ad ad

समाज


सपनाको फेरिएको दैनिकी: बिहान कलेज, दिउँसो शव व्यवस्थापन

सपनाको फेरिएको दैनिकी: बिहान कलेज, दिउँसो शव व्यवस्थापन

उजिर कार्की
फागुन १८, २०७७ मंगलबार ९:५३,

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोका मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो पढाइ।

त्यही सपना पूरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्।

उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए।

Sapana_whitehouse_1.jpg

बेवारिसेको शव व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सामेल गरेको थियो।

यो सफलतामा उनी अत्यन्त खुसी थिइन्। तर, उनलाई पढाइ छुटेकोमा उनलाई छटपटी थियो।

२०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन्।

Sapana Whitehouse10

पढाइ छाडेर गलत बाटाेमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्।

आफू जति चर्चा पाएपनि उनलाई पढाइ छुटेको विषय खड्किरहन्थ्यो। प्रभावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्।

चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो।

सपना अर्थात् बेवारिसे शवका वारिस (भिडियाे)

‘मलाई बारम्बार खड्किएको विषय हो पढाइ, परिवारसँग यसअघि नै म जोडिएको थिएँ, तर मेरो सफलतामा पढाइ तगारो नबनोस् भनेर पुनःसुरु गरेकी हुँ,’ नेपालखबरसँग कुरा गर्दै सपनाले भनिन्।

Sapana_whitehouse_16.jpg

पढाइ सुरु गर्न कलेज बुझिरहेकी उनलाई सामाजिक अभियान्ता पुकार बमले ह्वाइट हाउससँग जोडेका हुन्। लकडाउनको समयमा भोका मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जोडिएकी थिइन्।

सुरुमा उनले कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढ्ने र स्नातक कानुन विषयमा गर्ने बताएकी थिइन्।

Sapana Whitehouse7

ह्वाइट हाउस कलेजका कानुन विषयका संयोजक हरिस भट्ट भन्छन्, ‘स्नातक कानुन पढ्ने हो भने अहिलेदेखि नै कानुन पढ्दा राम्रो हुन्छ भनेर हामीले सुझायौं, त्यसपछि उनी कानुन पढ्ने निर्णयमा पुगिन्।’

कलेजले सपनालाई नियमित उपस्थिति र बीचमा पढाइ छाड्न नपाइने सर्त राखेको छ। जसमा सहमत भएकी सपना अहिले लगनशील भएर पढिरहेको शिक्षक भट्टले बताए।

‘मेरो पढाइ बिग्रिएको छ, म जसरी पनि पढ्छु भन्ने अठोट सपनामा देखिन्छ,’ शिक्षक भट्टले सुनाए, ‘म जसरी पढ्छु भन्छिन्। उसको मेहनत देखेर म एकदमै खुसी छु।’

Sapana_whitehouse_15.jpg

त्यसबेला किन घर छाडिन् र किन पढाइ अलपत्र पारिन् उनी अब सम्झन चाहनन्। तर घर छाडेकोमा भन्दा पढाइ छाडेकोमा पछुतो महसुस गरेकी छन्।

ह्वाइट हाउस कलेजका कार्यकारी निर्देशक काफ्लेले सपनाको कामको प्रशंसा गरे।

Sapana Whitehouse8

‘यस्तो राम्रो काम गरिरहेका विद्यार्थीलाई हामीले केही गर्न सकिन्छ भने किन नगर्ने भनेर पूर्ण छात्रवृत्तिमा पढाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘अहिले कक्षा ११ र १२ को लागि छात्रवृत्ति दिएका छौं। आवश्यक परेको खण्डमा त्यसपछिको पढाइमा पनि हामी सहयोग गर्छौँ।’  

विश्वका सय प्रभावशाली महिलाको सूचीमा सपना मगर पनि, जो पशुपतिमा शव जलाउँछिन् (भिडिओ)

१८ वर्षकै उमेरमा सपनाले निर्वाह गरेको समाजप्रतिको उत्तरदायित्व कलेजका लागि पनि उदाहरणीय भएको निर्देशक काफ्ले बताउँछन्।

Sapana_whitehouse_5.jpg

‘निस्वार्थ जुन सामाजिक काम गरिरहेकी छन्, त्यसलाई निरन्तरता दिन सकून्, अरु सामाजिक काम गर्न प्रेरणा मिलोस् भन्ने चाहन्छौँ,’ निर्देशक काफ्ले भन्छन्, ‘मैले गरेको काम कसैले देख्दो रहेछ, सहयोग गर्दो रहेछ भन्ने उनलाई होस्। अरु विद्यार्थी भाइबहिनीहरुलाई पनि यस्तो काम गर्दा समाजले प्रोत्साहन गर्दो रहेछ भनेर प्रेरणा मिलोस्।’

Sapana Whitehouse9

बिहान ६ बजेबाट सुरु भएको उनको कलेज १०ः४५ मा बिदा हुन्छ। त्यसपछि घर फर्किन्छिन् र गृहकार्य गर्छिन्। दिउँसोको समय भने बेवारिसे व्यवस्थापनको कामलाई निरन्तरता दिने उनको भनाइ छ।

पहिलेको संस्थाबाट अलग भइसकेपछि अहिले उनले आफ्नै नेतृत्वमा बेवारिसे व्यवस्थापनको काम गर्न संस्था दर्ता गरिसकेकी छन्। पछिल्लोसमय उनी आफ्नै संस्था मार्फत बेवारिसे व्यवस्थापनमा सक्रिय छन्।

Sapana_whitehouse_18.jpg

अब पढाइसँगै बेवारिसे व्यवस्थापनको काममा खटिने उनी बताउँछिन्।

‘यी दुईवटै विषय मेरा लागि उस्तै हुन्। बेवारिसे व्यवस्थापन जसले मलाई यहाँसम्म ल्याइपुर्‍यायो, पढाइ पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘अब सँगै अगाडि बढाउँछु।’

 यो पनि: 

विश्वका प्रभावशाली महिलाको सूचीमा परेकी सपना भन्छिन्ः परिवारको मन जितेँ, अब पढाइ पनि सुरु गर्छु

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .