ad ad

समाज


यी हुन् जिल्ला हाँकिरहेका ६ महिला सीडीओ

यी हुन् जिल्ला हाँकिरहेका ६ महिला सीडीओ

उजिर कार्की
फागुन २४, २०७७ सोमबार १४:४७,

महिलाहरुले पुरुषसरह काम गर्न सक्दैनन् भन्ने रुढीग्रस्त मान्यता विस्तारै परिवर्तन हुँदैछ। बितेको दशकमा देशका उच्च पदहरुमा महिला पुगेका छन्। तैपनि देशका हरेक निकायमा उनीहरुको प्रतिनिधित्व कम छ।

उदाहरणका लागि जिल्ला प्रशासन कार्यालयलाई लिन सकिन्छ। यो कार्यालयले जिल्लाको प्रशासन मात्र हाँक्दैन, राज्यसत्ताको प्रतीक पनि हो यो। तीन तहको संघीय संरचना कार्यान्वयनपछि पनि जिल्ला प्रशासनको रापताप घटेको छैन।

देशका ७७ जिल्लामध्ये यतिबेला ६ वटामा मात्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) महिला छन्। उनीहरुमध्ये २ सहसचिव र ४ उपसचिव हुन्।

सहसचिव मनमाया भट्टराई पंगेनी नवलपरासी पूर्व र रुद्रादेवी शर्मा गुल्मीको सीडीओ छन्। उपसचिवहरु बन्दना राई ओखलढुंगा, देवी पाण्डे खत्री पर्वत, लक्ष्मीदेवी हुमागाईं खतिवडा सल्यान र हिरादेवी पौडेल मुस्ताङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन्।

पछिल्लो पटक फागुन १४ गते गृह मन्त्रालयले एक साथ तीन जिल्लामा महिला सीडीओ पठाउने निर्णय गरेपछि महिला सीडीओको संख्या ६ पुगेको हो। यसअघि एक पटक ८ जिल्लामा महिला सीडीओ थिए।

अहिले जिल्ला प्रशासन हाँकिरहेका ६ महिला सीडीओका बारेमा हामी यहाँ चर्चा गर्दैछौँः

तेश्रो पटक सीडीओको जिम्मेवारीमा लक्ष्मीदेवी
२०४६ सालबाट नायब सुब्बाबाट सेवा सुरु गरेकी उपसचिव लक्ष्मीदेवी हुमागाईंको सुरुमा सूचना विभागमा पोस्टिङ भयो।

त्यसपछि उनले यान्त्रिक कार्यालय र राष्ट्रिय योजना आयोगमा काम गरिन्। २०५५ सालमा उनको अधिकृतमा बढुवा भयो। त्यसपछि सहकारी विभाग झापा र निर्वाचन कार्यालय झापाको जिम्मेवारी पाइन्।

अधिकृतकै रुपमा निर्वाचन आयोग र स्थानीय विकास मन्त्रालयमा पनि लक्ष्मीदेवीले काम गरिन्। २०६९ सालमा उनी उपसचिवमा बढुवा भइन्।

‘खुल्लामा नाम निस्किएन, मैले बढुवा पर्खिनु पर्‍यो’, उनले सुनाइन्, ‘सुरुमा निर्वाचन आयोगमा काम गरेँ र पछि गृह मन्त्रालयमा सरुवा भएँ।’

गृह मन्त्रालयमा सरुवा भएपछि उनले भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाइन्। सीडीओको रुपमा पहिलो पटक उनले जिम्मेवारी सम्हालेको जिल्ला पाँचथर थियो।

त्यहाँबाट मन्त्रालय सरुवा भएर उनले तेह्रथुमको सीडीओको जिम्मेवारी लिइन्। फेरि उनलाई सहायक सीडीओको रुपमा काभ्रेमा सरुवा गरियो र फागुन १९ गतेदेखि प्रमुख जिल्ला अधिकारीको रुपमा सल्यानमा हाजिर भएकी हुन्।

बन्दनासँग सहायक सीडीओ पनि महिला नै
भोजपुरकी बन्दना राई अहिले ओखलढुंगाको प्रमुख जिल्ला अधिकारी छिन्। यही फागुन २० गतेदेखि सीडीओको जिम्मेवारी पाएकी बन्दनासँग सहायक प्रमुख जिल्ला अधिकारी पनि महिला नै हुन्।

