इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्दै साउदी अरेबिया पुगेका ३९ वर्षीय क्रिस्टियानो रोनाल्ड लगातार लयमा छन्।
साउदी अरबमा दोस्रो सिजन बिताउँदै गर्दा यी ३९ वर्षीय स्टार स्ट्राइकरले बढ्दो उमेरबीच पनि आफूलाई उत्तिकै आक्रमक बनाइरहेका छन्।
उनै रोनाल्डोले ह्याट्रिक गर्दा साउदी प्रो लिगअन्तर्गत शनिबार भएको खेलमा अल नासरले अल ताईविरुद्ध फराकिलो जित निकालेको छ।
अल अवाल रंगशालामा भएको खेलमा घरेलु टोलीले रोनाल्डोको ह्याट्रिकसहित ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। रोनाल्डोले खेलको ६५, ६७ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
अल नासरलाई जिताउने क्रममा रोनाल्डोको ह्याट्रिकसँगै ओक्टोभियो र अब्दुलरहमान घरिबले पनि व्यक्तिगत १-१ गोल गरे।
पराजित अल ताईको तर्फबाट भिर्गिल मिसिडजानले सान्तवना गोल फर्काउन सफल भए।
यो जितपछि साउदी प्रोल लिगको जारी सिजनमा अल नासर २५ खेलबाट ५९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।
लिगको पहिलो स्थानमा अल हिलाल छ। उसले २५ खेलबाट ७१ अंक बनाइसकेको छ। यस्तोमा अल नासरका लागि साउदीमा मुख्य उपाधि जित्न रोनाल्डोलाई यो सिजन पनि सजिलो भने छैन।
उता फराकिलो हार भोगेको अल ताई २५ खेलबाटै २२ अंकसहित १६ औँ स्थानमा रहेको छ।
Shares
प्रतिक्रिया