ad ad

समाज


सानेपा, ठिमी र टोखाको अपराध : न रह्यो परिवार, न अभियुक्त

सानेपा, ठिमी र टोखाको अपराध : न रह्यो परिवार, न अभियुक्त

उजिर कार्की
पुस २८, २०७७ मंगलबार १५:३६,

काठमाडौंको टोखास्थित ग्रिन भिल्लामा दुई जनाको मृत्यु भएको घटनामा श्रीमानको हत्यापछि श्रीमतीले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ।

पोष्टमार्टम रिपोर्ट र अहिलेसम्मका प्रमाणले घटनामा तेश्रो व्यक्तिको संलग्नता नदेखिएको प्रहरी बताउँछ।

सुदीक्षा गिरीले नै पति उमेश केसीको हत्या गरेर आत्महत्या गरेकोमा प्रहरी विश्वस्त छ।

पछिल्लो समय राजधानीमा हत्या–आत्महत्याको घटना बढ्दै गएको देखिन्छ। ती घटनामा संलग्नले पनि हत्यापछि आत्महत्या गरेका थिए।

२०७६ माघ २७ गते ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र उनकै घरमा काम गर्ने विजय चौधरी मृत फेला परे। विजयले मुनाको हत्या गरेर आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुग्यो।

घटनामा ललितपुर प्रहरीले लामो अनुसन्धान गर्‍यो। ललितपुरका तत्कालीन प्रहरी प्रमुख टेकप्रसाद राई भन्छन्, ‘हामीले सबै कोणबाट अनुसन्धान गर्‍यौँ। तर तेश्रो व्यक्तिको संलग्नता देखिएन। विजयले नै हत्या गरेको हाम्रो निष्कर्ष रह्यो।’

गत भदौ २६ गते भक्तपुरको मध्यपुर थिमिस्थित एउटा परिवार नै मृत फेला पर्‍यो। ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र १६ वर्षीय छोरा सुशान्त शव भेटिएको थियो।

अनुसन्धानमा महानगरीय प्रहरी अपराध महाशाखा र भक्तपुर परिसर सक्रिय भयो। तर घटनाको सबै कोणबाट अनुसन्धान गर्दा पनि तेश्रो व्यक्तिको संलग्नता पुष्टि हुन सकेन। त्यसपछि प्रहरीले निष्कर्ष निकाल्यो– सुदीपले नै श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेको हो।

प्रहरीका अनुसार सुदीपले घरमै रहेको दाउले श्रीमती र छोरो सुतेकै स्थानमा टाउकोमा प्रहार गरेर हत्या गरे। हत्या गरिसकेपछि शवमा पहेँलो र सेतो कपडा ओढाए। त्यसपछि उनले पनि विष सेवन गरेर आत्महत्या गरे।

श्रीमती र छोराको शव सडिसकेको भएपनि सुदिपको शव त्यो अवस्थामा थिएन। उनले पछि मात्रै आत्महत्या गरेको निष्कर्ष प्रहरीको छ।

टोखा घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदन तयार भइसकेको छैन।

उस्तै घटना, फरक कारण
राजधानीका यी तीन घटना उस्तै प्रकृतिका छन्। सानेपा घटनामा विजयले डोरीले कसेर मुनाको हत्या गरेका थिए। उनले पनि तत्कालै झुन्डिएर आत्महत्या गरे।

भक्तपुरमा सुदीपले धारिलो हतियारले श्रीमती र छोराको हत्या गरे। अनि विष खाएर आत्महत्या गरे।

टोखा घटनामा सिलौटो प्रहार गरेर सुतेकै ठाउँमा उमेशको हत्या भयो। १२ घण्टापछि सुदीक्षाले पनि पासो लागेर आत्महत्या गरिन्।

तर, यी घटनाका कारण भने फरकफरक देखिन्छन्। उमेश र सुदीक्षाको बीचमा सम्बन्धबाट खटपट भएको प्रहरीको अनुमान छ। सुदीक्षा गर्भवती भएको र त्यसबारे उमेशसँग विवाद भएको प्रहरी बताउँछ।

पोष्टमार्टम रिपोर्टमा सुदिक्षा गर्भवती भएको खुल्यो, उमेशले पनि आफ्नो यौनांग परिक्षण गरेको रिपोर्ट फेला पर्‍यो। यसको अध्ययनपछि प्रहरी यो निष्कर्षमा पुगेको हो।

भक्तपुर घटनामा सम्झना र सुदीपको आर्थिक अवस्था र निरन्तरको कलहलाई कारण मानिएको छ। सुदीपले परिवारको रेखदेख र हेरचाह गर्न छाडेपछि परिवारमा झगडा हुन्थ्यो। परिवारको आर्थिक अवस्था बिग्रिएको थियो।

सानेपा घटनामा परिवारबाहिरका व्यक्तिबाट हत्या भएको छ। तर विजय लामो समयदेखि त्यही घरमा घरेलु कामदारका रुपमा कार्यरत थिए।

विजयले आफूलाई गाली गरेको र सेवा सुविधामा चित्त नबुझेकै कारण आवेशमा हत्या गरेका हुन् भन्ने निष्कर्षमा प्रहरी पुग्यो। तर, यो घटनामा विजयले किन आत्महत्या गरे भन्ने प्रश्नको जवाफ प्रहरीले दिन सकेको छैन।

घरायसी विवाद, आवेग, आर्थिक किचलो, अनैतिक सम्बन्धजस्ता कारणले परिवारभित्रै हत्याका घटना हुने गरेको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा बताउँछन्।

‘परिवारभित्रैको व्यक्तिको हत्यापछि हत्यामा संलग्नले पश्चाताप गर्छ। अब मेरो संसार सकियो, केही रहेन भन्ने सोच्छ। भोलिको इज्जत प्रतिष्ठा सोचेर आफू पनि मर्छ,’ एसएसपी थापा भन्छन्, ‘तर परिवारबाहिरको अपराधमा भने अभियुक्त भाग्छ, नभए जेलमै बस्न भएपनि तयार हुन्छ।’

कतिपय घटनामा त हत्या गरेर अभियुक्त आफैँ प्रहरी कार्यालय पुगेको उदाहरण पनि उनले दिए।

अपराधमा संलग्न व्यक्तिले आत्महत्या गर्दा अनुसन्धानमा चुनौती
अपराधमा संलग्न व्यक्तिले आत्महत्या गर्दा प्रहरीलाई अनुसन्धान गर्न र चित्तबुझ्दो निष्कर्ष निकाल्न प्रहरीलाई चुनौती थपिने गर्दछ।

घटना कसरी भयो, किन भयोजस्ता प्रश्नको जवाफ खोज्न गाह्रो हुन्छ। यसका लागि प्रहरी पोस्टमार्टम र फरेन्सिक रिपोर्टमा भर पर्नुपर्ने हुन्छ।

अभियुक्त बाँचेको अवस्थामा भने सबै कुरा खुलासा हुने गर्छ। अभियुक्त नै मरेपछि प्राविधिक हिसाबले पुष्टि गर्नु पर्ने हुन्छ। त्यसमाथि मृतकका आफन्तले प्रहरीको निष्कर्षलाई अस्वीकार गर्न सक्छन्।

‘हाम्रो मान्छे त्यस्तो छँदै थिएन, यो घटना हाम्रो मान्छेले गराएकै होइन भन्छन्,’ एसएसपी थापा सुनाउँछन्, ‘प्रहरीले अनुसन्धान गर्नका दुःखले यो भनेको हो पनि भन्छन्।’

हत्यापछि आत्महत्याको अवस्थामा दुई वटा मुद्दा दायर हुने गर्छ। हत्या गरिएका व्यक्तिको हकमा ज्यानसम्बन्धीको कसुरमा मुद्दा अदालत पुग्छ। आत्महत्या गरिएका व्यक्तिको भवितव्य ज्यानसम्बन्धी मुद्दा हुन्छ। मुद्दा छुट्टाछुट्टै दर्ता हुन्छन्। आत्महत्याको मुद्दा दुई वर्षसम्म रहन्छ। प्रहरीले सरकारी वकिल कार्यालयमा र सरकारी वकिल कार्यालयले अदालत पुर्‍याएपछि दुई वर्षमा यस्तो मुद्दा टुंगिन्छ।

तर हत्याको मुद्दाको हदम्याद २० वर्षसम्म हुन्छ। यस्तो मुद्दा दर्ता भएको २० वर्षसम्म रहिरहन्छ। २० वर्षसम्ममा कुनै नयाँ प्रमाण फेला पर्‍यो भने मुद्दा बदलेर संलग्न मान्छे पक्राउ गर्छ। तर, हदम्यादभित्र अरु प्रमाण र दाबी आएन भने हदम्याद सकिएपछि तामेलीमा जान्छ।

तर प्रहरीले पेस गरेका प्रमाणमा अदालत सहमत भयो भने हद म्याद पहिले नै मुद्दाको फैसला हुन्छ र तामेलीमा जान्छ। अदालतले प्रहरीको अनुसन्धानमा कुनै कमजोरी पायो र त्यसमा चित्त बुझाएन भने पुनः अनुसन्धान गर्न पनि भन्न सक्छ।

मुद्दामा अभियुक्त बनाएसँगै अभियुक्तको मृत्यु भइसकेको प्रमाण पनि सँगै राखिने ललितपुर प्रहरी परिसरका मुद्दा शाखाका प्रहरी निरीक्षक सुरेश भट्ट बताउँछन्।

‘अनुसन्धानमा जे देखिन्छ त्यो कुरा हामीले प्रतिवेदनमा खुलाउनै पर्छ। तर अभियुक्तले आत्महत्या गरेको भन्ने पोस्टमार्टम रिपोर्टबाट पनि पुष्टि हुन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .