नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले २०७२ असोजदेखि झण्डै पाँच महिनासम्म नेपालमाथि नाकाबन्दी लगाएको थियो। भारतबाट आयात हुने अत्यावश्यक सामानहरुको अभावले त्यसबेला छटपटाइरहेका थिए नेपालीहरु।
नाकाबन्दीका कारण तेल तथा ग्याँस आपुर्ती रोकिएपछि सरकारले ठाउँठाउँमा जनतालाई दाउरा समेत बाँडेको थियो।
नेपालीले भोगेको त्यो पीडाको बदला नाकाबन्दीको उत्तरार्धमा नेपाली फुटबल टोलीले भारतलाई उसैको भूमीमा हराएर लिएको थियो। २०७२ फागुन ३ गते भारतको गुवाहटीको इन्दिरा गान्धी रंगशालामा १२औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनल थियो।
नेपाल दक्षिण एसियाली फुटबलमा आफ्नो चिरप्रतिद्वन्द्वी भारतको सामना गर्न तम्ताएर थियो। नेपाली खेलाडीका लागि त्यो खेलमात्रै थिएन, नाकाबन्दीको बदला लिने गतिलो मौका समेत थियो। स्वदेशमा नाकाबन्दीको पीडामा रहेका नेपालीलाई सान्त्वना प्रदान गर्ने एउटा अवसर थियो त्यो। मनमा त्यही सोँच लिएर खेलाडीहरु मैदानमा उत्रिए।
‘भारतसँग फाइनल हुने भयो भनेपछि हामीले जसरी पनि ट्रफीकै लागि खेल्नुपर्छ भन्ने मनस्थिति बनाएका थियौं,’ सो प्रतियोगिताका सर्वाधिक गोलकर्ता (७ गोल) नवयुग श्रेष्ठले सम्झे, ‘भारतले लगाएको नाकाबन्दीको जवाफ खेलमार्फत् दिनुपर्छ भन्ने चाहना सबैमा थियो। यो बदला लिने सही समय हो र हामीले त्यो गरेरै देखाउनुपर्छ भन्ने मनस्थितिले मैदान उत्रिएका थियौं। त्यसैअनुसार नै राम्रो गर्न पनि सफल रह्यौं।’
प्रतियोगिताको सुरुवात देखि नै नेपालको सफलतामा नवयुगको प्रदर्शन अब्बल रह्यो। समूहको पहिलो खेलमा नेपालले भुटानमाथि ५–० को जित निकाल्दा नवयुगले ह्याट्रिक गरेका थिए। यस्तै माल्दिभ्सविरुद्ध भएको सेमिफाइनललाई नवयुगले आफ्नो जीवनको अविष्मरणीय खेलमध्ये एक मान्छन। उक्त खेलमा पनि नवयुगले ह्याट्रिक नै गरेका थिए।
‘माल्दिभ्सविरुद्ध हामी शुरुमै २–० ले अघि थियौं तर पछि उनीहरुले ३–२ को अग्रता बनाए,’ नवयुगले सम्झन्छन्, ‘थपिएको समयको अन्तिम मिनेटमा मेरै गोलले नेपालले जित हात पार्यो। त्यो रोमाञ्चक खेल मेरो जीवनको अविष्मरणीय मध्ये एक हो।’
ड्रेसिङ रुममा पनि नाकाबन्दीकै कुरा
फाइनल दिन नेपालले उपाधि नै ताकेर भारतसँग खेल्दै थियो। १९९३ पछि नेपालले साग गेम्सको फुटबलको उपाधि जित्न नसकेको २३ वर्ष भैसकेको थियो। अर्कातिर भारतविरुद्ध नाकाबन्दीको बदला पनि लिनु थियो।
तर, खेलको ३१औं मिनेटमा नेपाल पेनाल्टीमार्फत गोल खादैँ नेपाल पछि पर्यो। सोही गोलसँगै पहिलो हाफमा नेपाल १–० ले पछि पर्यो। पहिलो हाफमा पछि परे पनि दोस्रो हाफमा भने नेपाली खेलाडीहरु मैदानमा थप आक्रामक रुपमा प्रस्तुत भए।
त्यसको कारण खोल्दै नवयुगले भने, ‘खेलको मध्यान्तरमा हामी ड्रेसिङ रुम छिर्दा त्यहाँ नाकाबन्दीको कुरा आयो। हाम्रा लागि यो सुनौलो मौका हो। जवाफ फर्काउने यो क्षण फेरि आउँदैन भनेर सबैजना भित्रैदेखि उर्जा लिएर निस्किए। त्यसले पनि दोस्रो हाफमा हामी अझ कटिबद्ध भएर निस्क्यौं।’
६६औं मिनेटमा सब्स्टिच्युट (वैकल्पिक) खेलाडी प्रकाश बुढाथोकीले डी बक्सबाहिरबाट फ्रि किकमा लोभलाग्दो गोल गर्दै ड्रेसिङ रुममा पाएको उर्जालाई मैदानमा देखाए। उनले पोस्टको माथिल्लो भागमा गरेको प्रहारलाई भारतीय गोलरक्षकले ठम्याउनै सकेनन। उनका अघि बनेको खेलाडीहरुको पर्खाल पनि प्रतिक्रिया विहीन भयो। बलले जाली चुमेसँगै नेपाली खेलाडीहरुबीच भने ‘सेलिब्रेसन’ सुरु भयो। प्रकाशलाई काँधमै उठाएर खेलाडीले मैदानमै खुशी मनाए।
खेलको माहोल नै परिवर्तन गरिदिएको त्यो गोलको सम्झना गर्दा प्रकाश अहिले पनि रोमाञ्चित हुन्छन। ‘घरेलु खेलहरुमा म त्यस प्रकारको ‘फ्रि किक’को अभ्यास गरिरहन्थे। शत प्रतिशत गोल हुन्छ नै भन्ने त थिएन तर गोलमा परिणत गर्नसक्छु भन्ने आत्मविश्वास चाहिँ ममा थियो,’ प्रकाशले स्मरण गर्दै नेपालखबरसँग भने, ‘बराबरी गोल भएपछि खेलाडीहरुमा जोश फर्कियो। नवयुगको गोलसँगै हामीले खेल पनि जित्यौं।’
खेलपछिको पत्रकार सम्मेलनमा भारतीय टोलीका तत्कालिन प्रशिक्षक ली जोनसनले समेत प्रकाशले प्रहार गरेको उक्त फ्रि किक विश्वस्तरीय रहेको बताएका थिए। ‘त्यो फ्रि किक विश्वस्तरीय थियो,’ उनले भनेका थिए, ‘विश्वका कुनै पनि गोलकिपरले त्यस्तो फ्रि किक रोक्न सक्दैनन्।’
नवयुग पनि उक्त खेलमा नेपाल लयमा फर्कनुको श्रेय प्रकाशलाई नै दिन्छन। ‘गोल फर्काएपछि अब हामी जित्नै सक्छौं भन्ने आत्मविश्वास सबैलाई जाग्यो। त्यसले हाम्रो गति झनै बढायो,’ नवयुगले भने, ‘भारतमाथि हामी हावी हुनथाल्यौं। ‘डोमिनेट’ गर्ने क्रममा नै अर्को निर्णायक गोल आयो।’
पहिलो गोलको ५ मिनेटपछि नवयुगले नै निर्णायक गोल गरेका थिए। जसले उनलाई स्टार खेलाडी बनायो। यस गोलमा पनि प्रकाशकै योगदान रह्यो। उनले बायाँ कुनाबाट ‘क्रस’ गरेको बललाई नवयुगले ‘वान टच फिनिसिङ’ दिँदै उत्कृष्ट गोल गरेका थिए। गोलसँगै नवयुगले पूरै मैदानको चक्कर लगाउने गरि दौडिए। उनलाई भेट्टाउन नेपाली टोलीका अन्य खेलाडी पनि उनकै पछिपछि दौडिएको थियो।
‘बायाँ कर्नरबाट प्रकाशले क्रस गरेका थिए। डिबक्सभित्र मभन्दा अघि अग्ला कदका भारतीय ‘डिफेन्डर’ थिए। उनलाई उक्त बलले नाघ्छ भन्ने लागेर म पछि नै रहेँ। नभन्दै बल मैँसामु आयो र मैले भली मार्फत वान टचमै गोल गर्न सफल रहेँ,’ नवयुगले त्यो ऐतिहासिक गोल गर्दाको क्षण स्मरण गरे।
‘त्यो मेरो करिअरकै टर्निङ प्वाइन्ट हो,’ नवयुगले थपे, ‘अहिले पनि मान्छेहरुले मलाई सम्झदा त्यही गोलले गर्दा सम्झन्छन। मलाई भेट्नेले पनि तपाईको त्यो गोल यस्तो थियो भनेर तारिफ गरिरहेका हुन्छन्।’
उपाधि जितेपछि
उपाधि जितेपछि नेपाली खेलाडीहरुको आखाँमा हर्षका आँशु बगिरहेका थिए। केही खेलाडी मैदानमै मुख छोपेर रोइरहेका थिए। जर्सी फुकालेर दौडिएका नवयुगका आँखा पनि ओभानो रहेनन।
‘त्यो सबै हर्षको आँशु थियो। हामीले भारतलाई उनीहरुले लगाएका नाकाबन्दीको जवाफ दिन सकेका थियौं। त्यो विश्वयुद्ध जितेको जस्तै खुशीको क्षण थियो। त्यसैकारण त्यसदिन तीन करोड नेपाली गौरवान्वित भएका थिए,’ नवयुगले भने।
त्यसबेला अत्यधिक खुशी हुने अर्का व्यक्ति थिए प्रशिक्षक राजुकाजी शाक्य। उपाधि जितेसँगै उनको खुशीको कुनै सीमा थिएन। राजुका लागि झन यो उपाधि विशेष थियो। उनी यसअघि १९८४ को तत्कालिन साफमा नेपालले पहिलोपल्ट स्वर्ण जित्दाका खेलाडी र १९९३ मा नेपालले दोस्रो उपाधि जित्दा कप्तान थिए। यसपटक उनले प्रशिक्षककै रुपमा अर्को स्वर्ण थपे।
यो पनि: खेलकुद मन्त्रीको खटाइ : मन्त्रालयमा भन्दा बढी रंगशालामा
उनले त्यसबेला आफ्नो जिन्दगीकै सबैभन्दा ठूलो इच्छा पुरा भएको प्रतिक्रिया दिए। ‘भारतलाई उसैको भूमीमा हराउने मेरो ठूलो इच्छा थियो। त्यो पूरा भयो। अर्कातिर नाकाबन्दीको जवाफ हामीले फुटबलमार्फत दिन सक्यौं। त्यसले सारा नेपालीको पीडामा मल्हम लगाउने काम गरेको थियो।’
त्रिभुवन विमानस्थलमा उपाधिसाथ फर्कँदा नेपाली टोलीले भव्य स्वागत पाएको थियो। एयरपोर्टबाटै समर्थकहरुले उनीहरुलाई हाइहाइको नारा लगाउँदै दशरथ रंगशाला पुर्याएका थिए। सामाजिक सञ्जालमा जताततै जीतकै उल्लास झल्किन्थ्योे।
त्यसबेला नाकाबन्दीको सामना गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै यो विजयले नेपालीको शिर उँचो बनाएको उल्लेख गरेका थिए। उनको विज्ञप्तिमा उल्लेख भएको शब्द झै त्यो विजय ‘नेपाली खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय रहने छ।’
यो पनि:क्रिकेटका प्रभावशाली नेता
Shares
प्रतिक्रिया