ad ad

खेल


डब्लुसीएलः लगातार तेस्रो जितसँगै चितवन प्लेअफमा

डब्लुसीएलः लगातार तेस्रो जितसँगै चितवन प्लेअफमा

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ८:५३,

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दै चितवनले प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको हो।

यसअघि क्वाट क्वीन्स काठमाडौं र ललितपुर फाल्कोन्सलाई पराजित गरेको चितवन ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।

पोखराले दिएको एक सय २८ रनको लक्ष्य चितवनले १८ ओभरमा ३ विकेट गुमाएर भेटायो। ओपनर काजल श्रेष्ठले ५१ रनको अर्धशतकीय पारी खेलेपछि चितवनले १२ बल अघि नै लक्ष्य भेटाएको थियो। ४७ बल खेलेकी उनले ५ चौका प्रहार गरेकी थिइन्।

यस्तै कञ्चन श्रेष्ठले २९ तथा कप्तान इन्दु बर्माले २३ रन जोड्दै चितवनलाई जित दिलाइन्। पोखराकी अन्जली चन्दले २ तथा सुस्मा श्रेष्ठले १ विकेट लिइन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो। उसकी कप्तान सिता रानामगरले ६५ रनको अर्धशतकीय पारी खेलेपनि अरुले साथ नदिदा टोलीले ठूलो स्कोर बनाउन सकेन।

५६ बल खेलेकी सिताले ७ चौका प्रहार गरिन। यस्तै पोखराकी मञ्जु बोकटीले २४ तथा कविता कुवरले १५ बाहेक अरुले दोहोरो अंक जोड्न सकिनन्।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा सुरु भएको प्रतियोगिता कार्तिक ७ गतेसम्म चल्ने छ।

प्रतियोगितामा पाँच शहरका ५ टोलीहरु ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस टोलीहरुबीच प्रतिस्पर्धा भइरहेको छ।

राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधैं फाइनलमा स्थान बनाउने छ।

दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशको लागि क्वालिफयार खेल्नेछन्। विजेताले ७ लाख र उप विजेताले ३ लाख रुपैयाँमा प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .