नेपाली कांग्रेस निकटको इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरुमा निःशुल्क रुपमा स्वास्थ्य उपकरणको मर्मतसम्भार गरिदिन थालेको छ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले कोभिड–१९ को महामारीको समयमा विभिन्न अस्पतालहरुको कोभिडसँग सम्बन्धित उपचारमा आवश्यक उपकरणहरुको मर्मतसम्भार गरिदिन थालेको हो।
कतिपय अस्पतालमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, मनिटर, आईसीयूमा प्रयोग हुने विभिन्न उपकरणहरु चलाउन नजानेको अवस्थामा अथवा बिग्रिएको अवस्थामा बायोमेडिकल इन्जिनियरहरुको समूहले निःशुल्क मर्मत सम्भार गरिरहेको छ।
इन्जिनियरहरुको समूहका एक इन्जिनियर आस्था न्यौपानेले सबै प्रदेशमा २ जना फोकल पर्सन तोकेर काम शुरु गरिएको र केन्द्रमा १५ जनाको केन्द्रीय समिति बनाइएको बताइन्। कतिपय अवस्थामा प्रयोगकर्ताले स्वास्थ्य उपकरण चलाउन नजानेर समस्या देखिने गरेको भन्दै आफूहरुले आवश्यक अस्पतालमा पुगेर सहजीकरण गरिदिने गरेको उनले बताइन्।
इन्जिनियरहरुको उक्त समूहले मंगलबार ललितपुरस्थित सर्वाङ्ग अस्पतालमा रहेको भेन्टिलेटरको समस्यालाई अस्पताल मै आइ समाधान गरिदिएको इन्जिनियर उत्तम श्रेष्ठले जानकारी दिए। सर्वाङ्ग अस्पतालको भेन्टिलेटर हाल प्रयोग गर्न योग्य भएको उनले बताए।
हाल नेपालको ७५ प्रतिशत अस्पतालहरुमा बायोमेडिकल इन्जिनियरहरु नभएको भन्दै इन्जिनियर श्रेष्ठले अहिलेको परिवेशमा अस्पतालहरुमा वायोमेडिकल इन्जिनियरहरुले सहयोग गर्नुपर्ने अवस्था आएको बताए। रासस
प्रतिक्रिया