ad ad

समाज


गृहमन्त्रीका भाइ धराैटीमा छुटे, पाँच जनालाई थुनामा राख्न आदेश

गृहमन्त्रीका भाइ धराैटीमा छुटे, पाँच जनालाई थुनामा राख्न आदेश

नेपालखबर
असोज १, २०७६ बुधबार १३:१४,

निर्माण व्यवसायीलाई फोनमा धम्काएर रकम उठाउने संगठित गिरोहसँग प्रत्यक्ष सम्पर्क देखिएको भन्दै प्रहरीले हिरासतमा लिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेशकुमार थापा प्रमाण अभावमा धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले उनीसहित ६ जनाको हकमा सोमबारदेखि निरन्तर रहेको थुनछेक बहसमा बुधबार आदेश गरेको हो।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले नरेशसँग एकलाख धरौटी मागेको छ। प्रतिवादी अन्य पाँचजनाका हकमा थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश भएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए।

उनका अनुसार अन्य पाँचजना प्रतिवादीहरु पवन खड्का, बीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र बिनोद लामालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश आएको हो।

गृहमन्त्री बादलका भाई नरेशकुमार थापा सहित नौ जनालाई थुनामा राख्ने कि छोडने भन्ने बिषयमा काठमाडौं जिल्ला अदालतले सोमबार अपरान्हदेखि बहस सुरु भएको थियो। जसमा एकजना फरार छन्। अन्य आठैजनालाई अदालतमा उपस्थित गराईएको थियो।

न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासमा सोमबार प्रतिवादीहरुको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले करिब दुई महिना लामो अनुसन्धानपछि नरेश सहित नौजनालाई प्रतिवादी कायम गर्दै सरकारी वकिल मार्फत गत बिहीबार मुद्दा अदालतमा बुझाएको हो। 

ब्युरोमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासँघका निवर्तमान अध्यक्ष जयराम लामिछानेको जाहेरी परेपछि अनुसन्धान थालेको हो।

लामिछानेले निर्माण व्यवसायी २५ भन्दा बढि ब्यक्तिलाई अज्ञात नम्बरबाट फिरौती रकम माग्दै फोन गरेको विवरण ब्युरोमा उपलब्ध गराएका थिए। उनले गरेको दाबी पछि ब्युरोले स्युचाटारका पवन खड्का, केन्द्रीय कारागारको गोलघरमा रहेका समिरमानसिंह बस्न्यात, काठमाडौंका सुरेन नगरकोटी बलामी, शैलेश प्रजापती, बिनोद लामा समेतलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

प्रहरी अनुसन्धानमा बाग्लुङका जे भन्ने जावेद अनवरदिन जो फरार छन्, उनले फोनमा धम्काउने गरेको खुलेको थियो। जसमा माथि उल्लेखित प्रतिवादी सहित प्रवेश भन्ने मनबहादुर पुन मगर समेतले आपराधिक लाभका लागि धम्काएको पुष्टि भएको थियो।

ब्युरोले आपराधिक लाभ र संगठित अपराध समेत जोडेर घटनाको अनुसन्धान गरेको थियो। ब्युरोको डीएसपी निरञ्जन दत्त भट्टको प्रहरी प्रतिवेदनका आधारमा मुद्दा अघि बढेको हो। निर्माण व्यवसायी महासँघका सल्लाहकार, पदाधिकारी गरी २५ जनालाई धम्काएको आरोप अभियोगपत्रमा लगाईएको छ। ब्युरोको अनुसन्धानमा कारागारमा रहेका निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले परिचालन गरेको समुहसँग थापाको सम्पर्क देखिएपछि उनलाई समेत हिरासतमा लिएर अनुसन्धान गरेको थियो।

उनले प्रहरीसँगको बयानमा आफुले बस्नेतलाई कारागारमा भेटेको प्रहरी निरीक्षक बिपिन ओझाको बयान गलत भएको बताएका छन्। उनले प्रतिवादीहरु शैलेश प्रजापति र बिनोद लामालाई चिनेको र उनीहरुसँग सम्पर्क रहेको स्विकार गरेका छन्।

नरेशले बयानमा प्रजापतिले संचलन गरेको सिटी सेन्टरस्थित फुडकोर्ट मा जाने आउने गरेको बताउदै त्यही पवन खड्का समेतलाई चिनेको बयान दिएका छन्। उनले प्रहरी बयानमा ब्युरोले प्रजापतिलाई पक्राउ गरेर कमलपोखरी वृत्तमा राखेका समय आफु भेटन गएको स्विकार गरेका छन्।

तर ब्युरोको बयानमा प्रहरी निरीक्षक बिपिन ओझाले आफुले समिरमानसिंहलाई कारागारमा भेटेको देखेको भन्ने बयान झुटो भएको दाबी गरेका छन्। प्रहरी निरीक्षक ओझाले बयानमा माओवादी कार्यकर्ता तुलसी भन्ने मार्फत नरेशले समिरमानलाई जेलमै भेटेको बयान ब्युरोले अदालतमा पेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .