नेपालमा कोरोना भाइरसको मुख्य स्रोत भारत, खाडी मुलुक र युरोप भएको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अगस्ट महिनामा गरेको जिनेटिक सिक्वेन्सिङ (अनुवांशिक अध्ययन) ले यस्तो देखाएको हो।
परिषदले बुधबार यस विषयमा औपचारिक जानकारी गराउने भएको छ। तर, परिषद्ले गत बिहीबार नै जेनेटिक सिक्वेन्सिङको विवरण सार्वजनिक गरिसकेको छ। यससम्बन्धी विवरण परिषदले ग्लोबल इनिसियटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा डेटा (जीआईएआईडी) को वेबमा राखेको हो।
‘महामारीको विषयमा आफूले प्राप्त गरेको विवरण सार्वजनिक गर्ने व्यवस्थाअनुसार हामीले यो अध्ययनलाई सार्वजनिक गरेका छौं,’ परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले नेपालखबरसँग भने, ‘यसले महामारी रोकथामको प्रयासलाई सहयोग पुर्याउने छ। बुधबार अध्ययनबारे विस्तृत जानकारी गराउने छौँ।’
चीनबाट आएका संक्रमित व्यक्तिको नमुनाबाट नेपालमा पहिलो पटक कोरोना भाइरसको जिनेटिक सिक्वेन्सिङ गरिएको थियो। जसका लागि नमुना हङकङ विश्वविद्यालयमा रहेको विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो।
तर, परिषदबाट अनुमति नलिई गरिएको सो अध्ययन विवादित बनेको थियो। सो अध्ययनमा संलग्नहरुसँग परिषदले स्पष्टीकरण लिएपनि कुनै कारबाही भने गरेन। एथिकल क्लियरेनस नलिई जिनेटिक सिक्वेन्सिङ गर्नेमा सरकारी अधिकारीहरु नै सामेल थिए।
यसपटकको जिनेटिक सिक्वेन्सिङ नेपालकै गरिएको थियो। काठमाडौंको थापाथलीमा रहेको सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सीएमडीएन)को ल्याबमा १५ वटा नमुनाको अध्यन गरिएको थियो। तर, त्यसको गुणस्तर जाँच्न ५ वटा नमुना भने विदेश पठाइएको थियो। जसमा विश्व स्वास्थ्य संगठनले सघाएको थियो।
अमेरिकाको सान फ्रान्सिस्कोस्थित क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानदाता डा. रौनक श्रेष्ठले जीआईएआईडीमा सार्वजनिक गरेको विवरणमा नेपालमा दुई वटा समूहको भाइरस पाइएको बताए। कोरोना भाइरसलाई हालसम्म पाँच वटा समूहमा वर्गीकरण गरेर अध्ययन गरिँदै आएको उनको भनाइ छ।
‘नेपालमा भएको भाइरसको स्रोत भारत, खाडीका देश तथा युरोप भएको देखिन्छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘यसको जिनेटिक मेकअप (अनुवांशिक प्रकार) उनीहरुसँग मिल्छ। नेपालले कोरोनाविरुद्ध खोप भारतबाट ल्याउन खोजिरहेको छ। त्यो हाम्रो लागि उपयुक्त र प्रभावकारी हुने देखाएको छ। उनीहरुको भन्दा फरक आएको भए खोप प्रभावकारी नहुन पनि सक्थ्यो।’
जिनेटिक सिक्वेन्सिङको अध्ययनबाट अन्य देशको भन्दा नेपालमा भाइरस कति भिन्न छ, नेपालमा भएको भाइरसका लागि विश्वमा बनिरहेका मध्ये कुन खोप उपयुक्त हुन्छलगायतका प्रश्नको जवाफ पाउन सकिन्छ।
नेपालले अक्सफोर्डले बनाएको र भारतमा सेरम रिसर्च इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउनका लागि छलफल गरिरहेको छ। भारतले खोप पाउने देशमध्ये नेपाल प्राथमिकतामा पर्ने बताएपनि हालसम्म ठोस सहमति हुन सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याकंअनुसार नेपालमा कोरोना भाइरसबाट २ लाख ६२ हजार ७४८ जना संक्रमित भएका छन् भने १ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ। त्यसैगरी २ लाख ५५ हजार ६६६ जना स्वास्थ्य भएका छन्। ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया