जुनधारा–९ मा सम्पन्न प्रदेश नं १ स्तरीय सुखानी शहीद स्मृति महिला गोल्डकपको उपाधि कनकाई नगर खेलकूद विकास समिति झापाले हात पारेको छ।

सुखानी शहीद स्मृति प्रतिष्ठान झापाको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा आज कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि हात पारेको हो। प्रतियोगिताको विजेता कनकाईले नगद रु एक लाख २५ हजार प्राप्त गरेको छ भने उपविजेता ताप्लेजुङले रु ७५ हजार पाएको छ।

कनकाईको जीतका लागि खेलको २८औँ मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए। ताप्लेजुङकी पवित्रा लिम्बूले खेलको ६९औँ मिनेटमा सान्त्वना गोल फर्काएकी थिइन्। प्रतियोगिताको ‘वुमन अफ दी टुर्नामेन्ट’ कनकाईकी कुसुम खतिवडाले रु १२ हजार, फाइनल खेलको ‘वुमन अफ दी म्याच’ कनकाईकी नेहा चौधरीले रु पाँच हजार र ‘बेस्ट कोच’ कनकाईका सन्त रायमाझीले रु पाँच हजार प्राप्त गरेका छन्।

त्यस्तै ‘बेस्ट फरवार्ड’ कनकाईकी लक्ष्मी श्रेष्ठ, ‘बेस्ट मिडफिल्डर’ ताप्लेजुङकी सुनकला राई, ‘बेस्ट डिफेन्स’ कनकाईकी सुस्मिता चौधरी र ‘बेस्ट गोल किपर’ कनकाईकी जशोदा लावतीलाई जनही रु सात हजार र प्रतियोगिताको ‘फेयर प्ले’ पारिजात महिला फुटबल क्लब झापालाई नगद रु १० हजारसहित ट्रफी प्रदान गरियो।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकासमन्त्री जसमाया गजमेर, प्रदेश सभासदस्य अर्जुन राई, बृख प्रधान र हिरा थापालगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले खेल क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताए। खेलकूद विकासको सूचकसमेत रहेकाले यस क्षेत्रको विकासमा सबै जुट्नपर्ने उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .