ad ad

समाज


प्रेमपत्रको जवाफ नपाएका किशोरले कविताको हत्या गरेको खुलासा, एक वर्षपछि समातिए

प्रेमपत्रको जवाफ नपाएका किशोरले कविताको हत्या गरेको खुलासा, एक वर्षपछि समातिए

उजिर कार्की
फागुन २७, २०७७ बिहिबार १४:३४,

सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्या एकतर्फी प्रेम गर्ने एक किशोरले गरेको खुलेको छ।

गाउँकै १६ वर्षीय किशोरले कवितालाई मन पराउने तर कविताले भने अर्कै व्यक्तिलाई मन पराउने गरेको पाइएको छ। सोही कारण ती किशोरले कविताको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ।

सल्यान प्रहरीले अनुसन्धान सकेर आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। शुक्रबार जिल्ला अदालतमा अभियोजन पत्र दायर गर्ने तयारी भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

२०७६ फागुन २ गते राति घरनजिकै धारिलो हतियार प्रहार गरी कविताको हत्या भएको थियो। तर, एक वर्षसम्म पनि हत्यारा पत्ता लाग्न सकेको थिएन। यसबीचमा प्रहरीले तालिमप्राप्त कुकुरदेखि विभिन्न चार वटा अनुसन्धान टोली खटाए पनि अनुसन्धान सफल हुन सकेको थिएन।

प्रदेश प्रहरी कार्यालय कर्णालीबाट फागुन ५ गते गएको टोलीले तीन दिनमै हत्यारा पत्ता लगाएको प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार पन्तले बताए।

कविता जनता मावि काभ्रामा कक्षा ९ मा अध्ययनरत थिइन्। २०७६ फागुन २ गते प्रणय दिवसकै दिन उनको हत्या भएको थियो। घरमा फोनको नेटवर्क नटिप्ने भएकाले कविता राति फोन चलाउन घर नजिकैको ढिस्कोमा पुगेकी थिइन्।

गोठको अगाडि रहेको ढिस्कोमा बसी फोनमा म्यासेज गरी रहेको अवस्थामा धारिलो हतियारले टाउकोमा प्रहार गरेर र घाँटी रेटेर उनको हत्या भएको थियो।

५ प्रश्नमा जब अभियुक्तले अर्कैलाई देखाए
इलाका, जिल्ला र प्रदेशबाट यसअघि पठाएका टोलीबाट अनुसन्धान सफल नभएकाले कर्णाली प्रदेशका प्रहरी प्रमुख पन्त पनि दबाबमा थिए। उनले घटनाको ठिक एक वर्षपछि गत फागुन २ गते प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्मा र प्रहरी सहायक निरीक्षक प्रेमप्रसाद शर्माको टोलीलाई उक्त घटना अनुसन्धानका लागि पत्र थमाए।

कविताको परिवार भने एक वर्षसम्म पनि छोरीका हत्यारा पत्ता नलागेको भन्दै हारगुहार गरिरहेको थियो।

उनीहरु कहिले जिल्ला प्रशासन कार्यालय सल्यान त कहिले सरकारी वकिल कार्यालय र प्रहरीले कार्यालय पुग्थे। स्थानीय जनप्रतिनिधि, पत्रकार र संघसंस्थामा पनि छोरीको हत्यारा छिटो पत्ता लगाइदिन हारगुहार गरिरहन्थे।

प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठको कमान्डमा अनुसन्धान टोली बने पनि तत्कालका लागि सई र असई शर्माद्वयसहित ४ जनाको टोली घटनाको विस्तृत विवरण बुझ्न घटनास्थल जाने भए।

यो टोलीको पनि अनुसन्धानको केन्द्रमा कविताको मोबाइल नै पर्‍यो। कविताको मोबाइलमा हत्याको २४ घण्टाअगाडि र पछाडि आएका फोन तथा म्यासेजमाथि प्रहरीको अनुसन्धान केन्द्रित भयो।

त्यसरी फोन र म्यासेज गर्नेमध्ये एक व्यक्तिको लोकेसन घटनाको समयमा घटनास्थलभन्दा चारघण्टा टाढा सल्यानको पैयाँचौर, अर्काको लोकेसन रोल्पाको राक भन्ने स्थानमा र अर्काको सल्यान जिल्लाकै ५ घण्टा टाढाको दुरीमा देखियो।

त्यसपछि टोलीले अनुसन्धानको विधि परिवर्तन गर्ने निधो गर्‍यो। घटना घटाउनुको कारण रिसइबी वा प्रेम सम्बन्ध हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गर्‍यो।

सईले रिसइबीतर्फ र असईले प्रेम सम्बन्धतर्फ अनुसन्धान सुरु गरे। कविताको शवको अवस्था र घटना विवरण अनुसार हत्यामा एकजनाको मात्रै संलग्नता छ भन्ने निचोड निस्कियो।

कविता बोहराको घरपरिवारसँग विगतमा झै–झगडा गरी बोलचाल नभएका मानिसहरु, मृतकका नजिकका केटा तथा केटी साथीहरुमाथि अनुसन्धान केन्द्रित भयो।

सोधपुछकै क्रममा खुल्यो– त्यो दिन गाउँमा तास खेल्ने केटाहरु घटना घटेको जानकारी भएर पनि घटनास्थलमा गएनछन्। घटनाको भोलिपल्ट बिहानै नेपालगन्ज जाने, मृतकलाई फोन तथा एसएमएस गर्ने समेत गरी ४१ जनामाथि प्रहरीको अनुसन्धान सोझियो।

४१ जनालाई नै गत फागुन ६ गते ईलाका प्रहरी कार्यालय लुहाम सल्यानमा बोलाइयो। लेख्न नजान्ने १५ जनालाई सोधपुछ गरियो। लेख्न जान्ने २६ जनालाई कविताका बारेमा ५ वटा प्रश्न सोध्यो।

कविताको व्यवहार कस्तो थियो?
उनीसँग बढी फोन गर्ने, सँगै हिँडडुल गर्ने को को थिए?
मृतकलाई कसले, कुन कारणले हत्या गरेको हुन सक्छ?
हालसम्म घटनाको बारेमा तपाईंलाई के थाहा छ?
गाउँघरका मानिसहरुले के भन्छन्?

कसले हत्या गरेको हुनसक्छ भन्ने प्रश्नको उत्तरमा २६ जनामध्ये २५ जनाले थाहा छैन भनेर लेखेका थिए। मात्र एक व्यक्तिले भने फलानो हुनसक्छ भनेर मान्छे तोके।

तिनै १६ वर्षीय किशोरले यस्तो जवाफ लेखेका थिए। उनले तोकेको व्यक्तिले कवितालाई बारम्बार फोन गर्ने, सँगै हिँड्ने, बिहे गर्छु भन्ने गरेको र निज अति नै फटाहा गुण्डा केटा भएकोले उसले हत्या गरेको हो भनी किशोरले लेखेका थिए।

प्रहरीले यही प्रश्नमा ती किशोरलाई फेरि जवाफ दिन लगायो। किशोरले उही जवाफ लेखे।

गत फागुन ७ गते ती जवाफ लेख्ने किशोर, अर्का युवक र एक युवतीलाई ईलाका प्रहरी कार्यालय लुहाममा बोलाइयो। त्यहाँ पनि प्रहरीले सोही पाँच प्रश्न सोध्यो। तर, त्यतिबेला भने ती किशोरले जवाफ फेरे। उनले यसपटक गाउँकै अर्का युवकले हत्या गरेको लेखे। जसको कविताका परिवारसँग पानी र बाँस काटेको विषयमा विवाद भएको थियो। ती दुई परिवारबीच बोलचाल समेत थिएन।

ती किशोरमाथि प्रहरीको शंका बढ्दै गयो। प्रहरीलाई उनलाई छुट्टै कोठामा लगेर सोधपुछ गर्‍यो। जसबाट थप क्लु फेला पर्‍यो।

उनलाई भोलिपल्ट फेरि ईलाका प्रहरी कार्यालयमा बोलाइयो। तीन घण्टासम्म गरेको सोधपुछपछि ती किशोरले आफैँ हत्या गरेको स्वीकार गरे। उनले यस विषयमा बोल्ने भन्दा पनि सबै विवरण लेखेर दिने बताए।

kabita_bohora_4547234wqr.jpgघटनास्थल

एकतर्फी प्रेम
ती किशोर र कविताकोे घर करिब ५०० मिटरको दुरीमा छ। कविताको जग्गा उनीहरुले कमाउने भएकाले उनीहरुको पहिलेदेखि नै चिनजान थियो। दुई वर्ष अघिदेखि नै उनले कवितालाई मन पराउन थालिसकेका थिए। तर, भन्न सकेका थिएनन्।

उनले पटकपटक चिठ्ठी लेखेर कविताको झोलामा हालिदिएका थिए। कविताले चिठ्ठीको जवाफ दिएकी थिइनन्। कवितालाई फकाउन उनका आफन्तको छोरालाई चाउचाउ बिस्कुट किनिदिन्थे। कविताको घरमा गएर काम पनि सघाउँथे।

तर, कविता भने उनीसँग त्यसरी नजिक भइनन्। बरु उनले कविताले अर्कै युवकसँग प्रेम गरेको थाहा पाए। प्रणय दिवसको दिन पनि कुनै वास्ता नगरेपछि आफूलाई जलन भएको उनले बताएका छन्।

त्यो दिन बेलुकाको खाना खाएर ती किशोर सुत्न कोठामा गए। तर कोठामा पुगेपछि उनले कवितालाई नै सम्झिएको र निद्रा नलागेको बताएका छन्। उनको मनमा कविताले अर्कै युवकलाई माया गरेको र आफूलाई प्रणय दिवसको दिन पनि नसम्झिएको भन्दै रिस उठेको बताएका छन्।

रातको ११ बजे भान्छा कोठामा गएर उनले खुकुरी निकाले। घरभन्दा माथि सडकमा निस्की कविता बोहराको घरभन्दा तल पिपलको रुखमा पुगे।

कविताको घरनजिकै रहेको गोठको अगाडि ढिस्कोमा सानो बत्ती बलेको देखे। उनी कविता भए नजिकै पुगे। कविता म्यासेज लेखिरहेकी थिइन्। त्यही बेला ती किशोरले कवितालाई खुकुरी प्रहरी गरी हत्या गरेको पाइएको अनुसन्धान अधिकृतले बताएका छन्।

त्यसपछि उनी खरबारीको बाटो हँुदै घरतर्फ लागे। उनी घर नजिकैको सानो खोल्सामा खुकुरी पखालेको र कपडामा लागेको रगत समेत पुछेर घर फर्किएका थिए।

कपडामा रगत लागेकोले निकाली कोठाको कुनामा राखेको र आफू सुतेपनि निद्रा नलागेको उनले प्रहरीलाई बताएका छन्।

भोलिपल्ट बिहान ६ बजे किशोरकी आमाले उनलाई बोलाइन् र कवितालाई कसैले काटेको छ रे भनिन्। आमासँग उनी घटनास्थलमा पुगे।

प्रहरीले त्यही बेला उनीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। तर ११ बजे छाडिदियो र साढे १२ बजे बोलायो। साढे २ बजेतिर कोहलपुरबाट कुकुरसहितको प्रहरी टोली आइपुग्यो। तर कुकुरले पनि पत्ता लगाउन सकेन।

यता उनले भने उक्त घटनादेखि नै विद्यालय छाडेका थिए। केही समय घरमै बसेका उनी पछि ग्यारेजमा काम गर्न थाले।

तर एक वर्षसम्म जोगिएका किशोरलाई प्रहरीले पक्राउ गर्‍यो। फागुन ९ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ। हत्याका अभियुक्त किशोर प्रहरी हिरासतमा छन्। शुक्रबार अदालतमा मुद्दा पेस गर्ने तयारी रहेको सल्यान प्रहरी श्रोतले जनाएको छ।

यसअघिको टोलीले पक्राउ गरेपनि पुष्टि गर्न सकेन
घटना भएको २ घण्टापछि अथवा भोलिपल्ट बिहान २ बजे नै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएको आधा घण्टापछि प्रहरी चौकी काभ्राबाट टोली पुगेको थियो। बिहान ६ बजे इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षकको कमान्डमा थप टोली घटनास्थल पुग्यो।

टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान गरी घटनास्थल तथा शव मुचुल्का तयार गर्‍यो। सोही दिन घटनामा संलग्न रहेको आशंकामा चार जना युवाहरुलाई नियन्त्रणमा लिइएको थियो।
अहिले पक्राउ परेका किशोर पनि उक्त दिन प्रहरीको शंकाको घेरामा थिए। सोही दिन ३ बजे नेपालगन्जको कोहलपुरबाट कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

कुकुरलाई मृतकको शरीर सुँघाई छाडिएकोमा घटनास्थलनजिकै रहेको खरबारीको बाटो हुँदै तल सडकमा जमेको पानिको खाल्डोसम्म गएर रोकियो। तर त्यहाँ कुनै पनि प्रमाण फेला परेन।
घटना स्थलमा कविताले प्रयोग गर्ने मोबाइल फेला परेको थियो। नियन्त्रणमा लिएका चार जनालाई पनि प्रहरीले सोधपुछपछि आफन्तको जिम्मा लगाएर छाड्यो।

त्यसपछि प्रहरीको निगरानीमा परे कपिताको मोबाइलमा फोन र एसएमएस गरेका व्यक्तिहरु। जसमा तीन जनाको बढी फोन र एसएमएस देखिएको थियो। उनीहरुको विस्तृत कल रेकर्ड झिकाएर प्रहरीले अनुसन्धान गरेको थियो।

यस्तै अन्य आशंकित व्यक्तिहरु, मृतकका साथी संगाती, स्कुलका शिक्षक, विद्यार्थीहरु समेतलाई बोलाएर प्रहरीले सोधपुछ गर्दै छाडेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .