कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गएपछि कैलालीमा लकडाउन लागू गर्ने तयारी भएको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि कैलालीमा लकडाउन लगाउन यहाँको प्रशासनले गृहकार्य थालेको हो। कोरोना संक्रमण र त्यसबाट मृत्यु बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए।
‘बिहान जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठक थियो। संक्रमणलाई मध्यनजर गर्दै बैठकमा एक साता लकडाउन गर्नु उपयुक्त हुने सुझाव आएको छ।’ सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले नेपालखबरसँग भने, ‘आदेशको बारेमा अहिले छलफल भइरहेको छ। बेलुकासम्म आदेश जारी हुन्छ।’
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलालीमा कोरोना संक्रमण बढ्दो छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा तीन सय १० जना कोरोनाका संक्रिय संक्रमित छन् भने अहिलेसम्म ३३ जनाको निधन भएको छ।
संक्रमणलाई मध्यनजर गर्दै यसअघि कञ्चनपुर र कैलालीमा राति ८ बजेदेखि ५ बजेसम्म घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको थियो।
प्रतिक्रिया