ad ad

समाज


मिथिला मध्यमा परिक्रमा समापन आज, हजारौं सहभागी (भिडिओ)

मिथिला मध्यमा परिक्रमा समापन आज, हजारौं सहभागी (भिडिओ)

शैलेन्द्र महतो
चैत १५, २०७७ आइतबार २:५७,

मिथिलाञ्चलको महाकुम्भ १५ दिने मिथिला माध्यमा परिक्रमा सम्पन्न आज हुँदै छ। आज बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गर्न लागिएको हो।

अन्तरगृह परिक्रमालाई पञ्चकोसी परिक्रमा पनि भनिन्छ। मध्यमा तथा अन्तगृहम परिक्रमामा हजारौं श्रद्धालु सहभागी भएका छन्।

parikramasamapan1

परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्टबाट मुक्ति एवं इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ।

फागुन औसींका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट परिक्रमा सुरु भएको थियो। मिथिलाविहारी (रामजानकी) को डोला जनकपुर ल्याई विभिन्न मठमन्दिरका डोला समाहित गरेर परिक्रमा प्रारम्भ गरिन्छ। फागु पूर्णिमा अर्थात् अजकै दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी यो उत्सव समापन गरिन्छ।

परिक्रमा धनुषा र महोत्तरीका दर्जनौं धार्मिक/ऐतिहासिक स्थानको ९० किलोमिटर र भारतको ३० किलो मिटर गरी १ सय २० किलोमिटर भूभागको यात्रा गरिन्छ।

बृहत्, मध्य र अन्तरगृह गरी ३ प्रकारको परिक्रमा गरिन्छ। तर विभिन्न समस्याका बाबजुद परिक्रमामा सहभागी हुनेको संख्या अहिले पनि उल्लेखनीय छ।

parikramasamapan2

परिक्रममा रामजानकीको डोलासँगै परम्परागत बाजागाजासहित मौलिक पहिरनमा लाखौं नरनारी सहभागी हुने गर्छन्।

१५ दिने परिक्रमाअन्तर्गत क्रमशः जनकपुरको हनुमाननगर, भारत विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल )भारत) र यात्राको अन्तिम दिन अर्थात् १५औं दिन जनकपुरको अन्तरगृहपरिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुन्छ।

परिक्रमामा धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत भारतका सीतामढी, मधुवनी, दरभंगालगायत स्थानबाट हजारौं हजार श्रद्धालु भक्तजन तथा साधुसन्त सहभागी हुन्छन्। प्रायः वृद्ध उमेरका मानिसको बढी सहभागिता हुन्छ। 

टायरगाडा्, साइकल र टाउकोमा बन्दोबस्तीका समान लिएर हरेक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुइँ खनेर चुलो बनाई खाना पकाउनु, भजन/किर्तनलगायत धार्मिक गतिविधि गर्नु परिक्रमामा सहभागीको धर्म हो। यस क्रममा रात्रि विश्राम गर्नै पन्ध्रौं स्थलमा स्थानीयले मेला अयोजना गर्छन्।

त्यस्तै परिक्रमामा सहभागी श्रद्धालु/भक्तजनलाई स्वागत गर्न २ दिन अघिदेखि नै स्थानीयले तयारी थाल्छन्। सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्छन्। अनि पुण्य कमाउन एवं सेवा दिन विभिन्न संघ÷संस्था एवं व्यक्तिले निःशुल्क भोजन, स्वास्थ्य शिविर र आवास व्यवस्था गर्ने गर्छन्।

नेपाल र भारतको सामाजिक सदभावको सेतुका रूपमा रहेको यो परिक्रमाले धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको परिचय दिन्छ। यस वर्ष सम्बन्धित निकाय बृहत्तर क्षेत्र विकास परिषद्, जनकपुरधाम उपमहानगरपालिका र प्रदेश सरकारले समन्वय गरी शौचालय, बिजुली र खानेपानी व्यवस्थापन नगर्दा जनकपुरमा आएका परिक्रमा यात्रीले दुःख झेल्नुपरेको छ।

हेर्नुहोस्, भिडिओ– आइतबार जनकपुरमा अन्तरगृह परिक्रमा गर्दै श्रद्धालु/भक्तजन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .