ad ad

कारोबार


नेपाल–तिब्बत व्यापार समझदारीः अब चीन र नेपालको समय एउटै

नेपाल–तिब्बत व्यापार समझदारीः अब चीन र नेपालको समय एउटै

दीपक भट्ट
मंसिर ८, २०७६ आइतबार १२:१५,

नेपाल र तिब्बतको समय दुई घण्टा फरक पर्दा भन्सारमा काम गर्न असहज भएपछि एउटै समय तय गर्ने समझदारी भएको छ।

नेपाल–तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को बैठकले नेपालको बिहानको ८ बजेको समय र तिब्बतको १० बजेको समयलाई एउटै मान्ने गरी समझदारी गरेको हो। अक्टोबर २४ मा भएको समझदारीअनुसार तिब्बततर्फको भन्सार खुल्ने समय बेइजिङको १० बजे र नेपाली ८ बजेलाई एउटै रुपमा लिने सहमति भएको हो।

यो गत कात्तिक १४ अर्थात् अक्टोबर ३१ बाट लागू समेत भइसकेको नेपालको तर्फबाट समझदारीमा हस्ताक्षर गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती अर्यालले जानकारी दिइन्। उनले नेपालखबरसँग कुरा गर्दै नेपाल र तिब्बतको समय दुई घण्टाभन्दा बढी फरक रहेकोले यता भन्सार सुचारु हुँदा तिब्बततर्फ खाजा खाने समय हुने र उता सुचारु हुँदा यता खाजा खाने समय हुने कारण भन्सारमा समस्या देखिएपछि समयमा एकरुपता हुने गरी सम्झौता गरिएको हो।

यो सम्झौता कार्यान्वयनमा समेत आइसकेकोले अहिले भन्सारमा सहजता समेत देखिएको उनले जानकारी गराइन्। गत महिना तातो पानी नाकामा भएको बैठकले १२ बुँदे समझदारी गरेको थियो। नेपालको तर्फबाट उपसचिव पार्वती अर्याल र चीनको स्वशासित क्षेत्र तिब्बतबाट अर्यालकै समकक्षी वांग पिंगले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए।

यस्तो छ नेपाल–तिब्बत १२ बुँदे समझदारी
झांग्मु-ताताेपानी भन्सार नाकाबाट आयात तथा निर्यात गर्दा दुवै देशका भन्सारबीच अनलाइन सफ्टवेयर सञ्जाल विकास गर्न नेपालले चिनियाँ पक्षलाई आग्रह गरेको थियो। चीनको तिब्बतले नेपालको अनुरोधलाई स्वीकार्दै यसलाई दुई देशको कूटनीतिक माध्यमबाट ल्याउन अनुरोध गरेको थियो।

त्यस्तै दुई देशका भन्सारबीच अनलाइन सञ्जालका लागि नेपालले गरेको आग्रहलाई सम्मान गर्दै चीनको तिब्बतले यसमा थप आवश्यक कुराहरु विस्तृतमा अर्को चरणको बैठकमा ल्याउन भनेको छ। यसो भए ल्हासा भन्सारले भन्सार सामान्य प्रशासनमा निवेदन गर्न सक्नेछ। नेपालले चीनको तिब्बतलाई नेपालको सम्बन्धित पक्षहरु क्वारेन्टाइनसँग सम्बन्धित पशु र वनस्पति क्वारेन्टाइन, खाद्य निरीक्षण, वस्तु निरीक्षणलगायतका कुराहरुमा अर्को चरणको बैठकमा छलफलका लागि सहभागी हुन भनेकोमा ल्हासा भन्सारले सहमति जनाएको छ।

त्यस्तै नेपाललाई चीनको तिब्बतले मितेरीपुलदेखि तातोपानी सुख्खा बन्दरगाहसम्म पुग्ने सडक निर्माण गर्न आवश्यक रहेकामा चीनको तिब्बतले सम्बन्धित विभागसँग सहकार्य गरी सडक निर्माण गतिलाई तीव्रता दिन सहमत भएको अर्यालले जानकारी गराइन्।

नेपालले चीनको तिब्बतलाई जडीबुटीको सूची तयार गर्ने काम भइरहेको, कृषिजन्य र पशुजन्य उत्पादनहरु कूटनीतिक माध्यमबाट चीनको तिब्बतमा पठाउने गरी तयारी गरिरहेको जानकारी दिएको थियो। यसको लागि तिब्बतले क्वारेन्टाइन परीक्षण मापदण्ड तयार गरी नेपाललाई पठाउने बताएको छ।

दुवै पक्षले आयात तथा निर्यात गरिने वस्तुको लागि आवश्यक नियम र कानुन निर्माण गर्न समेत सहमति जनाएका छन्। चीनको तिब्बतले नेपालका सम्बन्धित क्षेत्रका सरकारी अधिकारीहरुलाई ‘युनिफर्म फाइलिङ मेकानिज्म’ चिनियाँ ऐन तथा नियमअनुसार कार्यान्वयनका लागि अनुरोध गरेको थियो। यसलाई नेपाली पक्षले अध्ययन अनुसन्धान गरेर जानकारी दिने बताएको छ।

तिब्बतले नेपालबाट झांग्मु भन्सारमा भन्सार पुनः सञ्चालनमा आएयता कुनै पनि वस्तु आयात नभएको र यसको कारण ‘कोदारी बोर्डर कार्गो इन्स्पेक्सन’ पूर्ण रुपले सञ्चालनमा नहुनु भएकोले नेपाललाई सबै प्रारम्भिक कार्यहरु कोदारी बोर्डर कार्गो इन्स्पेक्सन स्टेसनमा गर्न सुझाव दिएको छ। नेपालले नेपाली भन्सार कार्यालयले जुनसुकै बेला भन्सार घोषणा गर्न सक्ने तर कोदारीमै भन्सार क्लियरेन्स अहिलेलाई दिन नसक्ने बताएको छ।

चीनको तिब्बतले आवतजावतको लागि प्रिफरेन्सियल नीतिबारे समेत उक्त बैठकमा बताएको थियो। यसमा झांग्मु बन्दरगाहमा अहिलेलाई केवल कार्गो माध्यममात्रै खुलेको तिब्बतले जनाएको उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी गराएको छ।

यसबाहेक नेपाललाई दुवै देशमा आर्थिक र व्यापार सहयोग प्रवद्र्धनका लागि म्युचुअल ब्रान्च अफिस खोल्न तिब्बतले आग्रह गरेकोमा नेपालले पनि चिनियाँ वाणिज्य बैंकहरुलाई नेपालमा शाखा खोल्न अनुरोध गरेको जनाएको छ। त्यसका लागि नेपालमा कानुन बनिसकेकाले कुनै समस्या नरहेको नेपालले जवाफ दिएको छ। त्यस्तै दुवै पक्षले आआफ्ना केन्द्रीय तथा वाणिज्य बैंकको शाखाबीच सहकार्य स्तरको सम्बन्ध मजुबत पार्ने सहमति गरेका छन्।

चीनको तिब्बतले नेपाललाई आफूतिरको पूर्वाधार संरचना निर्माणको प्रगति अवस्था जानकारी गराउँदै नेपालतिरको संरचना निर्माणलाई तीव्रता दिन अनुरोध गरेको थियो। नेपालले आफ्नो भूमितर्फ संरचना निर्माणमा चीन (तिब्बत)लाई सहयोग गर्न भनेको थियो। यसका लागि आवश्यक कुराहरु कूटनीतिक तवरबाट पेस गर्न तिब्बतले आग्रह गरेको मन्त्रालयले जनाएको छ।

यस्तै, चीनको तिब्बतले मितेरी पुल पुनर्निर्माण आयोजनाका लागि ५०० क्युबिक मिटर ब्याकफिल गर्नुपर्ने सामग्री आवश्यक रहेको र ती सामग्री नेपालबाटै किन्न सुझाव दिएको थियो। नेपालले त्यसमा सहमति जनाउँदै निर्माणमा इच्छुक कम्पनीहरुसँग छलफल गरेर यसलाई समाधान गर्न सहमत भएको छ।

तिब्बतले नेपाललाई फोन तथा विद्युतका पोलहरु रसुवागढी–स्याफ्रुबेसी सडक किनाराबाट हटाउन र सडक निर्माणलाई गति दिन आग्रह गरेकोमा त्यस कार्यमा सहकार्य गर्न नेपाल सहमत रहेको दुई पक्षबीच भएको अन्तिम बुँदामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .