ad ad

खेल


गुरुको स्वर्ण इतिहास दोहोर्‍याउने चेला

गुरुको स्वर्ण इतिहास दोहोर्‍याउने चेला

यज्ञराज जोशी
मंसिर १७, २०७६ मंगलबार १:३८,

मन्डेकाजी श्रेष्ठले सोमबार १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालका लागि सबैभन्दा पहिलो स्वर्ण जितेँ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय कराँते हलमा रेफ्रिले उनी विजयी भएको संकेत दिनासाथ उनी निहुँरिए र रिङलाई ढोगे। उठे अनि उनको नाम लिदैँ चिच्चाइरहेका दर्शकहरुतर्फ फर्कदै दुई हात भिजाउँदै विजयी भावमा सेलिब्रेट गरे। फोटोग्राफरतर्फ फर्किएर पोज दिए। अनि झाम्म तल झरे, र ग्वालर्मै गुरु गंगाराम महर्जनलाई अंगालो हाले। गदगद देखिएका गंगारामले पनि उनको हात समात्दै छाती फुलाएर उनलाई ड्रेसिङ रुमतर्फ उनलाई डोर्‍याए।

आफ्नो चेलाले स्वर्ण ल्याउँदा गुरु गदगद हुनु स्वभाविक हो। तर, गंगारामका लागि सोमबार मन्डेले ल्याएको स्वर्ण, पदकमै मात्रै सीमित थिएन। आफूले २० वर्षअघि कराँतेको कातामा देशका लागि पहिलो स्वर्ण ल्याएको कीर्तिमान आफ्नै आँखा अघि चेला मन्डेले तोडेको उनले देखेका थिए।

आफ्नो नामबाट कीर्तिमान खोसिएपनि गंगारामलाई गर्वित थिए। त्यही कुरा उनका कुरामा झल्किए। उनले भने, 'धेरै खुशी लागेको छ। मैले कायम गरेको इतिहास तोड्न २० वर्ष लाग्यो। मैले सिकाएको खेलाडीले नै मेरो रेकर्ड तोडेको छ। मैले मन्डेलाई जहिलेपनि मेहनत गर्न प्रेरित गरिरहे। ताकी उसले यही कीर्तिमान कायम गरोस। उसले आज गरेरपनि देखायो। म निकै खुशी छु।'

gangaram4मन्डेका प्रशिक्षक गंगाराम

मण्डेले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै कातामा स्वर्ण पक्का गरेका थिए। श्रेष्ठले २५.७२ अङ्क जोड्दा पाकिस्तानका निएमातुल्हाले २४.९२ अङ्कमै रोकिए। जसले २० वर्षअघि उनका गुरु गंगारामले कायम गरेको इतिहास दोहोर्याइदियो।

गंगारामका बारेमा विस्तृतमा: भारतलाई हराउँदै स्वर्ण जितेको त्यो गर्विलो क्षण

आठौं सागपछि मन्डेका गुरु गंगारामले भारतीय खेलाडीलाई पराजित गर्दै कातामै नेपाललाई स्वर्ण दिलाएका थिए। गंगारामले भारतीय खेलाडीलाई पराजित गर्दै त्यसबेला स्वर्ण जितेको अझै सम्झन्छन।

‘त्यसबेला खेलअघि मलाई १८ दिनसम्म निद्रै परेको थिएन। अबेर रातिसम्म पनि कसरी खेल्ने गेम? गेम जित्छु कि जित्दैन्? भन्ने कुरामात्रै दिमागमा आउथ्यो। जतिजति गेम नजिक आयो, झन त्यति निन्द्रै लाग्दैनथ्यो,’ उनले सम्झे, ‘म जित्छु भन्ने आत्मविश्वास सुरुदेखि नै थियो र जितेपनि।’

त्यही 'जित्छु' भन्ने आत्मविश्वास गंगारामले मन्डेमा पनि भरिदिएका थिए। मन्डे स्वयमपनि यसपटक जित्नेमा शुरुमै ढुक्क देखिन्थे। त्यसैले शुरुदेखि नै रिङमा आत्मविश्वासी बनेर उत्रिए। र, जजहरुलाई प्रभावित पार्दै अंक बटुले।

monday 1

'दुई दशकअघि गंगा गुरुले राखेको स्वर्णलाई दोहोर्याउन पाउँदा न निकै गौरवाम्वित भएको छु,' मन्डेले स्वर्ण जितेपछि भने, 'यसपटक शुरुदेखि नै स्वर्ण ल्याउने लक्ष्यका साथ तयारी गरेका थियौं। गुरुहरुले पनि प्रदर्शन सुध्रिदै गएको बताउँदै आएका थिए। बैदेशिक प्रशिक्षकपछि बंगलादेशमा भएको दक्षिण एसियन कराँते च्याम्पियन्सिपमा पनि एक स्वर्ण र रजत जितेकाले आत्मविश्वास बढेको थियो। त्यसैले पनि काम गर्यो।'

आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारी समेत रहेका मन्डे करिअरको उत्तरार्धमा छन। करिअरको उत्तरार्धसम्म पुग्दा उनले हासिल गरेको यो सबैभन्दा ठूलो उपलब्धि हो। जुन लामो धर्यतापछि उनले प्राप्त गरेका हुन्।

२०१० मा भएको ११औं साग खेल्ने नेपाली टोलीमा नै मन्डे छनोट भएका थिए। तर, उद्घाटनको तीन दिन अघिमात्रै आएको ज्वरोका कारण उनी प्रतियोगिता खेल्न बञ्चित रहे। यस्तै तीनवर्ष अघि भारतमा भएको १२औं सागमा कराँतेनै समावेश नगरिएपछि उनको साग खेल्ने सपना  पुनः अधुरै रह्यो।

तर, लगातार ९ वर्ष मेहनत र धैर्यपछि अन्तत: मन्डेले सोमबार त्यसको प्रतिफल पनि दिए। एकल काता र टिम काता गरि दुवैमा स्वर्ण जिते।

'मैले कहिलै हरेस खाइन। ११औं सागमा उद्घाटनको तीनदिन अघि मात्रै ज्वरोका कारण प्रतियोगिता खेल्न पाइन। १२औं सागमा कराँते नै समावेश भएन। त्यो इखले मैले जसरी पनि साग खेल्नुपर्छ र नेपाललाई स्वर्ण जित्नुपर्छ भनेर बसिरहेको थिए। र अहिले स्वर्ण हात लाग्यो।'

असफलता पाउँदा र दुःखका क्षणमा थुप्रै खेलाडीहरु डिप्रेशनको सिकार भएका छन्। मन्डे भने परिवारको सपोर्टले आफू यहाँसम्म आइपुगेको बताउँछन।

उनी भन्छन्, 'मलाई मेरो परिवार, बुबाले एकदमै सपोर्ट गर्नुभयो। उहाँले तिमी हरेश नखाउ। तिमी खेलमामात्रै ध्यान देउ बाँकी थोकको चिन्ता लिनुपर्दैन भन्नुहुन्छ। यो स्वर्णपनि मेरो परिवार, गुरु तथा मेरा शुभचिन्तकलाई समर्पित गर्न चाहान्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .