ad ad

समाज


असार सकिन लाग्दा बागमतीमा ४६ प्रतिशत मात्रै रोपाइँ

असार सकिन लाग्दा बागमतीमा ४६ प्रतिशत मात्रै रोपाइँ

नेपालखबर
असार २८, २०८० बिहिबार १२:३०, हेटौँडा

बागमती प्रदेशमा हालसम्म ४६.२७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। १३ जिल्ला रहेको बागमतीमा १ लाख १३ हजार ५ सय २३ हेक्टर धान खेतीयोग्य जमिन छ। जसमा ५२ हजार ५ सय २८ हेक्टर अर्थात ४६.२७ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

यो अघिल्लो वर्षको तुलनामा निकै कम प्रतिशत हो। अघिल्लो वर्ष असार अन्तिम हप्तासम्म ६० प्रतिशत भन्दा धेरै रोपाइँ सम्पन्न भइसकेको थियो। यस वर्ष भने समयमै पानी नपर्दा आकाशको पानी कुरेर बस्ने किसानहरुले रोपाइँ गर्न नपाएको मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख दीपेन्द्र मणी लामिछानेले जानकारी दिए।

समयमै पानी नपर्दा यसपाली रोपाइँ ढिलो भएको लामिछाने बताउँछन्। ‘सबै ठाउँमा सिंचाइँ पुगेको छैन। जहाँ सिंचाइँको सुविधा छ त्यहाँ लगभग रोपाइँ सकिने अवस्थामा छ भने आकाशकै पानी कुर्नुपर्ने अधिकांश ठाउँहरुमा रोपाइँ हुन सकेको छैन,’ उनले भने। 

मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले बागमतीमा रोपाइँको समय अझै बाँकी नै रहेको बताउँछन्। साउन तेस्रो हप्तासम्म पनि रोपाइँ हुने हुँदा अघिल्लो वर्ष बराबरै रोपाइँ सम्पन्न हुन सक्ने उनको अनुमान छ। ‘पानी नपरेर रोपाइँ हुन नसकेको हो,’ उनले भने, ‘पानी पर्न थालेपछि भटाभट रोपाइँ हुन्छ। सबै ठाउँमा सिंचाइँको सुविधा नपुगिसकेको कारण किसानहरू समस्यामा छन्।’

रोपाइँ धेरै हुने जिल्ला चितवनमा हालसम्म ५० प्रतिशत रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ। २४ हजार २ सय ४७ हेक्टर खेतीयोग्य जमिन रहेकोमा हालसम्मको अवधिका १२ हजार १ सय २४ हेक्टर जमिनमा मात्रै रापाइँ सकिएको तथ्यांक छ।

यसैगरी मकवानपुरमा ३०, नुवाकोटमा ३८, रसुवामा ४६, ललितपुरमा ६९, भक्तपुरमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार काठमाण्डौंमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। 

यस्तै काभ्रेपलाञ्चोकमा ६९, सिन्धुपाल्चोकमा ५२, रामेछापमा ३०, दोलखामा ५० प्रतिशत, सिन्धुलीमा ३३ र धादिङमा २३ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .