ad ad

समाज


लागुऔषध तस्करको जालो तोड्दै कञ्चनपुर प्रहरी, निषेधाज्ञा अवधिमा ७५ जना पक्राउ

लागुऔषध तस्करको जालो तोड्दै कञ्चनपुर प्रहरी, निषेधाज्ञा अवधिमा ७५ जना पक्राउ

गोकुल जोशी
असार ९, २०७८ बुधबार ११:६,

भारतसँगको खुला सीमाका कारण व्याप्त लागुऔषध तस्करको जालो तोड्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले त्यसविरुद्ध अभियान तीव्र पारेको छ।

असारको पहिलो हप्तासम्म प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट लागु औषध तस्करी गरिरहेका ९ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार कञ्चनपुर प्रहरीले दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरबाट भारतको उद्धमसिंह नगर खटिमाका २१ वर्षीय आसिप खानलाई लागुऔषध (अफिम) सहित पक्राउ गर्‍यो।

त्यसअघि शनिवार (असार ५ गते) भीमदत्त नगरपालिका–६ शिव मन्दिरबाट ऐठपुरका २० वर्षीय सागर तिरुवा र २८ वर्षीय महेन्द्र बोहरालाई खैरो हिरोइन नियन्त्रणमा लिएको थियो।

यस्तै शुक्रवार (असार ४ गते) बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट २४ वर्षीय अनिल राना र २४ वर्षीय जन्मकुमार रानालाई पनि खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको थियो।

यी घटना पछिल्ला केहि उदाहरण मात्र हुन्। कञ्चनपुर प्रहरीले पछिल्लो समय लागु औषधमा संलग्न दैनिक २–३ जनालाई पक्राउ गरिरहेको तथ्यांकले देखाउँछ।

असार १ गते बेलौरी नगरपालिका–८ कलकत्ताबाट कृष्णपुर नगरपालिका–९ राजाघा बस्ने २४ वर्षीय लालबहादुर ऐर र २२ वर्षीय चन्द्रबहादुर साउँद खैरो हिरोइनसहित प्रहरीको फन्दामा परेका थिए।

सोही दिन बेलौरी नगरपालिका–६ विद्यानगरबाट शुक्लफाँटा नगरपालिका–१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाँडी गाउँपालिका–२ का २५ वर्षीय रणबहादुर चौधरीलाई पनि प्रहरीले खैरो हिरोइनसहित नियन्त्रणमा लिएको थियो।

लागुऔषधले समाजमा अपराधिक घटना बढाएकोले त्यसलाई निस्तेज पार्न लागुऔषध नियन्त्रणका लागि अभियान चलाइएको कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले बताउँछन्।

‘खुला सीमाका कारण लागुऔषध यहाँको प्रमुख समस्याको रुपमा रहेको छ। यसले समाजमा अपराधका घटना बढाउँछ,’ उनले भने, ‘त्यसलाई कम गर्न अहिले हामीले लागुऔषध नियन्त्रण अभियान चलाएका छौँ।’

प्रहरीको सक्रियताले लागुऔषध सेवन गर्ने र ओसारपसारमा संलग्न धेरैलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए।

लागुऔषध नियन्त्रणका लागि भारतबाट ल्याएर लागुऔषध सेवन गर्ने र बेच्नेहरुको पहिचान गरेर निरन्तर निगरानी, नाकामा चेकजाँचमा कडाइ तथा सादा पोसाकका प्रहरी परिचालन गरिएका छन्।

‘विगतभन्दा अहिले लागुऔषधसम्बन्धी गतिविधि धेरै नियन्त्रणमा आएको छ। लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिएर सक्रिय हिसाबले लागेका छौँ,’ उनले भने।

लागुऔषध सेवनकर्ता र कारोबारीको सञ्जाल ठूलो रहेकाले मानिसहरु कति संख्यामा यसमा संलग्न छन् भनेर एकिन गर्न कठीन रहेको र खुला सीमाका कारण लागुऔषध नियन्त्रणमा चुनौती रहेको उनको भनाइ छ।

लागुऔषध नियन्त्रणमा देखाएको सक्रियताले समाजमा ठूला अपराधिक घटना पनि घटिरहेको प्रहरीको निष्कर्ष छ।

कञ्चनपुरमा भारतको पिलिभित, खटिमालगायत सीमावर्ती बजारबाट लागुऔषध ओसारपसार हुने गरेको छ। कञ्चनपुरमा भारतसँग जोडिएको १२९.५ किलोमिटर खुला सीमा छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट सरुवा भएर एसपी चतुर्वेदी २०७७ माघ २ गते कञ्चनपुर आएका थिए। उनी आएपछि कञ्चनपुरमा लागुऔषध कारोबारमा संलग्न १ सय ४३ जना पक्राउ परेका छन्।

Kanchanpur Police Office 1

लकडाउनको अवधिमै ७५ जना पक्राउ
कोरोनाको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

भारतबाट आउने मानिसले संक्रमण फैलाउन सक्ने जोखिमलाई मध्यनजर गर्दै गड्डाचौकी नाकासहित जिल्लाका नाका पनि बन्द थिए।

निषेधाज्ञा कार्यान्वयनको ठूलो जिम्मेवारीका साथ सडकमा व्यस्त रहेका बेला पनि प्रहरीले लागू औषध विरुद्धको अभियानलाई जारी राखेको थियो।

कञ्चनपुर प्रहरीले लकडाउनको अवधिमा लागुऔषधको कारोबारमा संलग्न ७५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार बैशाखमा २७ जना, जेष्ठमा ३९ जना लागुऔषध सहित पक्राउ परेका छन्। यस्तै असारको पहिलो सातामा ९ जना लागु औषध कारोबारी प्रहरीको फन्दामा परे।

११ महिनामा १ सय ९५ जना प्रहरीको फन्दामा
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको अहिलेसम्म लागु औषधमा संलग्न १ सय ९५ जना पक्राउ परेका छन्। यस्तै १ सय २० मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्ष (२०७६/०७७) मा ७५ मुद्दा दर्ता भएका थिए।

डीएसपी थापाका अनुसार आर्थिक वर्ष २०७७/०७८ को साउनमा १८, भदौमा १४, असोजमा एक, कार्तिकमा ११, मंसिरमा ३, पुसमा १४, माघमा १७, फागुनमा २६, चैतमा २५, बैशाखमा २७ र जेठमा ३९ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा १ सय ९१ पुरुष (९ भारतीय नागरिक) र ४ जना महिला रहेका छन्।

उनीहरुको साथबाट अहिलेसम्म २ केजी ५ सय ६९ ग्राम ४ सय ६५ मिलिग्राम चरेश, ८ सय १२ ग्राम ९ सय ८६ मिलिग्राम ब्राउन सुगर, नाइट्रोभेट ६ सय ३० ट्याब्लेट, १ सय ९६ स्पास्मो, ट्रामाडोल ६ सय र कोरेक्स ६ ट्याब्लेट बरामद गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .