कच्चा युरेनियमसहित पक्राउ परेकामध्ये तीन जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश जिल्ला अदालतले दिएको छ।
जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि बिहीबार एक जनालाई धरौटीमा छाड्न र बाँकी तीन जनालाई थुनामा केन्द्रीय कारागार पठाउन आदेश दिएको हो।
जिल्ला न्यायाधीश कृष्णजंग शाहले रामेछापका जानुका तामाङ, नारायणसिंह तामाङ र प्रकाश चौहानलाई थुनामा राख्न आदेश दिएका हुन्। अर्का अभियुक्त सिन्धुलीका मनोज न्यौपाने भने दुई लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
उनीहरुविरुद्ध रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अनुसार ७ देखि १२ लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १० वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। गत फागुन २७ गते किनबेच गर्न लागेको अवस्थामा प्रहरीले २ किलो ५ सय ग्राम पदार्थसहित चार जनालाई पक्राउ गरेको थियो।
जानुकाले २०५० सालमा ससुरा अम्बरबहादुर तामाङले भारतबाट सो पदार्थ ल्याएको बताएकी छन्।
अम्बरबहादुर भारतको बिहारस्थित हिन्दुस्थान कपर लिमिटेडको रेखा कपर प्रोजेक्टमा काम गर्थे। २०५० सालमा जागिर छाडेर नेपाल फर्किंदा कम्पनीले उनलाई एक बोरा तामा, पितल र युरेनियमयुक्त पदार्थ दिएको बताइएको छ।
अरु सामान भारतमै छाडेका अम्बरबहादुरले उक्त पदार्थ भने लिएर आएका थिए। २७ वर्ष पहिले ससुराले ल्याएको पदार्थ बेच्न खोज्दा बुहारी जानुका भने जेल परेकी छन्।
जानुकाको बयान यस्तो छः
म विसं २०५६ सालमा कृष्ण पाख्रिनसँग विवाह गरी काठमाडौं महानगरपालिका ६ बौद्धमा बस्दै आइरहेकी छु। हाल मेरो पति वैदेशिक रोजगारको सिलसिलामा अमेरिकामा बस्नुहुन्छ।
श्रीमान् अमेरिकामा बस्ने भएकाले म छोराछोरीलाई पढाएर बौद्धमा बस्दै आइरहेकी छु। विवाहपश्चात मेरो ससुरा अम्बरबहादुर लामासँग कुराकानी गर्ने क्रममा ससुरा अम्मरबहादुर लामाले भारतको बिहार सङबुङमा रहेको हिन्दुस्थान कपर लिमिटेडको रेखा कपर प्रोजेक्टमा निजले काम गरेको र २०५० सालमा जागिर छोड्ने बेला कम्पनीले ससुरालाई एक बोरा तामा पित्तल तथा युरेनियमयुक्त पदार्थ दिएको रहेछ।
सो पदार्थ ससुराले भगपानको मूर्तिमा हाल्न काम लाग्छ भनेर अरु सामान भारतमै छाडेर यो सामानचहिँ घर ल्याउनु भएको रहेछ। ससुरा आजभन्दा ४ वर्ष अगाडिदेखि अमेरिकामा बस्दै आइरहनु भएको छ।
ससुरा अमेरिका गइसकेपछि सो युरेनियमजस्तो पदार्थ मैले घरको पानी ट्याङ्की राख्न बनाइएको सिमेन्टले ढलान गरिएको स्ल्याप भित्र हरियो बिर्को भएको प्लाष्टिकको भाँडाभित्र लुकाएर राखेको थिएँ।
मसँगै पक्राउ परेका मेरो देवर नारायणसिंह तामाङ पनि बेलाबखत आउने जाने गर्नुहुन्थ्यो। नारायणसिंह तामाङ जिल्ला रामेछाप धोबीमा मेडिकल पसल सञ्चालन गरी बस्नुहुन्थ्यो। मेडिकलको सामान खरिद गर्न आउँदा उहाँ प्रायः मेरै घरमा बस्ने गर्नुहुन्थ्यो।
उहाँ घरमा आउँदा पुरानो टेलिभिजन, रातो माला जस्ता पुरानो सामानहरु तपाईंसँग छ, छैन भनेर सोध्नुहुन्थ्यो। देवरले पुरानो टीभीमा रातो रङको प्लास्टिकको उपकरण हुने भएकाले धेरै मूल्य पर्छ समेत भन्नुहुन्थ्यो।
देवरले भेटघाट हुँदा पुरानो सामान खोज्ने भएको हुँदा ससुरा अम्बरबहादुर लामाले भारतमा काम गर्ने क्रममा ल्याउनु भएको धुलो पदार्थ देखाउँदा यस्तो पुरानो चिज वस्तु साह्रै मूल्यवान हुनसक्छ, म बजारमा सोधेर पत्ता लगाउँछु भनेर उहाँ रामेछाप जानुभयो।
केही दिनपछि उहाँले मलाई फोन गरी उक्त पदार्थको स्याम्पल पठाइदिनु भनेकाले मैल त्यो सामानमध्येबाट अन्दाजी १ चम्चा जति झिकेर सेतो प्लास्टिकमा प्याक गरेर देवरनारायण सिंह तामाङले रामेछापमा पाउने गरी पठाइदिएँ।
त्यसको ६/७ दिनपछि देवर नारायणसिंह तामाङले मलाई फोन गरी त्यो सामान नेपालमा धेरै मूल्यवान रहेछ भन्नु भयो।
पछि फेरि स्याम्पलका लागि सामान चाहियो भनेर देवर नारायणसिंह तामाङ मेरो घरमा आउनु भयो। सो समयमा उहाँ २ दिन मेरै घरमा बस्नुभयो। २ दिन पछाडि बेलुकाको समयमा फेरि स्याम्पलको लागि १०० ग्राम जति सामान चाहिन्छ भन्नुभयो।
त्यसपछि मैले प्लाष्टिकको भाँडाभित्रबाट अन्दाजी १०० ग्राम जति सामान देवरलाई झिकी प्लाष्टिकमा प्याक गरेर दिएको थिएँ। निजले यसलाई बेच्न सकेमा हामीलाई धेरै पैसा आम्दानी हुन्छ, सामान किन्ने मानिस समेत खोजिसकेको छु भन्नु भएको थियो।
अब हामी सामान बेच्नु पर्छ म घरमा आउँछु भनी मलाई फोन गर्नु भएको थियो। २०७७ फागुन २७ गते बिहान मलाई निज देवर नारायणसिंह तामाङले २ पटक फोन गर्नु भएको रहेछ।
म पूजा गर्दै गरेको हुनाले फोन उठाउन सकिनँ। फोन नउठेपछि अन्दाजी ७ बजेको समयमा मेरै घरको गेटमा आउनु भएको रहेछ।
गेटमा आइसकेपछि मैले गेट खोली माथि चौथो तलामा देवरलाई बोलाएँ। त्यसपछि चिया खाने क्रममा हामीले सोचेको भन्दा धेरै पैसा आउने भयो। सामान आज जसरी पनि बेच्नुपर्छ सामान लिन ग्राहक पैसा लिएर आउँछन् भन्नु भएको थियो। तर पछि प्रहरीले हामीलाई पक्राउ गर्यो र घरको छतको पानी ट्याङ्की राख्न बनाईएको सिमेन्टको ढलान गरिएको सल्याबमुनि रहेको सामान पनि लग्यो।
प्रतिक्रिया