मनिता कार्की ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छिन्। ओखलढुंगाकै मनिताले एक वर्ष भयो, त्यहाँ सहायक प्रमुख जिल्ला अधिकारी भएर जिम्मेवारी निर्वाह गरेको।

बन्दनाले २०६६ साल भदौमा अधिकृतबाट निजामती सेवा सुरु गरेकी हुन्। सुरुमै उनको गृह मन्त्रालयमा पोस्टिङ भयो।

दोलखामा सीमा सुरक्षा प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरेकी बन्दनाले गृह मन्त्रालयमा लामो समय बिताइन्। २०७६ चैतमा उनी उपसचिव भइन्। त्यसपछि पनि उनको गृह मन्त्रालयमै पोस्टिङ भयो र पहिलो सीडीओको रुपमा हाल ओखलढुंगाको जिम्मेवारी पाइन्।

पहिलो पटक सीडीओ बनेकी देवी
फागुन २० गतेदेखि देवी पाण्डे खत्रीले पर्वतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी छन्। २०६३ सालमा शाखा अधिकृतबाट सेवा सुरु गरेकी देवीकोे पहिलो पोस्टिङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको थियो।

दुई वर्षपछि शिक्षा मन्त्रालयमा सरुवा भएपछि दुई वर्ष त्यहाँ काम गरेर उनी पुनः संस्कृति मन्त्रालयमै फर्किइन्। तीन वर्ष काम गरेर उनलाई जिल्ला निर्वाचन अधिकृतको रुपमा दोलखा सरुवा गरिएको थियो।

२०७४ सालको माघमा उनी उपसचिवमा बढुवा भइन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवल सरुवा भएकी उनी त्यसपछि एक वर्ष अध्ययनमा लागिन्। एक वर्ष कोरियामा पढेर फर्किएपछि खत्रीले राष्ट्रिय योजना आयोगमा ९ महिना काम गरिन्।

त्यसपछि उनलाई सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखामा सरुवा गरियो। त्यसपछि उनी पहिलो पटक सीडीओको जिम्मेवारी दिँदै पर्वत पुगेकी हुन्।

अहेब छाडेर अधिकृत
सहसचिव मनमाया भट्टराई पंगेनी गत भदौ २२ गतेदेखि नवलपरासी पूर्वको सीडीओ छिन्। २०५३ सालमा स्वास्थ्यकर्मी (अहेब) बाट सरकारी सेवामा प्रवेश गरेकी भट्टराईले बीचमा स्वास्थ्य सेवा छाडिन्। २०६३ सालबाट उनी शाखा अधिकृतको रुपमा प्रशासनतर्फ प्रवेश गरिन्।

सुरुको पोस्टिङ तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तरगत महिला विकास विभागमा भयो। साढे ५ वर्षसम्म उनी त्यहीँ कार्यरत रहिन्।

त्यहाँबाट उनको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भयो। त्यहाँ पनि ५ वर्ष नै काम गरेपछि उनी २०७४ असारमा सीधै सहसचिवमा खुल्लाबाट नाम निकाल्न सफल भइन्। सहसचिव भएपछि निजामती किताब खानाको महानिर्देशकको रुपमा काम गरिन्।

त्यसपछि अर्थ मन्त्रालयमा काम गरेकी भट्टराई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भइन्। सीडीओमा भने पहिलो पटक उनले ६ महिनाअघि नवलपरासी पूर्वको जिम्मेवारी पाएकी हुन्।

रामेछापपछि गुल्मीको सीडीओ बनेकी रुद्रादेवी
बाग्लुङकी रुद्रादेवी शर्माले २०६६ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन्। सुरुमै राष्ट्रिय योजना आयोगमा पोस्टिङ भएकी शर्माले त्यहाँ ६ वर्ष काम गरिन्। त्यहीँ कार्यरत रहँदा २०७२ सालमा उनी उपसचिवमा बढुवा भइन्।

उपसचिव भएपछि उनको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदस्थापन भयो। उपसचिव भएको तीन वर्षपछि २०७५ सालमा सहसचिवमा नाम निकाल्न सफल भइन्।

त्यसपछि बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिव भएर काम गरिन्। त्यहाँ ७ महिना काम गरेपछि उनलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरियो।

१३ महिना उक्त मन्त्रालयमा काम गरेकी शर्मा गत वर्ष रामेछापको प्रमुख जिल्ला अधिकारी भएर काम गरेकी थिइन्। रामेछापको सीडीओ भएर १० महिना काम गरेकी शर्मालाई गृह मन्त्रालयले पुनः गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो। गत पुस ८ गतेदेखि उनी गुल्मीको प्रमुख जिल्ला अधिकारीका रुपमा हाजिर भएकी हुन्।

यूएईको श्रम सहचारीदेखी सीडीओसम्म
लमजुङकी हिरादेवी पौडेल २०५२ सालमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेकी हुन्। नासु हुन्जेल अधिकांश समय स्थानीय विकास मन्त्रालयमा काम गरेकी पौडेल २०६३ सालमा खुल्लाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भइन्।

अधिकृत भएपछि उनलाई जिल्ला निर्वाचन कार्यालय मुस्ताङमा सरुवा गरियो। २०७४ सालको निर्वाचन गराउँदा उनी जिल्ला निर्वाचन अधिकृत थिइन्।

त्यहाँ दुई वर्ष काम गरेपछि सामान्य प्रशासन मन्त्रालयमा काम गरेकी उनी त्यसपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भइन्।

श्रम मन्त्रालयमा हुँदा तीन वर्ष श्रम सहचारी भएर यूएईको आबुधावीमा काम गरिन्। त्यहाँबाट फर्किएपछि सामान्य प्रशासन मन्त्रालयमै काम गरेकी उनी चार वर्षदेखि गृह मन्त्रालय अन्तरगत कार्यरत छन्।

२०७३ चैतमा उपसचिवमा बढुवा भएसँगै उनको पदस्थापन गृह मन्त्रालयमा भयो। केही महिना गृह मन्त्रालयमा काम गरेपछि पहिलो पटक रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मा पाइन् २०७४ मा।

रसुवाको सीडीओबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएकी उनलाई गृह मन्त्रालयले त्यसपछि भोजपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मा दियो।

भोजपुरबाट फेरि गृह मन्त्रालय नै सरुवा भएकी उनी पञ्जीकरण विभागमा एक वर्ष बसिन्। त्यहाँबाट ८ महिनाअघि मुस्ताङ सीडीओको रुपमा सरुवा गरिएको हो।

सीडीओ हुँदाको अनुभव
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी चुनौतीपूर्ण हुन्छ। सीडीओले जतिबेला जे आइलाग्छ, त्यही सम्हाल्नुपर्छ। अन्य कार्यालयको कार्यक्षेत्रमा नपर्ने काम सीडीओकै हुन्छ। शान्ति सुरक्षा, अन्तरजिल्ला सम्बन्ध, सबै मन्त्रालय, सबै विभागमा समन्वय र विकास निर्माणमा सहजीकरण गर्नुपर्छ।

लक्ष्मीदेवी सीडीओका रुपमा आफूले भोगेका चुनौतीभन्दा पनि निर्वाह गरेको जिम्मेवारी कस्तो रह्यो भन्ने मुख्य ठान्छिन्।

‘सुरुमा त महिलाले जिम्मेवारी पूरा गर्न सक्छन् सक्दैनन् भनेर शंका गरिन्छ। तर आफूले जिम्मेवारी पूरा गरेर मन जित्नुपर्छ,’ उनले नेपालखबरसँग भनिन्, ‘सुरुसुरुमा मैले पनि यस्तो भोगेको थिएँ, तर अब त्यो अवस्था पार गरेको जस्तो लाग्छ। आत्मविश्वास पनि बढेको छ।’

पुरुषको तुलनामा अहिले पनि महिलालाई बढी नियालिने गरेको लक्ष्मीदेविको अनुभव छ।

पहिलो पटक सीडीओको जिम्मेवारी पाएकी बन्दनाले पनि अहिले बढी जिम्मेवारी आफूमा रहेको ठानेकी छन्। यसअघि सीमा र गृह मन्त्रालयको एउटा जिम्मेवारीमा रहँदा निश्चित काम थिए। तर अहिले जिम्मेवारी असिमित छन्। महिला सीडीओका रुपमा आफूले ओखलढुंगामा सकारात्मक सहयोग पाएको बन्दनाले सुनाइन्।

‘सहायक पनि महिला नै हुँदा एकदमै सहज भएको छ,’ बन्दनाले भनिन्, ‘कर्तव्य र दायित्व आआफ्नै हुने भएकाले पुरुष हुँदा पनि असहज होला भन्ने मलाई लाग्दैन।’

अहिले सामान्य नागरिकदेखि राजनीतिक नेतृत्वसँग समन्वयको भूमिका निर्वाह गर्नुपर्दा पहिलेभन्दा चुनौतीपूर्ण रहेको ठान्छिन् पर्वतकी सीडीओ देवी पाण्डे खत्री।

‘सबै ठाउँमा त त्यस्तो नहोला तर कतिपय अवस्थामा हामीलाई झट्टै कार्यालय प्रमुख हो भन्ने पत्याउँदैनन्,’ खत्रीले भनिन्, ‘समन्वयको पाटोमा अलिक चुनौती हुने रहेछ। तर बहन गर्न नसक्ने कुरै छैन।’

हिजोका दिनमा नीति निर्माण तहमा काम गरेका महिला अधिकारीहरु आज कार्यान्वयन तहमा छन्। सीडीओ भइसकेपछि सबै खालका कानुन कार्यन्वयन गर्नु पर्ने, सबै विषय ठोकिने।

तर, महिला सीडीओहरुको कार्यदक्षताको प्रभाव जनस्तरमा समेत पर्दै गएको नवलपरासी पूर्वकी सीडीओ मनमाया बताउँछिन्।

‘सुरुसुरुमा महिला भनेर अलिक कमजोरको रुपमा हेरेको जस्तो लाग्थ्यो। तर अहिले महिला सीडीओ अलि कडा हुन्छन् भन्ने छाप परेको छ,’ उनले भनिन्, ‘राजनीतिक दबाब अलिअलि आउँछ। त्यसलाई पनि मजाले चिर्न सकिएको छ।’

‘आफूले स्वार्थ राख्न भएन, निस्वार्थ काम गरेपछि सफल नहुने कुरै छैन नि,’ मनमायाले भनिन्।

रुद्रादेवी शर्मा सीडीओ भइसकेपछि तलको परिस्थिति बुझ्ने मौका पाएको बताउँछिन्।

‘एक पटक जिल्लामा बसेर काम नगरेसम्म हामी वास्तविक परिस्थिति बुझ्न सक्ने रहेनछौँ। प्रत्यक्ष रुपमा नागरिकको आवाज र अवस्था नजिकबाट बुझ्न पाइन्छ,’ गुल्मीकी सीडीओ रुद्रादेवीले भनिन्, ‘नागरिकले एउटा कर्मचारीलाई सरकारको रुपमा हेर्छन्। सरकार भनेकै कर्मचारी हो भन्ने छ। यस्तो विश्वास छ। हामीले गर्ने कामबाट सरकारप्रतिको धारणा बन्छ। सरकार सफल हुनका लागि पनि हामीले राम्रो काम गर्नुपर्छ।’

महिला सीडीओ भएर जिल्लामा पुग्दा त्यसले ठूलो सांकेतिक अर्थ राख्ने रुद्रादेवीको भनाइ छ।

‘समाजको महिलाप्रतिको जुन दृष्टिकोण छ, महिला जिल्लाको नेतृत्व सम्हाल्न आउनुले गर्दा सांकेतिक रुपमा फरक अर्थ राख्छ। हामीले पनि नतिजा दिन सक्नुपर्छ,’ गुल्मीमा पहिलो महिला सीडीओको रुपमा पुगेकी रुद्रादेवीले भनिन्।

यसअघि नै दुई जिल्लाको सीडीओ भएर काम गरेकी मुस्ताङकी सीडीओ हिरादेवी पौडेलको अनुभवमा भने महिलाहरुलाई काम गर्न सोचेजस्तो सहज छैन।

‘हामी पुरुष जसरी बाहिरफेर जाने, खाने बस्ने गर्दैनौँ, त्यही भएर सूचना कम हुन्छ। सीडीओलाई चाहिने भनेकैसूचना हो,’ पौडेल भन्छिन्, ‘कार्यालयबाट घर र घरबाट कार्यालय मात्रै आउनेजाने गर्दा सूचनाबाट अलिक विमुख हुने रहेछ। अरु मान्छेसँग हाम्रो उठबस हुँदैन। सूचना लिन अलिक मेहनत पर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .