ad ad

समाज


कञ्चनपुरका बाढीपीडित : त्रिपालमुनि बास, खानलाई छैन गाँस

कञ्चनपुरका बाढीपीडित : त्रिपालमुनि बास, खानलाई छैन गाँस

गोकुल जोशी
असार ५, २०७८ शनिबार १४:१४,

तौला राना कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित विष्णुटोलमा बस्छन्। तौलाको परिवारमा तीन छोरा, दुई छोरी, बुहारी र दुधे नाती छन्। उनी महाकालीमा गिट्टी, बालुवा छानेर आफ्नो जीविको पार्जन गर्ने गर्छन्।

महाकाली नदीको किनार रहेको विष्णु टोलमा तौलाको जस्तै दैनिक बिताउने १० परिवार छन्। यो बस्तीका मानिसले महाकाली नदीका कारण हिजो आज घरमा न राम्रोसँग सुत्न नै पाएका छन् न खान नै।

पहाडी भेगमा निरन्तर वर्षा भइरहेकोले महाकाली नदीमा पानीको बहाव बढेसँगै विष्णु टोलबासी हैरान भएका छन्। महाकालीको बाढी गाउँ पसे पछि विष्णु टोल डुबानमा परेको हो।

विष्णु टोलबासी १० परिवारका करिब ५० जना मानिस डुबान पछि विचल्लीमा परेका छन्। महाकालीको बाढी घर भित्र पस्दा घरभित्र भन्डारण गरिएको सम्पूर्ण रासनमा क्षति पुगेको तौला राना बताउँछन्।

‘रासन पानीमा डुबेर के खाउँ भन्नु भएको छ। घरभित्र पानी पसेकाले सुत्न सकिने अवस्था पनि छैन्,’ उनले भने, ‘हिजो दिउँसोदेखि कति बेला के हुन्छ भनेर सुत्न नै पाएका छैनौं।’

बाढीले रासन र बस्ने घरमा क्षति पुगे पछि आफूहरु बिचल्लीमा परेको मनोज सुनाहाले गुनासो गरे।

‘दुई दिनदेखि केही खाएका छैनौँ। भोक भोकै रात बिताउनु परेको छ। घरभित्र पानी पसेर सुत्न पनि सकेका छैनौँ,’ उनले भने, ‘किनारमा त्रिपालमुनी रात काट्नु परेको छ।’

mahakali pida2

वडादेखि नगरपालिकाका टोलीले पनि अनुगमन गरेको तर उद्धार र राहतका लागि अहिलेसम्म कोही पनि नआएको उनको गुनासो छ।
महाकाली पुल आयोजनाले स्थानीय तहसँग समन्वय नै नगरी बाँध बनाए पछि महाकालीको पानी गाउँ पसेको भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्ण सिंह देउपाले बताए।
‘भुजेला खोलालाई आधार नमानी हामीहरुसँग समन्वय नै नगरी महाकाली पुल आयोजनाले निर्माण गरेको बाँधमा पानी भरिए पछि बाढी गाउँ पसेको हो,’ उनले भने, ‘२०७६ सालदेखि हामी आयोजनासँग बाँध हटाउन भनिरहेका छौँ तर मानिरहेका छैनन्। यसले अझै जोखिम बढाउँछ।’

यद्यपी अहिले महाकाली नदीको पानी भुजेला खोलातर्फ मोड्ने बाँध हटाएकाले भुजेला खोलामा महाकाली नदीको पानी आउन रोकिएको उनले जानकारी दिए।

डुवानमा परेका १० परिवारलाई जनता प्राथमिक विद्यालयमा राख्ने तयारी भइरहेको उनले बताए। ‘राहात तथा खाना, बस्नको व्यवस्था मिलाउन म प्रयास गरिरहेको छु। अहिले उहाँहरुलाई विद्यालयमा राख्ने तयारी भइरहेको छ,’ उनले भने।

महाकाली नदीमा पानीको वहाव कायमै रहे अझै बाढी गाउँ पस्न सक्ने जोखिम छ।

निर्माणाधीन पुलको बाँध भत्कियो
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अस्थायी बाँध भत्किएको छ।

नदीमा पानी बहाव निरन्तर बढ्दै गए पछि पुलको अस्थायी बाँध भत्किदा पुलमा आवातजावत बन्द भएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लाल बहादुर शाहीले बताए।

पुल निर्माणको लागि बाँध महत्वपूर्ण रहेकाले त्यहीँ नै भत्किन थाले पछि पुल काममा अवरोध सृजना हुन सक्ने पुल आयोजनाका इन्जिनियर किशोर पाण्डेयले बताए।

‘पुलको काममा प्रयोग भएका गाडीहरु बाँध भएर चल्थे। त्यहीँ भत्किए पछि धेरै क्षति भएको छ।’ उनले भने।
महाकाली पुलको अस्थायी बाँध भत्किए पछि तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सजग हुन आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .