प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते बिहान १० बजे एकसाथ देशभर खोप अभियान सुरु गर्ने भएका छन्।
स्वास्थ्य मन्त्रालयले गत बिहीबार भारत सरकारले दिएको १० लाख डोज खोप लगाउने काम यही माघ १४ गतेबाट हुने जनाएको हो।
स्वास्थ्य, जनसंख्या तथा वातावरणमन्त्री हृदेयश त्रिपाठीले १४ गते सातवटै प्रदेशका अस्पताल र काठमाडौंमा प्रमुख अस्पतालहरुमार्फत भर्चुअल विधिबाट प्रधानमन्त्रीले खोप अभियान सुरु गर्ने जानकारी दिएका हुन्।
मन्त्री त्रिपाठीका अनुसार सात वटा प्रदेशका ६२ अस्पतालका १२० बुथबाट खोप अभियान सञ्चालन गरिने छ। १८ गतेसम्म खोप केन्द्र थप गरी ३ सय स्थानबाट खोप दिने उनले जानकारी दिए।
यस्तै पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न गर्ने मन्त्रालयले योजना बनाएको छ। भारत सरकारले दिएको खोप आइतबार नै स्वास्थ्य सेवा विभागले प्रदेशहरुमा पठाइसकेको छ।
पहिलो चरणमा ४ लाख ३० हजार जनालाई लगाइने तयारी रहेको मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने स्थानीय निकायका कर्मचारी, एम्बुलेन्स तथा शववहान चालक तथा सहचालक, उपचारमा र खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयमसेवक, महिला स्वास्थ्यसेवक, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा खटिने स्वास्थ्यकर्मी र व्यक्तिहरु, वृद्धआश्रममा रहेका व्यक्ति, हेरचाह र व्यवस्थापनमा खटिने, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री त्रिपाठीले अहिलेको अवस्थामा खोप एकदमै महत्वपूर्ण भएकाले समुचित प्रयोग गर्न र खेर जाने दर अतिन्यून राख्न अनुरोध गरे। आफूले सोही अनुसार निर्देशन दिएको उनको भनाइ थियो।
मन्त्री त्रिपाठीले नेपालमा लगाइन लागेको खोप विश्व प्रसिद्ध संस्थाले उत्पादन गरेकाले र तेस्रो चरण पनि सफलतापूर्वक पार गरेकाले निर्धक्क लगाउन अनुरोध गरे।
खोप पाउनेहरुको विवरण पारदर्शी बनाउन सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूचीको सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्री त्रिपाठीले पहिलो चरणको खोप सक्नुभन्दा अघि नयाँ खोप उपलब्ध हुने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया