ad ad

समाज


कोरोनाबाट एकदमै सतर्क हुनुपर्ने अवस्था छ

कोरोनाबाट एकदमै सतर्क हुनुपर्ने अवस्था छ

डा. कृष्णप्रसाद पौडेल
चैत १५, २०७७ आइतबार २:१,

भारतमा धेरै नेपाली बस्नुहुन्छ। धेरै नेपालीको सम्पर्क हुने प्रान्तमा अहिले कोरोना संक्रमण बढिरहेको छ। विगतमा पनि भारतबाटै नेपाल फर्कने दाजुभाइबाट धेरै संक्रमण आयो। सुरुमा सुदूरपश्चिम, प्रदेश २ मा धेरै संक्रमण देखियो। काठमाडौंमा संक्रमण देखिन अलि समय लाग्यो।

यसपालि पनि होली छ, चैते दसैं छ, नयाँ वर्ष छ। सुदूरपश्चिममा यो बेला भारतबाट फर्कने पनि ट्रेन्ड हुँदोरहेछ। नेपाली धेरै भारतमा हुनुहुन्छ। भारतमा लकडाउन भयो, काम गर्ने ठाउँ बन्द भए भने उहाँहरू फर्केर आउनुहुन्छ। यसले गर्दा संक्रमण बढ्न सक्छ भनेर आफूलाई पूर्ण रूपमा तयारी अवस्थामा बस्नुपर्छ भनेर हामी लागेका छौं। अस्पतालहरूलाई त्यहीअनुसार सुसूचित गरेका छौं। तयारी अवस्थामा राखेका छौं। आवश्यक सामाग्रीको जोहो गरिराख्ने र विशेषगरी जनस्वास्थ्यका मापदण्ड पालनामा बढी सचेत भएर लाग्ने हो।

सीमा नाकामै संक्रमण रोक्ने तयारीका साथ काम गरिरहेका छौं। सीमा नाकामा केही संक्रमित भेटिएका छन्। प्रतिशतका हिसाबले त्यो धेरै छैन। संक्रमण बढिसकेको अवस्था छैन। सम्भव भएसम्म सीमा नाकामै एन्टिजेन परीक्षण त्यही गर्ने गरी तयारी मिलाएका छौं। लक्षण भएका, सम्पर्कमा आएकाहरूलाई प्राथमिकतामा राखेर एन्टिजेन परीक्षण गर्दै छौं। सकेसम्म धेरैको परीक्षण गर्ने लक्ष्य छ। धेरैको परीक्षण गरे संक्रमित धेरै पत्ता लाग्न सक्छन्।

नेपाल प्रवेश गर्दा सीमामै मास्क बाँड्ने तयारी गरेका छौं। मास्क मात्रै लगायौं भने संक्रमण सर्नबाट धेरै हदसम्म बच्न सकिन्छ। हामीले पनि नजिकबाट अवस्था हेरेर निगरानी गरिरहेका छौं। सीमा नाकामा संक्रमण देखिएकाहरूलाई व्यवस्थित उपचार त्यहीबाट गर्ने प्रक्रियामा काम गर्दै छौं। हाम्रो उपचारको गाइडलाइनअनुसार सबै संक्रमितलाई अस्पतालमै राख्नुपर्दैन।

दोस्रो लहर आउन सक्छ भनेर हामी सतर्क र तयारी अवस्थामा रहनुपर्ने पक्कै हो। कस्तोसम्म स्थिति होला भन्ने अहिलै आकलन गर्न सकिँदैन। बेलायतमा दुई/साढे दुई महिना दोस्रो लहर रहेको थियो। त्यसो भएमा हामीले पनि अस्पतालको बेड, जनशक्ति, सामाग्री सबै तयारी अवस्थामा राख्नुपर्छ।

भारतमा देखिएको नयाँ भेरिएन्ट हो कि हैन, अझै राम्ररी पुष्टि भएको छैन। हामीले पनि नयाँ भेरिएन्ट हो कि जाँच्न खोज्दै छौं। नयाँ हो भने त्यसले कस्तो व्यवहार देखाउँछ, कति संक्रमण फैलाउँछ त्यसपछि अवस्था कस्तो होला भन्न सकिन्छ।

दोस्रो लहरमा भयावह नहोस् भनेर बेलैदेखि काम गर्न थालेका छौं। हामी एकदमै सतर्क तयारी अवस्थामा रहनुपर्नेछ। सबैले जिम्मेवारी भएर काम गर्नुपर्नेछ। आतंकित भइहाल्नुपर्ने अवस्था छैन। संक्रमण धेरै बढिरहेको अवस्था छैन। परीक्षण हाम्रोमा कम भएको छ। केस इन्भेस्टिगेसन र परीक्षणमा बढावा दिन सबै निकायलाई हामीले निर्देशन दिएका छौं। परीक्षण बढाउने विषयमा सबै पालिका, स्वास्थ्य कार्यालयलाई भनिसकेका छौं। सम्भावित जोखिम क्षेत्रमा बसपार्क, विद्यालय, बजारमा परीक्षण बढाउन भनेका छौं। हामी पनि नियमित फलोअपमा छौं।

लकडाउन गर्ने विषयमा अहिलेसम्म केही कुरो भएको छैन। त्यसको निर्णय सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) ले आवश्यकता हेरेर लिन्छ।

(स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलसँग यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .