ad ad

समाज


मासिक ५ लाख तलब र डेढ करोड सुविधा लिने लम्बोदर ३५ लाख नबुझाएर किन गए जेल?

मासिक ५ लाख तलब र डेढ करोड सुविधा लिने लम्बोदर ३५ लाख नबुझाएर किन गए जेल?

उजिर कार्की
माघ ९, २०७७ शुक्रबार १३:२५,

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने बिहीबार साँझ कारागार चलान भए। जिल्ला अदालत भक्तपुरले ठगी र किर्ते मुद्दामा न्यौपानेसँग ३५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

त्यति रकम बुझाउन नसक्ने बताएपछि प्रहरीले उनलाई डिल्लीबजार कारागार लग्यो।

३३ करोड ७५ लाख बढी बिगो माग गरिएका लम्बोदरलाई मात्रै ३५ लाख धरौटी मागियो। त्यो पनि बुझाउन सक्दिनँ भनेर उनले जेलको बाटो रोजे, आखिर किन?

बिहीबारको यो घट्नाले धेरैलाई आश्चर्यमा पार्यो। उनीबारे जानकारलाई यो घट्ना अस्वभाविक लाग्ने केहि कारण थिए।

यहि मुद्दामा जिल्ला अदालतमा बयान दिने क्रममा उनले आफ्नो मासिक तलब नै ५ लाख रुपैयाँ रहेको बताएका थिए। उनले सोहि बयानमा डेढ करोड रुपैयाँ थप सुविधा लिएको पनि स्वीकारेका थिए। यतिका धेरै पैसा कमाउने लम्बोदरले के ३५ लाख रुपैयाँ पनि जुटाउन नसकेकै हुन् त?

उनका विपक्षीले भने यो उनले चलाखी गरेको बताउँछन्। ‘जेलमा भएपछि पीडित भएँ भनेर उच्च अदालतमा अपिल गर्न सहज हुन्छ भनेर उनले रचेको चाल हो यो,’ एक कानुन व्यावसायीले भने।

थुनछेक बहसकै क्रममा पनि उनको पक्षका वकिलले लम्बोदरले धरौटी बुझाउन नसक्ने बताएका थिए। लम्बोदरको मुद्दा अहिले सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान गरिरहेको छ।

उनको सम्पत्ति र बैंक खाता रोक्का छन्। त्यही भएर धरौटी जुटाउन नसक्ने भनी उनीपक्षका कानुन व्यवसायीले तर्क गरेका थिए।

यो पनि : ३५ लाख धरौटी बुझाउन नसक्ने बताएपछि लम्बोदर न्यौपाने जेल चलान

लम्बोदर उनै व्यक्ति हुन् जसले मुद्दा मिलाउनका लागि दुई वर्षअघि अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएको थियो। सोही घुसकाण्डका कारण पाठकले आयुक्तको पद गुमाएका थिए।

उक्त मुद्दामा पनि उनले आर्थिक चलखेल गरेको आरोप छ। यो मुद्दामा पनि उनले आर्थिक चलखेल गर्ने र प्रभावित पार्ने आकलन गरिएको थियो।

तर ती अनुमानलाई चकित पार्दै लम्बोदर जेल गएपछि किन भन्ने प्रश्न उब्जिएको हो। उनले बयानका क्रममा समेत आफ्नो खातामा रकम रहेको तर एकिन नभएको बताएका थिए।

यसबाहेक उनले बिभिन्न शिर्षकमा पटक पटक गरी करोडौं रुपैयाँ लिएको आरोप छ। तर उनले मासिक ५ लाख तलव र डेढ करोड सुविधा बाहेकको रकम भने संस्थाकै लागि प्रयोग भएको बताएका छन्।

उनीसँगै पक्राउ परेका दुईजना भने धरौटी तिरेर छुटे। सोही कलेजका पूर्वलेखा नियन्त्रक रामकुमार श्रेष्ठ १० लाख र पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा सहायक प्रशासक चोलाकान्त च्वाई ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्।

उनीहरुमाथि बिगो दाबी पनि लम्बोदरलाई भन्दा कम छ। यो मुद्दाका प्रतिवादीहरुबाट ५२ करोड ९६ लाख ८९ हजार ६ सय २९ रुपैयाँ कलेजलाई बिगोस्वरुप भराउन माग गरिएको छ। न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४७ रुपैयाँ १ पैसा कलेजलाई भराइ पाउन माग गरिएको छ।

यसअघि मुद्दा अनुसन्धानकै क्रममा छँदा सरकारी वकिल कार्यालयले उनलाई छाड्न भनी सीआईबीलाई निर्देशन दिएको थियो।

ठगी मुद्दामा ७ वर्ष कैद र ७० हजारसम्म जरिबाना तथा किर्ते मुद्दामा ७ वर्षसम्म कैद हुने व्यवस्था छ। उनको तर्फबाट धरौटी जम्मा नभए मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म लम्बोदर जेलमै बस्नु पर्नेछ।

कलेजमा करौडौं भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीविरुद्ध गत असोज ३० गते प्रा.डा. हरिकृष्ण श्रेष्ठले जाहेरी दिएका थिए।

सोही मुद्दाका आरोपी १ जनाको मृत्यु भइसकेको छ भने ४ जना फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

ललितपुरका सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, काठमाडौं विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका नवराज भट्टराईले कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप छ।

लम्बोदर मंसिर १० गते ललितपुरबाट पक्राउ परेका थिए।

यो पनि: 
लम्बोदरको बयानः मासिक तलब ५ लाख र सुविधाबापत डेढ करोड लिएँ, भ्रष्टाचार गरेको छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .