ad ad

समाज


बुवा, दुई छोरा र ज्वाइँ नै सामुहिक बलात्कारमा संलग्न, १३ वर्षपछि एक पक्राउ

बुवा, दुई छोरा र ज्वाइँ नै सामुहिक बलात्कारमा संलग्न, १३ वर्षपछि एक पक्राउ

नेपालखबर
चैत १२, २०७७ बिहिबार १६:९,

बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये आज एक अभियुक्त पक्राउ परेका छन्। सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फैसला कार्यान्वयनलाई अभियानका रुपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा आज घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको घटना भएको १३ वर्षपछि आरोपितमध्येका श्यामा पक्राउ परेका हुन्।

घटना २०६४ असोज ९ गते दिउँसो तिलाठी कोइलाडी–५ को बर्साइनस्थित घना काँसघारीमा भएको हो। आरोपित सोही ठाउँका विकु मुखिया, उनका छोरा डोमा भनिने डोमी र श्यामा मुखिया तथा ज्वाइँ तिलाठी कोइलाडी–३ का लोकेन्द्र भनिने जोगेन्द्र मुखियालाई जनही १३ वर्ष कैद सजायको फैसला भएको छ।

गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैँसी चराउन कोशी टप्पु कटैया पलार गएका बेला घटना भएको पीडितकी आमाले बताए। पीडितकी आमाका अनुसार आरोपितले अन्य बालकलाई हतियार देखाई कुटपिट गरेपछि डोरीले बाँधेका थिए। होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै काँसघारीमा लगेर आरोपितले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०६४ असोज १० गते उजुरी दिएकी थिइन्।

जिल्ला अदालतमा अभियोग पत्र दायर भएकामा तत्कालीन जिल्ला न्यायाधिश श्रीप्रसाद सञ्जेलको इजलाशले २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको अभियोगमा आरोपित चारै जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले जानकारी दिए।

पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलाशमा दिएको पुनरावेदनपछि न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दीपेन्द्र अधिकारीको इजलाशले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिवापत जनही रु २० हजारका दरले भराई पाउने ठहर गरेको थियो।

आरोपितमध्ये श्यामका दाजु डोमा भनिने डोमीको मृत्यु भएकाले सजाय माफी भएको र अन्य फरार रहेको जिल्ला अदालतका तहसिलदार सुबेदीले बताए। अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .