ad ad

छापा खबर


खेलकुदको बजेटबाट मन्त्रीहरुले जोडे एक-एक जाेर दौरा-सुरुवाल र छालाको जुत्ता

खेलकुदको बजेटबाट मन्त्रीहरुले जोडे एक-एक जाेर दौरा-सुरुवाल र छालाको जुत्ता

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १:२५,

मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे ।

तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र दीपेन्द्र गुरुङले लेखेका छन्।

गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन्।

सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् । तर, दुर्भाग्य नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो ।

खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरेका छन्। उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग संक्षिप्त अनौपचारिक छलफल पनि गरेका छन् ।

आयोजना र व्यवस्थापनका लागि सरकारले पौने चार अर्ब रकम विनियोजन गरेको छ । यो रकमबाट नेपालसहित दक्षिण एसियाका सात राष्ट्रका खेलाडी, प्रशिक्षक, प्राविधिक र प्रतिनिधि गरी झन्डै ६ हजार सहभागीको नेपाल बसाइ व्यवस्थापन हुनेछ ।

यही रकमबाट नेपाली खेलाडीको तयारी पनि गर्नुपर्नेछ । तर, आर्थिक रूपले पनि आफ्नो पोसाक आपैैँ व्यवस्था गर्न सक्ने विशिष्ट व्यक्तिहरूले खेलकुदका लागि आएको रकमबाट एक–एक जोर कपडा जोडेका छन्।

राखेपले भने मन्त्रीहरूलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । ‘हामीले साग आयोजनाका लागि गठित उच्चस्तरीय निर्देशन समितिमा रहनुभएका सबै पदाधिकारीलाई कोटसहितको पोसाक दिएका हौँ,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .