ad ad

छापा खबर


म्यानमारमा नरसंहार मच्चाइरहेका सेना प्रमुख भन्छन् : गोली तपाईंको टाउको वा ढाडमा पनि लाग्न सक्छ

म्यानमारमा नरसंहार मच्चाइरहेका सेना प्रमुख भन्छन् : गोली तपाईंको टाउको वा ढाडमा पनि लाग्न सक्छ

नेपालखबर
चैत १५, २०७७ आइतबार २:१५,

म्यानमारमा सैनिक कुविरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बर्बर दमन गरेको छ । सुरक्षाकर्मीको गोलीबाट शनिबार मात्रै सयभन्दा धेरैको मृत्यु भएको छ, जसमा चार बालबालिका पनि छन् ।

समाचार एजेन्सी म्यानमार नावका अनुसार शनिबार ‘सशस्त्र बल दिवस’मा विभिन्न ४० सहरमा ठूलो प्रदर्शन भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले मृत्यु भएका प्रदर्शनकारीको संख्या फरक–फरक उल्लेख गरेका छन् । म्यानमार नावले एक सय १४ जनाको मृत्यु भएको बताएको छ भने बिबिसीले कम्तीमा ८९ जनाको ज्यान गएको उल्लेख गरेको छ । याङगुनमा मात्रै २४ जनाको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ ।

म्यानमारकै दोस्रो ठूलो सहर म्यान्डलेमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीको झन्डा बोक्दै प्रदर्शनकारी आन्दोलनमा उत्रिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

न्युज आउटलेट्सले फेब्रुअरीदेखि म्यानमारमा रक्तपातको रिपोर्टिङ गर्नुपरिरहेको उल्लेख गरेको छ । मुख्य सहर याङगुनस्थित अमेरिकन कल्चर सेन्टर क्षेत्रमा पनि गोली चलेको थियो । तर, त्यसमा कोही घाइते वा प्रदर्शनकारीको मृत्यु नभएको अमेरिकी दूतावासले जनाएको छ । याङगुनमा सेनाले गस्ती बाक्लो पारेको छ ।

सेनाद्वारा गरिएको नरसंहारको सर्वत्र विरोध भइरहेको छ । युरोपियन युनियन (इयू)ले बर्बरतापूर्ण दमनले म्यानमारको ‘७६औँ सशस्त्र बल दिवस’कै अपमान भएको उल्लेख गरेको छ। ‘आजको दिन आतंक र बेइज्जतीका रूपमा कुँदिएको छ, केटाकेटीसहितका हतियारविहीन नागरिकको हत्या आपराधिक कार्य हो,’ इयूले भनेको छ।

त्यस्तै, म्यानमारस्थित अमेरिकी र बेलायती दूतावासले पनि विरोध जनाएको छ । बेलायती दूतावासले ‘निःशस्त्र नागरिकलाई गोली हानेर म्यानमार सेना आफ्नै बदनामी’ गरिरहेको प्रतिक्रिया दिएको छ । त्यस्तै, अमेरिकी दूतावासले निहत्था र निर्दोष प्रदर्शनकारीको हत्या भइरहेको बताएको छ । म्यानमारस्थित ह्युमन राइट्स एसियाका प्रतिनिधि फिल रोबट्र्सनले सेनाले गरिरहेको दमनले स्तब्ध बनाएको बताएका छन्।

‘सशस्त्र बल दिवस’का अवसरमा शनिबार सेना प्रमुख मिन आङ लाइङले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले लोकतन्त्र रक्षा गरिरहेको र चाँडै निर्वाचन हुने दाबी गरेका छन् । ‘हामी लोकतन्त्रकै रक्षाका निमित्त काम गरिरहेका छौँ, म्यानमारमा निर्वाचन हुनेछ,’ नेसनल टेलिभिजनबाट सम्बोधन गर्दै सेना प्रमुख मिन आङले भने ।

उनले निर्वाचन कहिले हुने भन्नेचाहिँ खुलाएका छैनन् । सेना प्रमुख मिन आङले प्रदर्शनकारीलाई चेतावनी दिएका छन् । पछिल्ला दिनमा सैनिक कारबाहीमा निधन हुनेको संख्या हेरेर प्रदर्शनकारीले केही सिक्नुपर्ने उनको भनाइ छ । ‘सेनाको गतिविधिपछि अहिलेसम्म प्रदर्शनकारीले केही सिक्नुपर्ने थियो, गोली तपाईंको टाउको वा पछाडि ढाडमा पनि लाग्न सक्छ,’ उनले धम्कीपूर्ण भाषामा भने। सेनालाई गोली चलाउन आदेश नदिएको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .