फ्रान्स तथा रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जिमाले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन्।
सोमबार उनले आफ्नो जन्म दिनकै दिन सन्न्यासको घोषणा गरेका हुन्।
हालै सम्पन्न २२ औं विश्वकपमा राष्ट्रिय टोलीमा परे पनि चोटका कारण उनले विश्वकप गुमाएका थिए।
विश्वकप खेल्न कतार पुगेका बेन्जिमालाई प्रशिक्षक डेडियर डेसच्याम्पसले फिर्ता पठाएपछि बेन्जिमा रुष्ट बनेका थिए।
फ्रान्सको टोलीबाट उनले २००४ मा यु–१७ युईएफए च्याम्पियनसिप जिते। २००७ मा फ्रान्सको सिनियर टोलीमा डेब्यु गरेका थिए, जतिबेला बेन्जिमा १९ वर्षको थिए।
बेन्जिमा फ्रान्सका ५ औं सर्वाधिक गोलकर्ता पनि हुन्। तर राष्ट्रिय टोलीमा भने उनी पटक पटक टोलीबाहिर परेका छन्।
विवादकै कारण २०१० को विश्वकपमा टोलीबाहिर परेका बेन्जिमा २०१५ मा ब्ल्याकमेलिङको मुद्दाका कारण ५ वर्ष फ्रान्सको टोलीबाहिर रहनु पर्यो। तर उनी पछिल्लो पटक टोलीमा फर्किएर राष्ट्रिय टोलीका प्रमुख फरवार्ड थिए।
उनी फ्रान्स फुटबलको ४ पटक वर्ष खेलाडी घोषित भइसकेका छन्। २०२१/२०२२ मा युईएफए उत्कृष्ट वर्ष खेलाडी घोषित भएका उनी बालोन डि ओर जित्ने ५ औं फ्रान्सेली खेलाडी पनि बने।
रियल मड्रिडका कप्तान उत्कृष्ट स्ट्राइकरमध्येमा पर्छन्। बेन्जिमा रियल मड्रिडका शीर्ष दोस्रो गोलकर्ता पनि हुन्। उनले रियलबाट ४ ला लिगा, २ कोपा डेल रे, ५ च्याम्पियन्स लिगसहित २३ उपाधि जितेका छन्।
बेन्जिमा दुई पटक ला लिगाको उत्कृष्ट वर्ष खेलाडी बनिसकेका छन्। गएको वर्ष लिगका सर्वाधिक गोलकर्ता पनि हुन्। गत सिजन च्याम्पियन्स लिग जित्दा पनि उनी शीर्ष गोलकर्ता हुन्। तर ३५ वर्ष पुगेकै दिन उनले राष्ट्रिय टोली छाडेका हुन्।
फ्रान्सेली टोलीमा तनाव : कतार जान राष्ट्रपतिले गरेको आग्रह बेन्जिमाले मानेनन्
Shares
प्रतिक्रिया