शुक्रबारदेखि काठमाडौं उपत्यकामा खाद्य सामाग्री पनि किन्न नपाइने भएको छ। सरकारले एक साता निषेधाज्ञा थप गर्दै ठप्प पार्ने निर्णय गरेको छ।
यो बीचमा हिँडडुल र सवारीसाधान सञ्चालनमा पनि कडाइ गरिएको छ। तर खाद्य सामाग्री नै किन्न नपाइने निर्णयको भने धेरैले विरोध गरेका छन्।
निर्णय गर्ने प्रमुख जिल्ला अधिकारीहरु भने एक साताका लागि पहिले नै किन्नु पर्ने बताउँछन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘अब दुई दिन अहिलेकै अवस्थामा निषेधाज्ञा कायम रहन्छ। एक साताका लागि यहीबीचमा खाद्य सामाग्री किनिसक्नु पर्यो।’
उपत्यकामा पछिल्ला केही दिनदेखि निरन्तर संक्रमण दर घट्दै गएकाले एक हप्ता ठप्प पारेर चेन ब्रेक गर्न खोजिएको प्रजिअ पराजुलीले बताए।
‘अहिले पनि धेरै क्षेत्र बन्द नै छन्। एकहप्ता अलि कडाइ गरेर झन नियन्त्रणतर्फ गयो भने थप क्षेत्रहरु खुल्ला गर्दै जान सकिन्छ भनेर हो,’ प्रजिअ पराजुलीले भने, ‘यो एक हप्ता हेरौँ कस्तो हुन्छ। त्यसको आधारमा थप निर्णय गर्नुपर्छ। खाद्य पसलहरु त त्यसपछि खोल्नैपर्छ।’
खाद्य सामाग्रीका लागि लामो समय बन्द गर्दा नागरिकलाई समस्या पर्छ भनेर नै एक हप्ता मात्रै निषेधाज्ञा थप गर्ने निर्णय भएको उनले बताए। तत्काल नष्ट हुने फलफूल तथा तरकारी पसलहरु भने यो अवधिमा पनि बिहान सञ्चालन हुनेछन्।
‘केही दिनपहिले त्यस्तो भयावह अवस्था थियो। बिरामीको व्यवस्थापनदेखि शव समेत व्यवस्थापनमा समस्या भएको थियो। अहिले केही सशज भएको छ यसलाई बढ्न दियो भने हामीले धान्न सक्दैनौँ। त्यही भएर यस्तो निर्णय गरेका हौँ,’ पराजुलीले नेपालखबरसँग भने।
वैशाख १६ गतेबाट लगातार निषेधाज्ञा जारी छ।
प्रतिक्रिया