ad ad

खेल


१३ औं सागः भारोत्तोलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र ११ कास्य

१३ औं सागः भारोत्तोलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र ११ कास्य

वाशुदेव मिश्र
मंसिर २२, २०७६ आइतबार १५:४९,

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा पस्किदै सुखद अन्त्य गरेको छ। नेपालले कुल २० इभेन्टअन्तर्गत सहभागी १६ इभेन्ट्मा हरेकमा पदकसहित २ स्वर्णसहित कुल १६ पदक जित्न सफल भयो।

पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य सहित कुल १६ पदक जित्न सफल भएको हो। शनिबारसम्म १४ पदक जितेकोमा अन्तिम दिन आइतबारको खेलबाट नेपालले १ रजत र १ कास्य थप गरेको हो।

प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता थियो। भुटानको पहिलो सहभागिता रहेकोमा माल्दिभ्स खेल्न आएन। प्रतियोगितामा भारतले सर्वाधिक ९ स्वर्ण जित्दा पाकिस्तानले ५ तथा नेपाल, बंगलादेश र श्रीलंकाले समान २–२ स्वर्ण जिते। भुटानले १ मात्र कास्यमा चित्त बुझायो।

नेपालको तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापा (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका हुन्। महिलातर्फ नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो।

अघिल्लो १२ औं संस्करणसम्म नेपालले भारोत्तोलनमा १ मात्र स्वर्ण सहित २३ रजत र ८६ कास्य जितेको थियो। पहिलो स्वर्ण लिफ्टर कमलबहादुर अधिकारीको नाममा छ।

महिला ह्याण्डबलमा नेपाललाई रजत, भारतलाई स्वर्ण १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारतसँग पराजित हुँदै कास्य पदकमा सिमित भएको छ भने भारत उपाधी रक्षा गर्न सफल भएको छ। नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो। यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो। भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो। १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो। स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन्। सोनिकाले टोलीका लागि ११ गोल गरिन्। निधि शर्माले टोलिका लागि ८ गोल थपिन्। कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल जोडे।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन्। कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन्। निषा राई र उमा राईले समान ३/३ गोल थपे। रञ्जना राईले २ गोलको योगदान दिइन्। कबिता राई र र शान्तिकला राईले समान १/१ गोल थपे।

बंगलादेशलाई कास्य १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा आइतबार विहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो। भरतको गुहावटीमा भएको १२ औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो।

१२ औं सागमा पाकिस्तान कास्य पदक बिजेता हो। पहिलो हाफमा १७–५ ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो। पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो। ¬

पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण १

३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले सागमा दोस्रो स्वर्ण जितेको हो। भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ।

बंगलादेशमा भएको ११ औं सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो। भारतकै गुहावटीमा भएको १२ औं सागमा भने भारतले स्वर्ण जितेको थियो। पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो।

आर्चरीमा नेपाललाई एक रजत सहित ३ पदक प्राप्त १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ। नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो।

आइतबार भएको फाइनलमा खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दा नेपाल रजत पदकमा सीमित भएको हो्। नेपालले फाइनल खेलमा १ सय ४० अंक ल्याउदा बंगलादेशले भने १ सय ४८ अंक ल्याउन सफल भएको हो। उक्त इभेण्टमा श्रीलंकाले कास्य पदक हात पार्न सफल न भएको छ।

१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा आइतबारसम्म ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटि ढंगले बर्चश्व जमाउन सफल भएको छ।

त्यस्तै कम्माउण्ड पुरुष तर्फ नेपालले कास्य पदक हात पार्न सफल भएको छ। नेपालले कास्य पदकको लागि आइतबार भएको खेलमा श्रीलंकासँगलाई १ अंकको अन्तरले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो। त्यसैगरि कास्य पदकको लागि नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा भुटानसंग समान अंक भए पनि नेरेस्ट द प्वाइटका आधारमा नेपाल पराजित भएको छ।

नेपाल र भुटानको समान २८ अंक रहेको थियो। रिकर्भ महिला तर्फको खेलमा पनि नेपालले कास्य पदकको लागि भुटानसंग भएको खेलमा २ अंकले पराजित भयो। उक्त विधामा पनि बंगलादेशले भुटानले पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको हो। नेपालसहित ४ देश सहभागि भएको खेलमा भोलि (सोमबार) एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुने भएको नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए।

बिच भलिबलमा महिलालाई कांस्य

१३ औं सागअन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ। पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो।

नेपालको दुवै टिम समूह उपविजेता हु“दै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए। पुरुषतर्फ पाकिस्तानले कांस्य जित्यो। सागमा पहिलोपल्ट यो खेल समावेश भएको हो।

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ्। आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जीत निकाल्दै बंगलादेशले स्वर्ण पदक आफ्नो नाममा लेखाएको हो। श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्यमा चित्त बुझायो।

फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो। जीतका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो। ४ इनिङमा ११.१ ओभर बलिङगर्दै ५ मेडन सहित ११ विकेट लिएकी नेपालकी बलर अंजली चन्द प्रतियोगिताकै उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .