पल्सर स्पोर्टस् अवार्ड आगामी फागुन चौथो साता हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै १९ औँ स्पोर्टस् अवार्ड फागुन २३ गते हुने जानकारी दिएको हो।
मञ्चले यसअघि चार विधाका विजेता खेलाडी र प्रशिक्षकलाई मोटरसाइकल दिँदै आएकोमा यो वर्षदेखि वर्ष युवा खेलाडीलाई पनि मोटरसाइकल प्रदान गर्नेछ।
मञ्चले वर्ष खेलाडी महिला, पुरुष, पिपुल्स च्वाइस र प्रशिक्षक गरि ४ विधाका विजेतालाई बजाज मोटरसाइकल दिँदै आएको थियो। स्पोर्टस् अवार्डलाई यो पटक पनि हंशराज हुलासचन्द एण्ड कम्पनीले मुख्य प्रायोजन गर्नेछ।
स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिला, पुरुष, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफलाइट एचिभमेन्ट अवार्ड र एशियन स्पोर्टस् अवार्ड गरि ९ विधामा अवार्ड प्रदान गरिनेछ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपुल्स च्वाइसको मनोनयन केही दिनमा सार्वजनिक गर्ने मञ्चका महासचिव प्रज्वल ओलीले बताए।
मनोनयनका लागि मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको मञ्चले जनाएको छ।
लाइफटाइम, स्पेशल, पारा एथलेट र एशियन स्पोर्टस् जर्नालिष्ट अवार्ड विजेताको घोषणा सोही दिन नै गरिनेछ।
मञ्चले गतवर्षको अवार्ड दशकको रुपमा मनाएको थियो। मञ्चले दशक अवार्डबाट पुरुषतर्फ क्रिकेटका पारस खड्का, महिलातर्फ फुटबलकी सावित्रा भण्डारी, प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटालाई अवार्ड प्रदान गरेको थियो।
पल्सर स्पोर्टस् अवार्ड काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ।
Shares
प्रतिक्रिया