ad ad

समाज


जग्गाधनी बेल्जियममा, काठमाडौंको जग्गा थाहै नपाई अर्कैको नाममा

जग्गाधनी बेल्जियममा, काठमाडौंको जग्गा थाहै नपाई अर्कैको नाममा

उजिर कार्की
फागुन २३, २०७७ आइतबार ६:४२,

जग्गाधनीले थाहा नै नपाई एउटै जग्गा विभिन्न व्यक्तिलाई बेचेर ठगी गरेको पाइएको छ।

म्याग्दीको बरंजाकी मीना खड्काको नाममा रहेको काठमाडौंको थानकोटस्थित ५ क को कित्ता नं ४२८ र ४२६ को २० आना जग्गा कर्ते गरिएको हो।

वास्तविक जग्गाधनी मिना खड्का बेल्जियममा रहेको अवस्थामा मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपुर्जा बनाई फोटो अर्कैको प्रयोग गरेर बेचबिखन गरेको खुलेको हो।

उनीहरुले यसरी नक्कली कागजात र जग्गाधनी खडा गरेर उक्त जग्गा कृष्ण गोपाल श्रेष्ठ र कृष्णभक्त माक श्रेष्ठलगायतलाई बिक्री गरेको पाइएको छ।

७२ लाख रुपैयाँ बिक्री गरेको जग्गा फेरि अर्कै व्यक्ति कुमार दाहाल खत्रीलाई पनि राजीनामा पास गरिदिने भनी २०७६ मंसिर ३० गते बैना गरेर ३५ लाख रुपैयाँ लिएका थिए।

जग्गा कीर्ते गरेर बिक्री गर्ने कार्यमा संलग्न मालमोतका कर्मचारी र अन्यलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ।

पक्राउ परेका मध्ये ९ जनामाथि अनुसन्धान भइरहेको र ३ जना अदालतबाट धरौटीमा छुटेका छन्।

तीन जना धरौटीमा छुटे
तत्कालीन मालपोत कार्यालय कलंकी र हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत दीपक दाहाल चार लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

मालपोत कार्यालय कलंकीमै नासु पदमा कार्यरत नारायण श्रेष्ठ ४ लाख धरौटी र तत्काल मालपोत कार्यालय कलंकी र हाल राष्ट्रिय किताबखाना ललितपुर हरिहर भवनमा खरिदार पदमा कार्यरत दीपा पंज्ञानी १ लाख रुपैयाँ धरौटीमा छुटेकी छन्।

अन्य ९ जनालाई अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

काठमाडौंको बूढानीलकंठ नगरपालिका ११ का ४७ वर्षीय बिजय कुमार खड्का, धादिङको निलकंठ नगरपालिका ५ का बालप्रसाद भट्ट, काभ्रेको पनौती नगरपालिका ४ का रामचन्द्र पुडासैनी भन्ने पुण्डे प्रसाद काफ्ले, संखुवासभा, नुनढाकी गाउँपालिका ६ घर भई हाल ललितपुर बस्ने ५३ वर्षीय ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले पक्राउ परेका छन्।

रामेछापको मन्थलीका बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोक ठूलोधादिङका लक्ष्मी घतानी, ओखलढुंगा, खीजिदेम्बा गाउँपालिकाका ४६ वर्षीय विजय प्रकाश सुनुवार, सिन्धुली, कमलामाई नगरपालिका ५ का कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी र झापा, कचनकवल नगरपालिका ३ का ४५ वर्षीय कृष्ण बहादुर कटुवाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए।

कसको भूमिका के ?
रामचन्द्र पुडासैनी, राम बहादुर खड्का र पदम काफ्ले भन्ने पुण्य प्रसाद काफ्ले यो अपराधका मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ। उनीहरुले नै जग्गा बिक्री गर्न परिपञ्च मिलाउने र जाहेरवालाहरुलाई जग्गा देखाई खरिदको लागि तयार गर्ने गरेको पाइएको छ। ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घलेले राजिनामा पास गर्दा जग्गाधनीको दाजु ईन्द्रबहादुर खत्री हुँ भनि सनाखत गरेका थिए।

विष्णु र केशव भन्ने बाल प्रसाद भट्टले योजनाकार र जग्गा बिक्री गर्न परिपञ्च मिलाउने र नक्कली कागजातहरु बनाउनेदेखि रकम बाँडफाँड गर्ने भूमिका निर्वाह गरेका थिए।

विजय कुमार खड्काले मिना खड्काको नागरकता र जग्गाधनी प्रमाण पूर्जाको फोटोकपी उपलब्ध गराउने, मिना खड्काको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाण पुर्जा बनाउन कृष्ण बहादुर दर्लामीलाई जिम्मा दिने भूमिका निर्वाह गरेका थिए।

बालकृष्ण बुढाथोकीले जग्गा बिक्रीबाट आएको रकम अशोक माझीको नामबाट निकाली लिने, जग्गा बिक्री गर्दा मालपोत कार्यालयमा निगरानी गर्ने भूमिका खेलेका थिए।

लक्ष्मी घतानी मिना खड्का भई खडा भएर जग्गा राजीनामा गर्ने, जग्गा बिक्रीबाट प्राप्त रकम मिना खड्काकै नाममा मुक्तिनाथ बिकास बैंकमा खोलिएको खाताबाट निकालेकी थिइन्।

विजय प्रकाश सुनुवारले लक्ष्मी घतानीलाई ल्याई मिना खड्काको रुपमा खडा गराउने र सोही अनुसार जग्गाधनीको अभिनय गर्न सिकाएका थिए।

कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी कृष्ण बहादुर कटुवालसँग मिलेर किर्ते नागरिकता र किर्ते जग्गाधनी प्रमाणपूर्जा बनाउने कार्यक्रमा संलग्न रहेको एसपी बस्नेतले बताए।

कृष्ण बहादुर कटुवाल किर्ते नागरिकता र किर्ते जग्गाधनी प्रमाणपुर्जा तयार गरेर कृष्ण बहादुर दर्लामीलाई जिम्मा दिने कार्यमा संलग्न थिए।

मालपोत कार्यालय कलङकीमा लेखापढीको काम गर्ने राजाराम थापा पक्राउ पर्न बाँकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .