प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यहीँ हप्ताबाट सुरू गर्ने भएको हो।
यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले जानकारी दिए।
निर्देशक डा. खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने जस्ता लिएका लक्ष्य पूरा गरेको बताए।
यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)का रुपमा स्तरोन्नतिका लागि छलफल समेत गरिसकेको छ।
जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन समेत गरेको छ।
हाल २९७ शय्याको अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्यांक छ।
सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडामा वि.सं. २०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भई २०२४ सालमा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै २०२९ सालमा १५ शय्या, २०४९ सालमा २५ शय्याको जिल्ला अस्पतालका रुपमा स्तरोन्नति भएको थियो।
त्यस्तै, वि.सं. २०६२ फागुण ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भएको थियो।
Shares
प्रतिक्रिया