ad ad

समाज


सेनाले शव जलाउन लग्यो, आफन्तले संस्कार मान्न नपाएको गुनासो गरिरहे

सेनाले शव जलाउन लग्यो, आफन्तले संस्कार मान्न नपाएको गुनासो गरिरहे

उजिर कार्की
पुस २४, २०७७ शुक्रबार १०:२०,

दुई वटा शववाहनसहित नेपाली सेनाका तीन वटा गाडी साइरन बजाउँदै रिङरोड छाडेर पशुपतिस्थित विद्युतीय शवदाह गृहतर्फ मोडिए। बिहीबार दिउँसो ४ बजेको थियो। शवदाह गृहअगाडि मृतकका आफन्त जम्मा भइसकेका थिए।

पशुपति विकास कोषका कर्मचारीले गेटको चाबी खोलेपछि शववाहन गेटभित्र छिर्‍यो। शववाहन भित्र पस्नासाथ कर्मचारीले गेटमा ताला लगाए। आफन्त गेट बाहिरैबाट हेरिरहेका थिए।

शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका महिला सैनिकहरुले गाडीबाट झारेर गेट नजिकै पालैपालो दुई वटा शव ल्याए। एउटा शव टेकु अस्पतालबाट र अर्को वीर अस्पतालबाट लगिएको थियो।

टेकु अस्पतालबाट लगिएको शव झापाकी ७० वर्षीया राई थरकी महिलाको थियो। उनका सन्तान र आफन्त गेटनजिकै शव ल्याएपछि फूल लिएर अगाडि बढे। गेटभित्र रहेको शवमा बाहिरैबाट फूल चढाएर श्रद्धाञ्जली दिए। केही समयमै चार जना महिला सैनिक अगाडि आए र दुई वटै शवलाई एक साथ सलामी दिए।

covid_death_3.jpg

त्यसपछि उनीहरुले एउटा शव भित्र लिएर गए। केही मिनेटमै विद्युतीय शवदाह गृहको चिम्नीबाट धुवाँको मुस्लो निस्किन थाल्यो। बाहिरका आफन्त त्यही चिम्नीतर्फ हेर्न थाले।

तीनचार जना महिला गेटको छेवैमा भुँइमा बसे। उनीहरु चिम्नी हेर्दै डाँको छोडेर रुन थाले। सबैका आँखामा आँसु बगेको परैबाट देखिन्थ्यो। तैपनि एकअर्कालाई सम्झाउने कोसिस गरिरहेका थिए।

मृतककी छोरीले आफ्नो छोरालाई बोलाइन् र भनिन्, ‘फोटो खिच् न। हाम्रो आमाको धुवाँ।’

ती युवा धुवाँको मुस्लोको फोटो खिच्न थाले।

चिम्नीबाट धुवाँको मुस्लो झन्झन् ठूलो हुँदै गयो। यता मृतककी छोरीको रुवाइ झन्झन् बढ्दै गयो। उनी भगवान् पुकारिरहेकी थिइन्। आमासँग माफी मागिरहेकी थिइन्।

‘आमा माफ गर। मैले तिमीलाई बचाउन सकिनँ, भगवान तिम्ले मेरो मुटु किन चुडेर लग्यौ?’ उनी पीडामा चिच्याइरहेकी थिइन्।

covid_death_2.jpg

केही समयमै चिम्नीमा धुवाँ पातलिँदै गयो। शवदाहमा अर्को शव चढ्यो।

सेनाको शववाहन अर्को शव लिन गंगालाल हृदयरोग केन्द्रतिर हिँड्यो।

शवदाह गृहबाहिरको भीड पातलिन थाल्यो। झापाको यो परिवार अब के गर्ने भनेर सल्लाह गर्न थाल्यो।

‘आमाको बिदाई संस्कारअनुसार भएन,’ मृतकको परिवारलाई यही कुराले पीडा दिइरहेको थियो। अब के गर्ने अलमल थियो।

एउटी छोरीबाहेक परिवारका सबै सदस्य काठमाडौंमा भेला भएका थिए। बुधबार आमाको मृत्युको खबर पाएपछि उनीहरुले शव झापा लगेर आफ्नै भूमिमा अन्तिम संस्कार गर्ने सोचेका थिए।

राईको संस्कार अनुसार शव जलाइँदैन, पुरिन्छ। मृतकको नाममा चिहान बनाइन्छ।

बेलायतबाट घर आएकी ७० वर्षीया वृद्धा पुनः बेलायत फर्किंदै थिइन्। मंसिर १९ गते काठमाडौं आएकी उनको २४ गतेका लागि बेलायतको टिकट तयार थियो। तर जहाजमा चढ्न कोरोना परीक्षणको रिपोर्ट चाहिने भएकाले २२ गते पीसीआरका लागि स्वाब दिइन्।

उडानको अघिल्लो दिन रिपोर्ट पोजेटिभ आयो। त्यसपछि उनको बेलायत यात्रा रोकियो।

रिपोर्ट पोजेटिभ आएको केही दिन उनलाई घरमै राखियो। तर पछि अलि गाह्रो हुन थालेपछि टेकु अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको केही दिनपछि अवस्था गम्भीर भन्ने खबर आयो।

covid_death_1.jpg

‘गत शनिबार रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिँदा हामी खुसी भयौं, सायद अस्पताल पनि झुक्कियो होला,’ मृतकका नातिले नेपालखबरसँग भने, ‘बुधबार हजुरआमा बित्नु भयो।’

३६ दिन अस्पताल बसेपछि उनको मृत्यु भएको थियो।

‘पहिले नै रिपोर्ट नेगेटिभ भनेपछि अब शव त घर लैजान पाइन्छ होला भन्ने सोचेका थियौं। तर अस्पतालले दिएन’, नातिले भने, ‘हामीले फेरि परीक्षण गर्न माग गर्‍यौँ। बिहीबार रिपोर्ट पोजेटिभ भन्यो, त्यही भएर यहीँ जलाउनुपर्ने बाध्यता भयो।’

संस्कारविपरीत शव जलाउनुपर्दा परिवार खुसी छैन।

‘हाम्रो संस्कार यसरी जलाउने हुँदै होइन। तर, के गर्नु बाध्यताले यस्तो स्वीकार्नु परेको छ,’ उनले भने।

संस्कारमाथि राज्य असंवेदनशील भयोः मानवशास्त्री राई
मानवशास्त्री जनक राई यसलाई राज्यको ठूलो असंवेदनशीलता ठान्छन्। नेपालमा, जात, धर्म र समाजअनुसार मृत्यु संस्कार पनि फरकफरक हुने भएकाले राज्यले त्यसलाई सम्मान गर्न सिक्नुपर्ने उनको भनाइ छ।

‘किराँतीहरुको गाड्ने नै चलन हो, जलाउनुलाई राम्रो मानिँदैन,’ राई भन्छन्, ‘जुन परिवारको शव जलाइयो उहाँहरुको लागि त कोरोनाको कारण भएको मृत्युभन्दा पनि अर्को ठूलो बज्रपात हो। मृत्यु अस्वभाविक होइन, तर परिवारलाई आफ्नो धर्म, संस्कृतिअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकार छ। के हाम्रो देशमा संस्कृति नै मान्न नपाउने गरी संकट आइपरेको हो त?’

covid_death_6.jpg

राज्यले सबैलाई एउटै नजरले हेर्न नहुने र फरक समुदायको फरक भावनालाई स्वीकार गर्नुपर्ने राईको सुझाव छ।

‘यसका विकल्पहरु हुन सक्थे। जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउँदै संस्कार मान्न पनि त सकिन्थ्यो नि,’ उनले भने।

यसअघि केही ठाउँमा आफ्नो संस्कारअनुसार शव व्यवस्थापन गर्न पाउनुपर्ने माग राख्दै मृतकका आफन्तले विरोध समेत गरेका थिए। तर कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव उपत्यकाबाहिर पुर्ने र उपत्यकामा विद्युतीय शवदाह गृहमा जलाउने गरिएको छ।

कोरोनाका कारण ज्यान गुमाउनेको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। सेनाले सरकारको निर्देशनअनुसार नै शव व्यस्थापन गरिरहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .