नेपाली सेनाकी लेफ्टिनेन्ट सीता कुँवरको कमान्डमा महिला सैनिकको टोली पश्चिम गेटबाट सिंह दरबारभित्र प्रवेश गर्यो।
पश्चिम गेटको उत्तरपट्टि रहेको पालभित्र छिरेका उनीहरु केही क्षणमै पीपीई लगाएर बाहिरिए।
त्यसपछि उनीहरु शववाहन लिएर कोरोनाबाट मृत्यु भएकाको शव लिन टेकु अस्पतालतर्फ लागे। उनीहरु टेकु पुग्दा दिउँसोको ३ बजिसकेको थियो।
सीताले अस्पतालबाट मृतकको मृत्यु प्रमाणपत्र बुझिन् र परिवारको सहमति लिइन्। केही समयपछि अस्पतालकै कर्मचारीले माथिल्लो तलाबाट स्ट्रेचरमा गुडाउँदै शव वाहननजिक ल्याए र सैनिकहरुलाई जिम्मा लगाए। सैनिकहरुले शव वाहनमा राखे।
टेकुबाट शववाहन सीधै वीर अस्पताल पुग्यो। त्यहाँ सोही शव वाहनमा अर्को पनि शव राखियो। त्यसपछि पशुपति आर्यघाटतर्फ लागे सेनाको शव वाहनसहितका तीन वटा गाडी।
कोरोना संक्रमितको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाउने गरिन्छ। शवदाह गृहबाहिर दुई वटै शव झारेर सैनिकहरुले गेटनजिकै राखिदिए। जसमा आफन्तले बाहिरैबाट फूल चढाउँदै श्रद्धान्जली दिए।
त्यसपछि दुई वटा शवअगाडि सैनिकहरु लामबद्ध भएर उभिए, सलामी दिए र शवलाई भित्र लगे।
यी सबै काम महिला सैनिकले गरिरहेको देख्दा बाहिर मलामीहरुबीच कानेखुसी चलिरहेको थियो– ‘लौ आज त सबै महिलाले गरिरहेका छन्, किन होला?’
महिला सैनिकले यसअघि दुई दिनमा १० वटा शव व्यवस्थापन गरिसकेका थिए। बिहीबार पनि राजधानीमा कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनको जिम्मा महिला सैनिकको टोलीले पाएको थियो।
यसपछि गंगालाल अस्पतालबाट अर्को शव पशुपति लगेर दाहसंस्कार गर्नु थियो यो टोलीले।
सरकारले गत जेठ १२ गते शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो। त्यसपछि सेनाले देशभरका ब्यारेकमा शव व्यवस्थापन टोली तयार गर्यो।
त्यसयता सेनाले २ हजार ८ सय ६० वटा शव व्यवस्थापन गरिसकेको सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले बताए।
सरकारले शव व्यवस्थापनको कार्यविधि नै तयार गरेको छ। सोही कार्यविधिका आधारमा सेना शव व्यवस्थापनमा खटिन्छ।
देशका कुनै पनि स्वास्थ्य संस्थामा कोराना संक्रमितको ज्यान गइसकेपछि सुरुमा कोरोना संकट व्यवस्थापन जिल्ला समिति र उपत्यकाको हकमा केन्द्रीय समितिमा खबर पुग्छ।
कोराना संक्रमितको मृत्यु भएको जानकारीपछि अस्पतालले कोरोना पोजेटिभ रहेको रिपोर्ट र मृत्यु प्रमाण पत्र सीसीएमसीलाई पठाउँछ।
सीसीएमसीबाट सेनालाई खबर भएपछि सेना शव व्यवस्थापनमा खटिन्छ। सम्भव भएसम्म सेनाले मृतकको संस्कारअनुसार नै शव व्यवस्थापन गर्ने गरेको प्रवक्ता पौडेलले बताए।
तर, उपत्यकाका मृतक सबैको शव जलाउने गरिएको छ। त्यसैले कतिपय मृतकका परिवारले आफूहरुले रीतअनुसार अन्तिम संस्कार गर्न नपाएको गुनासो गर्ने गरेका छन्।
शव व्यवस्थापनमा एक ठाउँमा दिनमा ५ जनाको टोली खटिन्छ। सेनाले शव व्यवस्थापनका लागि ९ जना महिला सैनिकलाई पनि तालिम दिएको छ।
उनीहरु राजधानीको शव व्यवस्थापनमा खटिने गरेका छन्। पहिलो पटक उनीहरुले कात्तिक २६ गते ६ वटा शव व्यवस्थापन गरेका थिए। त्यसपछि मंसिर २५ गते ४ वटा शव व्यवस्थापन गरेको छ। यस्तै गत बिहीबार थप ३ वटा शव महिला टोलीले व्यवस्थापन गरेको छ।
२०६० सालमा सेनाले पहिलो पटक स्वास्थ्यकर्मीका रुपमा महिलालाई भर्ती गरेको थियो। अहिले सबै युनिट र सबै काममा महिला सहभागिता रहेको प्रवक्ता पौडेल बताउँछन्।
अहिले पाइलट, ड्राइभर, मेकानिकल, बम डिस्पोजल टोलीमा पनि महिला छन्। कोरोना संक्रमणको समयमा अग्रपंक्तिमा पनि सुरु देखिनै महिला सैनिक खटिएका छन्।
क्वारेन्टिन व्यवस्थापनदेखि स्वाब संकलनमा पनि महिला सैनिकहरु सक्रिय थिए। तर, शव व्यवस्थापनमा भने सेनाले केही पछि मात्रै महिलालाई सहभागी गरायो।
‘सबै क्षेत्रमा सबै काम महिलाहरुले गरिरहेका छन् भने शव व्यवस्थापनको जिम्मा किन नदिने भनेर त्यसमा पनि खटाएका हौं,’ प्रवक्ता पौडेल भन्छन्, ‘यसको मुख्य उदेश्य महिलालाई प्रवद्र्धन गर्नुसँगै समान अवसर दिलाउने हो।’
शव व्यवस्थापनमा खटिएका महिला पनि फरक जिम्मेवारी निर्वाह गर्न पाउँदा खुसी छन्।
‘यो काम भनेको पुरुषले मात्रै गर्ने भन्ने थियो। तर संगठनले हामीलाई पनि जिम्मेवारी दिएको छ,’ शव व्यवस्थापनमा खटिएकी जवान मनमाया भन्छिन्, ‘दिएको जिम्मेवारी कुशलतापुर्वक पुरा गर्छौँ।’
भिडियो:
Shares
प्रतिक्रिया