ad ad

समाज


काठमाडौँ हुँदै तेस्रो मुलुक जाने भारतीय बढेपछि नेपालमाथि हवाई प्रतिबन्धको खतरा

काठमाडौँ हुँदै तेस्रो मुलुक जाने भारतीय बढेपछि नेपालमाथि हवाई प्रतिबन्धको खतरा

उजिर कार्की
बैशाख १, २०७८ बुधबार १४:२५,

भारतीय श्रमिकले नेपाली विमानस्थल प्रयोग गरेर रोजगारीका लागि तेस्रो मुलुक जान थालेपछि ती मुलुकले नेपालमाथि हवाई प्रतिबन्ध लगाउने जोखिम बढेको छ।

कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न देशले भारतसँगको उडानमा प्रतिबन्ध लगाएका छन्। आफ्नो देशको उडान रोकिएसँगै भारतीय नागरिकहरु नेपाल भएर तेश्रो मुलुक जान थालेका छन्।

यहीकारण श्रम गन्तव्य मुलुकले नेपालसँग उडानमा पनि प्रतिबन्ध लगाउने सम्भावना बढेको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन्।

पछिल्ला दुई सातामा नेपालबाट सयौँको संख्यामा भारतीय नागरिक साउदी, यूएई लगायतका देशमा पुगेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जोखिम बढ्दै गए नेपालमा पनि हवाई सेवा प्रभावित हुने बताए।

‘भारतमा प्रतिबन्ध लागेको छ, बंगलादेशले पनि पछिल्लो एक साताका लागि काठमाडौं आउने उडानमा प्रतिबन्ध लगाएको छ। नेपालमा जुन सिनारियो बढ्दै गएको छ, हजार, १५ सय नाघेपछि उडान प्रभावित हुने देखिन्छ,’ उनले भने।

सरकारले नेपालमा दैनिक ११ हजारसम्म कोरोना संक्रमित हुने आकलन गरेको छ। अहिले भारतीय नागरिक पीसीआरको नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने र नेपालबाट पनि जाने बेलामा पीसीआरको रिपोर्ट पेस गर्ने प्रवक्ता क्षेत्रीले बताए। अझै पनि जोखिम हुने भएकाले पीसीआर र क्वारेन्टिनमा राख्ने विषयमा कडाइ गर्नुपर्ने प्राधिकरणको सुझाव छ।

भारतमा स्थिति भयावह बन्दै जाँदा सिमानामा कडाइ गर्नुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन्। तर, अहिले बिनारोकटोक मानिसहरु ओहोरदोहोर गरिरहेका छन्। सरकारले नेपालमा भीडभाड नगर्न आग्रह गरिरहँदा नेपालस्थित भारतीय दूतावासमा नो अब्जेक्सन लेटर लिनेको भीड लागेको छ।

Indian workers 1नो अब्जेक्सन लेटर लिन काठमाडौंस्थित भारतीय दूतावासमा लाइन लागेका भारतीय नागरिक

नेपाल हुँदै तेश्रो मुलुक जान एनओसी लेटर अनिवार्य चाहिन्छ। भारतीय दूतावासले एनओसी लेटर लिएर आउनेलाई नरोक्न अध्यागमन विभागलाई भनिसकेको छ।

जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षितले पनि जोखिम बढ्न नदिन मापदण्ड पालना गर्नु पर्ने तर सेवा रोक्न नहुने बताए। उनले विदेशी नागरिककै कारण नेपालमा जोखिम बढेको नभई यहाँ जोखिम कायम रहेकाले स्वास्थ्यको मापदण्ड पालना गर्न छाड्न नहुने बताए।

कोरोनाविरुद्धको खोप समेत नेपालमा आइसकेकाले यसलाई थप बिस्तार गर्नु पर्ने उनको सुझाव उनको छ। खाडी मुलुक आफैँ समस्यामा रहेकाले पीसीआर गरेर त्यहाँ जान अवरोध गर्न नहुने बताए।

यसैबीच भारतीय नागरिक नेपालबाट जान थालेपछि साउदी अरब जाने हवाई टिकटको मूल्य बढेको छ। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले पहिले भन्दा दोब्बरले बढेर साउदीको हवाई टिकट ७५ हजार रुपैयाँसम्म पुगेको बताए।

जसका कारण नेपाली श्रमिक समेत प्रभावित भएको उनले बताए। नेपालको बाटो प्रयोग गरेर भारतीय जान थालेपछि नेपाली श्रमिकलाई पनि आर्थिक भार बढेको उनको भनाइ छ।

भारतीयलाई प्रतिबन्ध लागेको अवस्थामा नेपाली श्रमिक थप संख्यामा पठाउन सकिने भएपनि माग पत्र स्वीकृत नहुँदा पठाउन नसकिएको महासचिव श्रेष्ठले बताए।

अहिले नेपालबाटै दैनिक डेढ सय बढी भारतीय नागरिक साउदी अरब गइरहेका छन्।

गत चैत १९ (अप्रिल १) देखि ३० गते सोमबारसम्म मात्रै ३ हजार ५४ जना भारतीयले नेपाली विमानस्थल प्रयोग गरेका छन्। तीमध्ये १ हजार ११ जना भारत नै गएपनि बाँकी तेश्रो मुलुक पुगेका छन्। सोमबारसम्ममा १ हजार ६ सय ९४ जना साउदी अरब उडेको अध्यागमन विभागले जनाएको छ।

यस्तै ५५ जना यूएई र बाँकी २९४ जना अन्य मुलुक उडेका छन्।

यो पनिः
१२ दिनमै नेपालबाट साउदी उडे १७ सय भारतीय, दूतावासद्वारा नरोक्न आग्रह

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .