ad ad

समाज


निर्मला प्रकरण पहिलो प्राथमिकतामा : एसपी चतुर्वेदी

निर्मला प्रकरण पहिलो प्राथमिकतामा : एसपी चतुर्वेदी

गोकुल जोशी
माघ ६, २०७७ मंगलबार १३:४२,

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै एसपी चतुर्वेदीले आफ्नो कार्यकालमा अनुसन्धान टुङग्याउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे।

‘जिल्ला प्रहरी कार्यालय र मेरो बसाईकोे पहिलो प्राथमिकतामा निर्मला प्रकरण हुन्छ। मेरो कार्यकालमा घटनालाई टुङग्याउन इमान्दार प्रयास रहनेछ’ उनले भने।

घटनामा संलग्नताको बलियो तथ्य, प्रमाण भेटिएमा जस्तो सुकै दर्जाको मानिसलाई पनि कानूनी दायरामा ल्याउने एसपी चतुर्वेदीको भनाई छ।

‘कुनै प्रमाण नभेटिकन व्यक्ति विशेषको चरित्र हत्या हुने गरी कुनैपनि अभिव्यक्ति दिनु गैरकानूनी हो। त्यस्तालाई कानूनी दायरामा ल्याउन सक्ने अवस्था आउन सक्छ। बोल्दा सचेत हुनु पर्छ’ मंगलवार जिप्रका कञ्चनपुरमा पत्रकारहरुसँग बोल्दै उनले भने, ‘यदी केही सूचना छ भने हामी लिन्छौँ। पेश गर्नु प-यो। नभए हचुवा तालमा कपोकल्पित हिसाबले कुनै पनि व्यक्तिको चरित्र हत्या गर्न पाइँदैन।’

उनले अगाडि थपे, ‘सूचना प्रमाणयोग्य छ भने शत प्रतिशत ग्रहण गर्छौं। जुनसुकै दर्जाको व्यक्ति भए पनि घटनामा संलग्नताको प्रमाण फेला परेको बखत कोही छुट्नेवाला छैन। कानून भन्दा माथि कोही हुँदैन।’

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) बाट सरुवा भएर कञ्चनपुर आएका एसपी चतुर्वेदीसमक्ष पछिल्लो समय राजनीतिक दलका नेताहरुले भाषणमा अभिव्यक्त गरेको घटना सम्बन्धी प्रसंगमा पत्रकारहरुले जिज्ञासा राखेका थिए। एसपी चतुर्वेदी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत पनि हुन्।

झण्डै तीन महिना कञ्चनपुरमा बसेर निर्मला प्रकरणको अनुसन्धानमा खटिएका चतुर्वेदी नै जिल्लाको प्रहरीको प्रमुख भएर आएपछि घटनाको सत्य, तथ्य बाहिर आउने अपेक्षा समेत स्थानीयबासीहरुले गरेका छन्।

वि.स. २०७५ साउन ११ गते घर नजिकैको उखुवारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला पन्तको शव भेटिएको थियो। घटना भएको साढे दुई वर्ष बितिसक्दा पनि अपराधी कानूनी दायरामा आउन सकेको छैन।

एसपी चुतर्वेदीले विभिन्न कोणबाट घटनाको अनुसन्धान जारी रहेको दाबी गरेका छन्।

‘सबै पक्षलाई हेरेर र अन्य नयाँ सीराहरुमा पनि तथ्यहरु खोज्ने काममा अनुसन्धान केन्द्रित गरेका छौँ। लामो समयदेखि यही केसमा सीआईबीको टोली पनि लागेको छ’ उनले भने, ‘अहिलेसम्म केही तथ्य प्रमाण फेला परेका छैनन्। दुई-चार वटा इस्युमा हामी केन्द्रित छौँ।’

दीलिपसिंह विष्ट विरुद्धको निर्मलाकी आमा दुर्गादेवीको किटानी जाहेरीका आधारमा दीलिपमाथी समेत अनुसन्धान केन्द्रित भएको एसपी चतुर्वेदीको भनाई छ।

‘शंका पुस्ट्याइ हुने पर्याप्त प्रमाण नभेटिएसम्म कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिइ अभियोजन गर्ने भन्ने अवस्था हुँदैन। जाहेरीकै आधारमा पर्याप्त तथ्य, प्रमाणको खोजी गरिरहेका छौँ’, उनले भने, ‘दिलिप शंकाको घेरा भन्दा बाहिर गएका छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .