ad ad

समाज


स्वास्थ्य सुधार भइसकेका संक्रमितको पनि किन भइरहेछ अचानक मृत्यु?

स्वास्थ्य सुधार भइसकेका संक्रमितको पनि किन भइरहेछ अचानक मृत्यु?

उजिर कार्की
जेठ ५, २०७८ बुधबार १६:९,

वीरगन्जका श्याम गुप्ता जेठ २ गते कोरोनामुक्त भएर अस्पातलबाट घर फर्किन्छन् भन्ने आशा परिवारलाई थियो।

अघिल्लो दिन भेट्दा गुप्ताले अब भोलितिर डिस्चार्ज हुन्छु भनेका थिए। उनलाई डाक्टरले ‘भोलिपल्ट चेक गर्ने र रिपोर्ट नेगेटिभ आए तपाईं घर जान सक्नुहुन्छ’ भनेका रहेछन्।

उनले त्यहीअनुसार भोलि घर आउने आफन्तलाई जानकारी गराए। गुप्ताका दुई साना बच्चालाई पनि कोरोना संक्रमण भएको थियो। घरमै बसेर उनीहरु निको भए। तर, पहिलो डोज खोप पनि लगाइसकेका गुप्तालाई भने अस्पताल नै भर्ना गर्नुपर्‍यो।

वैशाख १५ गते मात्रै पहिलो डोज खोप लगाएका उनलाई १८ गते परीक्षण गर्दा कोरोना संक्रमण देखियो।

गुप्ताका साथी राजेन्द्र अधिकारी भन्छन्, ‘सुरुमा उहाँलाई शिक्षण अस्पतालमा राखिएको थियो, तर अक्सिजन चाहिने भएपछि अन्यत्रै सार्नुपर्ने भयो।’

पछि गुप्तालाई विनायक अस्पतालमा सारियो।

अस्पतालमा पुगेपछि उनले आफूलाई ठिक हुँदै गएको बताए। न्युरोडमा आईटी व्यवसाय गर्ने गुप्तालाई भेट्न जेठ १ गते उनको पसलमा काम गर्ने कर्मचारी अस्पताल पुगे। उनीहरुसँग अब ठिक भएको बताए।

तर त्यही रातिदेखि उनलाई थप गाह्रो भयो। अस्पतालमा आईसीयू बेड थिएन। बेड खोज्दाखोज्दै २ गते दिउँसो २ बजेतिर उनको प्राण गयो। अस्पतालले भनेकै समयमा डिस्चार्ज त गर्‍यो, तर प्राणबिना।

वैशाख ८ गते पाल्पाका हरि नेपालले मेडिसिटी अस्पतालको शय्याबाटै फेसबुकमा लेखे, ‘अब एक दुई दिनमा पीसीआर टेस्ट गरेर घर फर्किने तरखरमा छु।’

सँगै उनले आफ्नो उपचार भइरहेको तस्बिर पनि सार्वजनिक गरे। त्यसको ८ दिन पहिले उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा ८ दिनको उपचारपछि डाक्टरले उनलाई अब ठिक हुन्छ भनेका थिए। उनले पनि केही सहज महसुस गरेरै अब छिट्टै घर फर्किने सन्देश छाडेका थिए। तर उनी डिस्चार्ज भएर घर फर्किएनन्। वैशाख २१ गते कोरोनाले ज्यान लियो।

उनी बनेपामा आगन्तुक रिसोर्ट सञ्चालन गर्थे।

त्यसैगरी, टेन्सबर्ग उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको बिहीबार निधन भयो।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराई डिस्चार्ज गर्ने समयमा उनको निधन भएको हो।

कोरोना संक्रमण देखिएपछि उनी लामो समयसम्म अस्पतालमा भर्ना भएका थिए। तर केही दिनअघि उनको रिपोर्ट पनि नेगेटिभ आइसकेको थियो।

निको हुँदै गएका संक्रमितको अचानक ज्यान किन जान्छ भन्ने प्रश्न हामीले टेकु अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला र ग्रान्डी अस्पतालका क्रिटिकल केयर युनिट प्रमुख डा. प्रभात अधिकारीसँग राखेका थियौँ।

टेकू अस्पतालमा पनि स्वास्थ्यमा सुधार भइसकेका बिरामीको अचानक मृत्यु भएको डा. बास्तोलाले बताए।

‘मुख्य गरेर एउटा जटिलता हुन्छ, दोस्रो चरणमा रगत जम्ने प्रक्रियामा जान्छ, फोक्सोमा रगत जम्न थाल्छ। रगत जमेका कारण अक्सिजन साटासाट हुन पाउँदैन र त्यो अवस्थामा फ्याट्ट ज्यान जान सक्छ,’ सो अस्पतालका प्रवक्ता समेत रहेका डा. बास्तोला भन्छन्, ‘कहिलेकहिँ हाम्रो स्थायी आर्टरी (नलि) हुन्छ, फोक्सोसँगै जोडिएको स्थायी आर्टरीमा रगत जम्न सक्छ। त्यस्तो भयो भने मान्छेको चाँडै ज्यान जान सक्छ।’

उनले अस्सिजनको मात्रा अस्वभाविकरुपमा कम भयो भने हाइपोक्समिया भन्ने जटिलता देखिने र त्यो धेरै भयो भने ‘हाइपोक्समिया इन्जुरी’ हुने बताए।

त्यस्तो अवस्थामा पनि बिरामीको ज्यान जान सक्ने उनकाे भनाइ छ।

‘सानो नलिमा रगत जम्छ, कहिलेकहिँ ठूलोमा पनि गइदिन्छ यो अवस्थामा अचानक ज्यान जान्छ,’ उनले भने।

अर्को हर्टअट्याक (हृदयघात) को समस्या पनि देखिएको डा. बास्तोलाले बताए।

‘मुख्यगरी पल्मोनरी एल्मोनिजमका कारण सडनडेथ (अचानक मृत्यु) भएको धेरै देखिएको छ। हाम्रो अस्पतालमा पनि यस्तै कारणले राम्रो सुधार भइसकेका बिरामीको पनि मृत्यु भएको छ। धेरै ठाउँमा अनुमान नै गर्न सकिँदैन,’ उनले भने।

उनका अनुसार फोक्सोमा रगत जमेर ज्यान गएको हुन सक्छ। एक्सरेमा पनि यो अवस्थामा सामान्य नै देखिन सक्छ। डाक्टरले थप खोजी गर्नुपर्ने उनको सुझाव छ।

डा. अधिकारीका अनुसार सुरुमा संक्रमण भएपछि निमोनिया हुन्छ। निमोनिया ठिक भएन भने एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) हुनसक्छ। यसबेला जटिलता उत्पन्न हुनसक्ने उनको भनाइ छ। भाइरसले भन्दा पनि शरीरकै रोग प्रतिरोधात्मक प्रणालीका कारण यस्तो हुने उनी बताउँछन्।

यसको तेस्रो चरणमा पुगिसकेपछि फोक्सोमा रगत जम्न थाल्ने र अचानक बिरामीको मृत्यु हुनसक्ने उनले बताए।

यसबाट बचाउने विभिन्न उपाय चिकित्सकीय मार्गनिर्देशिकामा उल्लेख भएको डा. अधिकारीले बताए।

अस्पतालबाट घर फर्किएका बिरामीलाई प्रशस्त पानी पिउन र व्यायाम गर्न उनले सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .