ad ad

खेल


विश्वकप छनोटः नेपालले लिनसक्ला मौसमी फाइदा?

विश्वकप छनोटः नेपालले लिनसक्ला मौसमी फाइदा?

लक्ष्मी जि.सी
मंसिर २, २०७६ सोमबार १०:५,

खेलः नेपाल भर्सेस कुवेत
प्रतियोगिताः फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को छनोट
मितिः मंसिर ३ गते मंगलबार दिउँसो सवा ३ बजे
स्थानः चाम्लिमिथाङ रगंशाला, भुटान

नेपालको दशरथ रंगशाला पुर्ननिर्माण समयमा सम्पन्न नभएका कारण नेपालमैं हुनुपर्ने फिफा विश्वकप–२०२२ र एसियन च्याम्पियनसिप २०२३ अन्तर्गतको पहिलो होम (देशभित्रै हुने) खेल यहाँ हुन नसकेपछि नेपालले तटस्थ स्थानको रुपमा भुटानको चाम्लिमिथाङ रगंशाला रोज्यो। जुन समुन्द्र सतहबाट २५ सय मिटरको उचाईमा छ। यो संसारकै अग्लो स्थानमा रहेका रंगशालाहरु मध्येको एक हो।

ग्राफिकम्यापका अनुसार खाडी मुलुक कुवेतको उचाई समुन्द्र सतहबाट १ सय ८ मिटरमात्रै छ। एक्कासी समुन्द्रसतह २५ सय मिटरमाथिको उचाईको रंगशालामा खेल्नु कुवेती खेलाडीका लागि चुनौतीपूर्ण नै हुने अनुमान गरिएको छ। नेपालको १४०० मिटरमा रहेको काठमाडौं र अन्य पहाडी ठाउँहरु र भुटानमैँ पटक पटक खेलिरहेका नेपाली खेलाडीलाई सो उचाईमा खेल्न सहजै हुने नेपाली पक्षको बुझाई छ।

‘विश्वका स्टार खेलाडीहरु लियोनल मेस्सी तथा क्रिस्टियानो रोनाल्डोहरुको प्रदर्शन पनि उनीहरु अनुकुलको वातावरण नहुँदा खस्कन्छ,’ नेपाली फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘कुवेतका खेलाडीहरुको स्तर नेपालीभन्दा माथिल्लोस्तरको छ तर भुटानको नेपाल सुहाउँदो वातावरणको फाइदा हामीलाई पुग्नेछ।’

भुटानको चाम्लिमिथाङ रगंशाला

घरेलु मैदानमा प्रतियोगिता गर्न नसक्दा तटस्थ स्थान छान्ने अधिकार आयोजनाको जिम्मा पाएको देशलाई हुन्छ। नेपालले त्यही अनुरुप आफ्नो मौसमसँग मिल्दो भुटानलाई रोजेको थियो। नेपाली खेलाडीहरुले यसअघि पटक पटक भुटानमा खेलिसकेका छन।

तर शुरुमा कुवेतले नेपालको प्रस्ताव स्वीकार गरेन। कारण, उसका खेलाडीहरुलाई भुटानको मौसम कुनैपनि हालतमा सुहाउँदो थिएन। उसले इमिग्रेसन कानुन कडा रहेको लगायतका कारणहरु देखाएको थियो। उसले आफू सुहाउँदो खाडी मुलुकमै खेल राख्न एसियन फुटबल कन्फिडेरेशन (एएफसी) मै लविङ समेत गर्‍यो। तर नेपालले आफ्नो अडान नछाडेका कारण र सम्पूर्ण प्रक्रियागत जिम्मेवारी लिने विश्वस्त पारेपछि कुवेत भुटानमा आउन बाध्य भएको हो।

नेपाललाई अर्को फाइदा भने कृत्रिम मैदानको हुनेछ। नेपाली खेलाडीहरुको अभ्यास सधैँ एन्फा कम्प्लेक्स सातदोबाटोमा रहेको कृत्रिम मैदानमा नै हुने गरेको छ। कृत्रिम मैदान र वातावरणसँग घुलमिल हुन कै लागि खेलको ५ दिन अघि नै कुवेती खेलाडीहरु भुटान पुगिसकेका छन। नेपाली खेलाडीहरु भने शनिबार साँझमात्रै भुटान पुगेका थिए। दुवै टोली सोमबार अन्तिम तयारी सकेर मंगलबार भिड्नेछन।

मौसम र मैदानले नेपाललाई साथ दिए पनि बाँकी सबै पक्षमा कुवेत नेपालभन्दा निकै बलियो टिम हो। फिफा वरियतामा कुवेत (१५६) छ भने नेपाल (१६७) मा। कुवेतले १९८२ मै विश्वकप खेलिसकेको हो। त्यसबाहेक १९७६ मा एसियन कपको फाइनलमा पुगेको कुवेतले १९८० मा उपाधि नै उचालेको थियो।

नेपाली टोली शनिबार नै भुटान पुगिसकेको छ

नेपाल भने दक्षिण एसियाली फुटबल च्याम्पियनसिपकै सेमिफाइनलभन्दा माथि उठ्न सकेको छैन। कुवेतले विश्वकप र एसियन कपमा छनोट हुने सपना देखिरहँदा प्रशिक्षक योहान कालिनका अनुसार नेपालले आफ्नो राम्रो प्रदर्शन गर्दै स्तरवृद्धिलाई नै मुख्य लक्ष्य ठानेको छ।

उनी भन्छन्, ‘हामी घरमै (दशरथ रंगशाला) मा खेल्न चाहन्थ्यौं। तर, त्यो सम्भव भएन। भुटानको हावापानी पनि हामीसँग मिल्दो छ। त्यसले अवश्य फाइदा पुग्नेछ। तर कुवेत बलियो टोली हो। प्रतियोगितामा हामीले राम्रो खेल्ने लक्ष्य लिएका छौं। राम्रो खेल पस्कदा नतिजा पनि राम्रै निस्कने आशा छ।’

जित्नैपर्ने दबाब
नेपालले देशबाहिर खेल्ने चार ‘अवे’ खेल खेलिसकेको छ। कुवेतसँग नै नेपालले पहिलो ‘अवे’ खेल खेलिसकेको थियो। जसमा नेपाल ७–० ले स्तब्ध भयो। ‘एक त कुवेती फुटबल नेपालभन्दा माथिल्लोस्तरको हो। अर्को त्यसबेला हाम्रो विपरितको हावापानी भएकाले पनि हामीले फराकिलो हार व्यहोरेका थियौं,’ खेल विश्लेषक मिश्रले बताए।

लगत्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हरायो। त्यो नै नेपालले बाहिरी (अवे) खेलमा हात पारेको एकमात्रै जित हो। तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० र अन्तिम खेलमा जोर्डनसँग ३–० ले पराजित हुँदै नेपालले ‘अवे’ यात्रा सिध्याएको थियो।

६ महिनाअघि एसियाको शीर्ष ३४ भित्र रहेपछि नेपालले विश्वकप छनोटको पहिलो चरण नखेली सोझैँ दोस्रो चरणमा प्रवेश पाएको हो। दोस्रो चरणमा अहिले नेपालसँगै एसियाका ४० राष्ट्रका टोलीले प्रतिस्पर्धा गर्दैछन।

नेपाललाई कुवेतविरुद्ध जित्नैपर्ने बाध्यता छ

उनीहरुलाई विभिन्न ८ समूहमा बाँडिएको छ। नेपाल समूह बीमा छ। नेपाली समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्। समूहको शीर्षमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। साथै सबै समूहका खेल सकिएपछि उत्कृष्ट ४ समूह उपविजेता टोलीलाई पनि तेस्रो चरणमा प्रवेश दिइन्छ।

समूह बीमा ३ अंक रहेको नेपाल चौथो स्थानमा छ। सोही कारण कुवेतविरुद्धको खेल जित्दै नेपालले तेस्रो चरणमा पर्ने सम्भावना कायम राख्ने प्रयत्न गर्नेछ। पराजित भएमा भने नेपालको अर्को चरण पुग्ने सम्भावना लगभग सकिनेछ।

नेपाली प्रशिक्षक कालिनले त्यो समिकरण बुझेका छन्। उनी भन्छन्, ‘हाम्रो लक्ष्य राम्रो खेल्नु नै हो। राम्रो खेल्दा नतिजा आफ्नो पक्षमा पर्छ। त्यसले अंक थपिनेछ।’

कुवेतविरुद्धको खेलअघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नोभेम्बर ७ मा म्यानमारसँग नेपाल उसकै मैदानमा ३–० ले पराजित भएको थियो। त्यसपछि एकहप्ता घरेलु मैदानमा अन्तिम तयारी गर्दै नेपाली टोली भुटान प्रस्थान गरेको हो।

हेड टू हेड

नेपालले कुवेतलाई कहिलैपनि हराउन सकेको छैन
नेपालले कुवेतलाई राष्ट्रिय टोलीको स्तरमा कहिल्यै हराउन सकेको छैन्। नेपाल र कुवेत अहिलेसम्म सात पटक आमने सामने हुँदा छ पटक कुवेतले जितेको छ भने एक खेल बराबरी भएको छ।

१९८२ को एसियन गेम्समा नेपाल र कुवेत पहिलोपटक भिडेका थिए। नयाँ दिल्लीमा भएको उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो। त्यसबेला वाइबी घलेले नेपालका तर्फबाट गरेको उक्त गोल नै कुवेती पोस्टमा नेपालले गर्न सकेको हालसम्मकै एकमात्रै गोल हो। त्यसबाहेक ७ खेलमा नेपालले २९ गोल खाएको छ।

कुवेतसँग नेपालले १९९४ मा भएको एसियन गेम्समा सबैभन्दा ठूलो ८–० को हार ब्यहोरेको थियो। त्यसपछि गत सेप्टेम्बरमा भएको यसै विश्वकप छनोटमा नेपालले दोस्रो ठूलो (७–०) हार ब्यहोरेको हो। गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा रोक्नु नै कुवेतविरुद्ध नेपालको सबैभन्दा ठूलो सफलता हो।

जारी विश्वकप छनोटको पहिलो खेलमा कुवेतले अष्ट्रेलियासँग ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेइलाई ९–० ले पराजित गरेको छ। कुवेत अंकतालिकामा ७ अंकसहित शीर्षस्थानको अष्ट्रेलियाभन्दा ४ अंक कमसहित दोस्रो स्थानमा छ।

खेलाडी बर्खास्तीको असर

  भुटान जाने टिमका चार खेलाडीलाई अन्तिम समय टिमबाट हटाइएको थियो

शनिबार विहान ११ बजे विदाई कार्यक्रमअघि सम्म पनि भुटान भ्रमणमा जान नेपाली टोलीका २३ जना खेलाडी नै एन्फा कम्प्लेक्स पुगिसकेका थिए। तर, अचानक मुख्य चारजना खेलाडीहरुलाई अनुशासन तोडेको भन्दै एन्फाले टोलीबाट हटाउने निर्णय गर्‍यो।

अघिल्लो दिन राति ठमेलका विभिन्न नाइट क्लबमा गएको आरोपमा एन्फाले विदाई कार्यक्रमका लागि पुगेका स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई घर फिर्ता पठाएको थियो।

सम्बन्धित समाचार: चार खेलाडी टिमबाट फालिएको त्यो अन्तिम घण्टा

अन्जन तिनै खेलाडी थिए, जसले चाइनिज ताइपेइविरुद्ध नेपालले एकमात्र जित हात पार्दा दुवै गोल उनैले गरेका थिए। भरत खवास वैदेशिक प्रशिक्षणमा रहेकाले विमल पछिल्ला खेलहरुमा नेपालको पहिलो रोजाईका फरवार्ड बनेका थिए। यस्तै दिनेशलाई पनि प्रशिक्षकले पहिलो रोजाईमा राख्दै आएका थिए।

उनीहरुलाई हटाएपछि प्रशिक्षक कालिनले मिडफिल्डर सुवास गुरुङलाई टिममा समावेश गरेर लगेका छन। विमल र अन्जनजस्ता अनुभवी खेलाडीहरु नहुँदा नेपाली टोलीमा अभाव खड्कने देखिन्छ। तर, प्रशिक्षक कालिन भने त्यसले खासै असर नपर्ने बताउँछन । ‘हरेक खेलाडिले अनुशासनको पालना गर्नुपर्छ। म अहिले हामीसँग भएका खेलाडीहरुमा केन्द्रीत छु। एयरपोर्ट (त्रिभुवन विमानस्थल) देखि नै मेरो खेलाडीहरु राम्रो मुडमा छन। हामीले कडा चुनौती दिनेछौं,’ प्रशिक्षक कालिनले खेलअघिको पत्रकार सम्मेलनमा भने।

किरणलाई नै निरन्तरता

कप्तानीमा किरण चेञ्जोङ(१६)ले नै निरन्तरता पाएका छन्।
नियमित कप्तान विराज महर्जन अनफिट हुनु तथा भरत खवास सेनाको विशेष प्रशिक्षणमा विदेश भएका विश्वकप छनोटको पहिलो खेलदेखि नै गोलकिपर किरण चेम्जोङले नेपाली टोलीको नेतृत्व गर्दै आएका छन्।

कुवेतविरुद्धको यस खेलमा पनि विराज टोलीमा परेनन्। भरतले भने टोलीमा पुनरागमन गरेपछि टोलीको नेतृत्व गर्ने अवसर प्रशिक्षक कालिनले कसलाई दिन्छन भन्ने चासो थियो।

तर, सोमबार बिहान भएको पत्रकार सम्मेलनमा कालिनले नेपाली टोलीको कप्तानका रुपमा किरणलाई नै उपस्थित गराएपछि त्यो जिज्ञासा मेटिएको छ। किरण २००८ देखि नेपाली टोलीको गोलरक्षकका रुपमा छन।

किरणले कुवेतविरुद्धको पहिलो खेलको हारलाई बिर्सदै यस खेलमा अंक बटुल्ने रणनितिमा आफुहरु रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .