नेपालले खरिद गरेको बाँकी १० लाख डोज खोप भारतबाट एक महिनाभित्रै ल्याउन छलफल सुरु गरिएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले यस विषयमा सरकारी अधिकारी, व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिसँग छलफल सुुरु गरेको हो।
कोरोना महामारीका कारण भारत सरकार र त्यहाँको सर्वोच्च अदालतले समेत खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले खरिद गरेको १० लाख डोज खोप पनि रोकिएको छ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठसँग भेट गर्दै प्रतिबन्ध फुकुवा हुनासाथ खोप पाउने देशमा नेपाल पहिलो प्राथमिकतामा पर्ने जानकारी गराएका छन्।
‘उपप्रधानमन्त्रीज्यू र नेपालका लागि भारतीय राजदूतबीच भेट हुँदा खोपको विषयमा पनि कुराकानी भएको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालखबरसँग भनिन्, ‘भारतको सर्वोच्च अदालतले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतमा परिस्थिति राम्रो भएपछि त्यसमाथि पुनर्विचार हुने र खोप निर्यात गर्दा नेपाल प्राथमिकतामा पर्ने जानकारी प्राप्त भएको छ।’
उनका अनुसार छलफलमा भारतीय पक्षले भारत सरकार र अदालतले खोप निर्यातमा प्रतिबन्ध लगाउनुअघि नै नेपालले खरिद गरेका कारण १० लाख डोज खोप उपलब्ध गराउन पहल भइरहेको जानकारी गराएको छ।
‘पछिल्लो समय हामी आफैं पनि कोरोनाबाट नराम्रोसँग प्रभावित छौं। नेपाल पनि त्यत्ति नै प्रभावित छ। खोपको आवश्यकता देखिएको छ,’ एक अधिकारीले नेपालखबरसँग भने, ‘चीनले पछिल्लो समय खोप सहयोग गरेको तर रकम तिरिसकेको खोप पनि भारतबाट नआएको भन्दै आम मानिसमा नकारात्मक धारणा निर्माण भइरहेको भन्दै भारतीय पक्ष चिन्तित देखिन्छ।’
भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण नेपालको खोप अभियान नराम्रोसँग प्रभावित भएको छ। कोभिसिल्डको पहिलो डोज लगाएका १४ लाख नेपालीले दोस्रो डोज लिने समय भइसक्दा पनि लगाउन पाएका छैनन्। नेपालले भारतबाट जम्मा २० लाख डोज कोभिडसिल्ड खरिद गरेको हो। त्यसमध्ये १० लाख डोज खोप ल्याउन बाँकी छ।
खोप निर्यातमा लगाइएको रोक खुला हुनासाथ भारत सरकारले थप १० लाख डोज खोप अनुदान दिने विषयमा समेत छलफल भएको छ।
’सुरुमा भारतले खोप दिँदा आम मानिसमा खोपप्रति त्यति चासो थिएन। कोरोनाको दोस्रो लहरपछि भने खोपप्रति चासो बढेको छ,’ पछिल्लो समय भारतीय अधिकारीसँग छलफलमा रहेका एक अधिकारीले भने, ‘भारत थप खोप दिएर भारत चीनले भन्दा बढी सहयोग नेपाललाई दिन चाहन्छ।’
चीनले नेपाललाई दुईपटक गरेर १८ लाख डोज खोप सहयोग गरिसकेको छ। नेपालले चीनबाट थप ५० लाख डोज खोप खरिद पनि गर्दै छ। जसमध्ये पहिलो चरणमा १० लाख डोज असारभित्र ल्याइने सरकारका अधिकारीले बताएका छन्।
नेपालले अमेरिका, बेलायत, भारत, रुस र चीनलाई पत्र पठाउँदै खोप उपलब्ध गराउन आग्रह गरेको छ। अमेरिकाले एसियाका १६ देशलाई ७० लाख डोज खोप दिने घोषणा गरे पनि नेपालको भागमा कति पर्छ भन्ने स्पष्ट पारेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा भारतबाट जति सहयोग हुनुपर्ने हो, त्यति नभएको भन्दै असन्तुष्टि जनाएका थिए।
गत महिना भारत कोरोनाको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित हुँदा सरकारले आफ्ना नागरिकलाई ध्यान नदिएर खोप निर्यात गरिरहेको भन्दै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भइरहेको थियो।
भारतले माघको दोस्रो साता नेपाललाई १० लाख डोज खोप उपलब्ध गराएको थियो।
प्रतिक्रिया