ad ad

समाज


मुस्ताङका ‘हिमाली डाक्टर’ जो १३ औं शताब्दीको उपचार पद्धति पछ्याउँछन्

मुस्ताङका ‘हिमाली डाक्टर’ जो १३ औं शताब्दीको उपचार पद्धति पछ्याउँछन्

वाशुदेव मिश्र
असोज ९, २०७६ बिहिबार ७:२२,

‘उनीहरु सुनबाट (औषधी) बनाउँदैन, चाँदीबाट बनाउँदैन, क्याप्सुल पनि जडिबुटीबाटै बनाउँछ’, लोमान्थाङका आम्ची घ्याछो विष्ट लो–कुन्फेन आम्ची औषधालय स्कूलमा रहेका औषधी देखाउँदै स्थानीय लवजमा भन्छन्,‘धेरैजसो सिटामोल चिराइतोबाट बनाउँछ।’

६१ वर्षीय घ्याछो विष्ट उपल्लो मुस्ताङका राजवैद्य हुन्। हिमाली डाक्टरको पेशा धान्ने उनी पाँचौ पुस्ताका हुन्। पिता टासी छोजाङ विष्टलेजस्तै उनले पनि पिताकै हात समाएर आम्ची विद्या सिके। जडिबुटी चिने।

‘आम्ची हुन कम्तिमा २ सय जडिबुटी चिन्नुपर्छ। सक्दा त ६ सयको नाम नै कण्ठ पार्नुपर्छ’, उनी भन्छन्, ‘मैले ४ सय जडिबुटी चिनेको छु। ती सबै यहाँ (औषधालय) मा छन्।’ उनलाई फूलको रंग, पात, जरा र सुगन्ध हेरेर जडिबुटी चिन्ने विद्या थाहा छ, रोग अनुसारको ओखती बनाउने कला पनि।

त्यतिमात्र कहाँ हो र ? तिब्बती भाषामा लेखिएको आम्चीका चार वेद उनले छिचोलेका छन्। त्यहाँका १ सय ५६ वटा अध्याय कण्ठ बनाएका छन्।

‘रुटतन्त्रकम २६, सेक्यु ३१, मेलाँकीमा ५२ वटा र लाष्टमा २७ वटा च्याप्टर छ। आम्ची पढ्ने होइन प्राक्टिकल विद्या हो कसैले भन्छ भने त्यो झुटो हो’, उनी भन्छन्, ‘आम्चीका लागि पढाई र प्राक्टिकल दुवै हुनैपर्छ। पढेको कण्ठ गर्नुपर्छ।’

औषधी कसरी चिन्ने त ? उनले उत्तर दिए,‘ तिब्बती भाषमा भंगुर भनेको सेतो निरमसी हुन्छ। भुंमर भनेको अर्को निरमसी हुन्छ र भुँग्ना भनेको विष हो। यी सब हेरेर चिन्न सक्ने हुनुपर्छ।’

पिताको हात समाएर सिकेको विद्या अनुसार नै उनी अहिले पनि बिरामीको नाडी छाम्छन्। रोग हेरेर औषधी दिन्छन् अनि केही रोगहरुमा औषधीमै डुबाएर उपचार पनि गर्छन्। हड्डी भाँच्चिएको र मर्किएको बेला बिरामीलाई ओखतीमा डुबाएर (उनकै भाषामा लुम गरेको भनिन्छ) र लेदो लगाउने (झुक्पा) गरिन्छ। रोगको लक्षण हेरेर उपचार गर्ने यो पद्धतिमा किताबले भनेको, गुरुले सिकाएको मात्रै नभएर आफूले पनि विचार गरेर उपचार थाल्नुपर्ने उनी बताउँछन्।

amchi mustang2म्ची घ्याछो विष्ट

आम्ची पद्दति हिमालय क्षेत्रमा तेह्रौँ शताब्दीऔँदेखि सुरु भएको मानिन्छ। जडिबुटी चलाउने आम्चीहरु हिमाली क्षेत्रका पक्का डाक्टर हुन्। वायू, कफ र पित्तको अवस्था हेरेर उपचार गरिने आयुर्वेद पद्धति नै आम्चीहरु पच्छ्याउँछन्। घ्याछोका अनुसार वायू भनेको हावा नै हो, वायू बिग्रेको बेला शरीर हल्का हुन्छ। कफ भनेको गह्रौं हुन्छ भने पित्त तातो हुन्छ। लक्षण हेरेर नै औषधी तयार पारिन्छ। आयुर्वेद औषधीले आधुनिक चिकित्साले अपनाएको जस्तो तत्काल रोग निको नगर्ने तर रोगको जरो नै उखेल्ने उनको दावी छ।

उनै घ्याछोले लोमान्थाङमा करिब २० वर्ष अघिदेखि ‘लो कुन्फेन’ आयुर्वेदिक विद्यालय चलाउँदै आएका छन्। भाई तेन्जिङ विष्ट पोखराको हेम्जामा त्यही विद्यालयको शाखा हेर्छन्। तेन्जिङ विद्यालयका प्राध्यापक पनि हुन्। हिउँदमा माथिल्लो मुस्ताङमा हिउँ पर्ने र त्यहाँ १० कक्षासम्मको पढाई नहुने भएकाले हिउँदका तीन महिना हेम्जामा विद्यालय सञ्चालन हुन्छ। निजी स्तरमा खोलिएको भए पनि विद्यालयले निःशुल्क पढाउँछ। यहाँ मुस्ताङसहित मुगु र देशका अन्य हिमाली भेगका ६३ जना विद्यार्थी पढ्दै छन्। निःशुल्क शिक्षाको लागि अमेरिकी संस्थाले सहयोग दिँदै आएको छ। ३८ जना उपल्लो मुस्ताङमै पढ्छन्। सात कक्षादेखि माथिका २५ जना पोखराको विद्यालयमा पढ्छन् र बिहान÷बेलुका तेन्जिङले आम्ची पढाउँछन्।

उनीहरुलाई आम्चीसहित नेपाली, तिब्बती र अंग्रेजी पनि पढाइन्छ। ओखतीका नाम र प्रयोगको तरिका सबै तिब्बती भाषामा लेखिएकोले तिब्बती भाषा जान्नेपर्छ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गत रहेको वैकल्पिक चिकित्सा महाशाखाले वैकल्पिक तथा आम्ची चिकित्सा सेवा सुदृढीकरण, सम्बन्धित कानून, नीति, गुणस्तर मापदण्ड निर्माणमा सहयोग पुर्याउने उद्देश्य पनि लिएको छ।

प्राविधिक तथा व्यावसायिक तालीम परिषद ( सिटिइभिटी) बाट आम्चीको लागि २ वर्ष ९ महिनाको पाठ्यक्रम तयार पारिएको छ। आठ कक्षा उत्तीर्णले मात्रै सिटिइभिटीको पाठ्यक्रम अनुसारको आम्ची कक्षा पढ्न पाउँछन्। त्यो पाठ्यक्रम उत्तीर्ण गर्नु भनेको सामुदायिक स्वास्थ्य सहायकको हैसियत हो। पहिलो वर्ष आम्चीको परिचय, दोस्रो वर्ष बच्चा जन्मनेदेखि मृत्युसम्मको शारिरीक अवस्था, ओखती प्रयोग र अन्तिम ९ महिना जडिबुटी चिन्ने र ओखती बनाउने गरी पाठ्यक्रम तयार पारिएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आम्ची चिकित्सा अस्पतालको मापदण्ड बनाउँदै सोवारिक्वा (आम्ची) इकाई स्थापनाको लागि सहजिकरण गर्ने तथा यो पद्धतिको उपचार सेवा प्रवाहमा सहजिकण गर्ने नीति लिए पनि निर्णय नीतिगत रुपमै सीमित छ। परम्परागत स्वास्थ्यकर्मीहरुको लागि मापडण्ड र कार्यविधि बनाए पनि मन्त्रालयले बाँकी काम भने गरेको छैन। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कविराज निरिक्षक खिमराज रिजालले आफूहरुले त्यही कार्यविधिमा टेकेर परम्परागत स्वास्थ्यकर्मीलाई प्रमाणपत्र दिने बताए।

amchi mustang1पेमा डोल्मासँग आम्चीको प्रमाणपत्र छ तर अनुमति नहुँदा अभ्यास गर्न पाएकी छैनन्।

सरकारले आम्ची पढ्ने अनुमति दिए पनि त्यहाँबाट प्राप्त प्रमाणपत्रको आधारमा लोकसेवा परीक्षा दिने बाटो भने अझै खुलेको छैन। आम्चीले पनि मेडिकल काउन्सिलको प्रमाणपत्र चाहिने अड्को थापिएपछि सिटिइभिटी पढेकाहरु पनि अन्यौलमा परेका छन्। सिटिइभिटीका सूचना अधिकारी अनिलमुनि ब्रजाचार्यले आम्चीहरुकै आग्रहमा यो कोर्ष बनाइएको र देखिएका अप्ठेराहरु सहज बनाउने प्रयास भइरहेको बताए।

हिमाली क्षेत्रमा आम्चीको लागि भनेर छुट्याइएको कोटा पनि अहिलेसम्म खाली नै छ। ‘२०६३ बाट सिटिइभिटीबाट स्वीकृति लिएर आम्ची कान्जिम्बा (कम्युनिटी आम्ची असिष्टेण्ट) पढाइएको छ’, हिमालयन आम्ची एसोसियसनको अध्यक्ष समेत रहेका घ्याचो भन्छन्, ‘तर उत्तीर्ण गरेकालाई औषधी बेच्न र उपचार गर्न दिएको छैन।’

घ्याचोकै छोरी पेमा डोल्मा विष्ट ३३ वर्ष भइन्। उनी लोमान्थाङकी गाउँपालिका उपाध्यक्ष पनि हुन्। विन्ध्यवासिनी माविबाट प्लस टु पढेकी उनले प्राविधिक तथा व्यावसायिक तालिम परिषद ( सिटिइभिटी) बाट आम्चीको प्रमाणपत्र पनि लिएकी छिन्। प्राविधिक एसएलसी सरहको त्यो सर्टिफिकेटले काम नगर्दा भने उनी दुःखी छिन्। ‘हामीसँग टेक्निकल इन्ष्टिच्यूटको सर्टिफिकेट छ तर लाइसेन्स छैन’, उनले भनिन्,‘कोर्ष तयार गर्ने तर मान्यता नदिने काम भएको छ।’

उनी अहिले पितासँगै त्यही आयुर्वेद स्कूलमा काम गर्छिन्। औषधालयमा सबै रोगका बिरामी आउँछन्। बिरामीहरुले जति दिन सक्छन्, त्यति नै दिने हो। नसक्नेले त केही पनि दिनु पर्दैन। सबै जडिबुटी मुस्ताङमा नै यहाँ पाइँदैन। महँगो ओखती बाहिरबाट ल्याउनुपर्छ।

‘वर्षमा दुई चोटी औषधी किन्न जाने हो’, उनले भनिन्,‘ यो पटक पनि अक्टोबर लागेपछि जडिबुटी खोज्न जान्छ।’ भाई लेण्डुप ग्याष्टो विष्ट पनि उनीजस्तै आम्ची हुन्। हिमालयन आम्ची एसोसियसनका अनुसार अहिले देशभर करिब ९४ जना आम्ची छन्। वैकल्पिक चिकित्सा पद्धतिप्रति आम मान्छेको चासो बढेकाले पनि आम्ची पढ्नेहरु बढ्दै गएको पेमा बताउँछिन्।

आठाैँ शताब्दीदेखि चलेर आएको यो उपचार पद्धतिलाई राष्ट्रिय रुपले संरक्षित गर्दै मान्यता दिनुपर्ने गण्डकी प्रदेशसभा सदस्य तथा लोमान्थाङबासी ईन्द्रधारा विष्टको मत छ।

‘हाम्रोतिर अहिले पनि डाक्टर आउँदैनन्, भएका आम्चीलाई संरक्षण नगर्ने भने हामीले सामान्य ओखती पनि पाउन सक्दैनौँ’, उनी भन्छन्, ‘संसारभर वैकल्पिक चिकित्सालाई मान्यता दिएको छ, नेपालले पनि अब ढिला गर्नु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .