ad ad

समाज


विद्या सरकारको हिरासत यात्रा: जिल्ला डुलाउने प्रहरीको तयारी

विद्या सरकारको हिरासत यात्रा: जिल्ला डुलाउने प्रहरीको तयारी

उजिर कार्की
पुस १७, २०७७ शुक्रबार १६:७,

सुनसरी इटहरीकी विद्या सरकार शर्मा यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा छिन्। आफूलाई सामाजिक अभियन्ता बताउने विद्याविरुद्ध दुव्र्यवहार गरेको जाहेरी परेपछि काठमाडौं प्रहरीले पुस ६ गते पक्राउ गरेको हो। त्यसयता उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

तर, २३ वर्षीया विद्याविरुद्ध उजुरीको संख्या भने दिनदिनै थपिँदै गएका छन्। दैलेखकी तप्तकुमारी थापाले जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। अभद्र व्यवहारसम्बन्धी सो मुद्दा प्रहरीले केही दिनपछि अदालत लैजाने तयारी गरेको छ।

अदालत लगेपछि उनी धरौटीमा छुट्ने सम्भावना बढी छ। तर, यहाँको अदालतले छाड्न आदेश दिएपनि विद्याको हिरासत यात्रा भने तत्कालै टुंगिने छैन।

यहाँ अदालतले छाड्न आदेश दिएलगत्तै उनलाई दैलेख पठाउने काठमाडौं प्रहरीको तयारी छ। दैलेखमा उनीविरुद्ध ठगीको उजुरी परेको भन्दै हाजिर गराइदिन दैलेख प्रहरीले पत्राचार गरिसकेको छ।

५ दिन पहिले २ युवाले विद्याबाट करिब ५३ लाख रुपैयाँ ठगिएको जाहेरी दिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताए।

‘काठमाडौंमा पक्राउ परेको थाहा हुन आएको छ, हामीले उनलाई त्यहाँ अनुसन्धान सकिएपछि यता पठाइदिनू भनेका छौं, यहाँ ठगीमा कारबाही हुन्छ,’ डीएसपी श्रेष्ठले भने।

विद्या गत असारमा कोरोनाका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गर्न भन्दै दैलेख गएकी थिइन्। तर, उनले समस्यामा परेकालाई सहयोग गर्ने नाममा उल्टै केही व्यक्तिबाट लाखौँ रुपैयाँ ठगिन्।

दैलेख पुगेपछि उनले त्यहाँका प्रमुख जिल्ला अधिकारीदेखि प्रशासनका कर्मचारीसँग सम्बन्ध पढाइन्। ११ वटा स्थानीय तहमा राहत सामाग्री वितरण गर्ने भनेपछि प्रशासनले पनि उनलाई सहजीकरण ग¥यो।

उनले आफू सिंगापुर रेडक्रस सोसाइटीको सीईओ बताउँथिन्। कर्मचारी भन्दै अरु दुई जनालाई पनि दैलेख लगेकी थिइन्। उनको फेसबुक प्रोफाइलले ठूलै मान्छे हुन् भन्ने भ्रम छर्नलाई थप बल पु¥यायो। उनले पूर्वराजा, शीर्ष नेता, कलाकारदेखि प्रहरीसँग खिचेका फोटा फेसबुकमा पोस्ट गरेकी छन्।

दैलेखका केही युवा पनि उनको राहत वितरणमा सहभागी भए। तप्तकुमारी थापाकै छोरा पनि दक्षिण कोरियाबाट फर्किएका हुन्। ३ वर्ष बसेर बिदामा घर आएका उनलाई आमाले अब विदेश नजान आग्रह गरेपछि उनी घरमै थिए।

विद्यासँगको संगतले उनी सिंगापुर जान राजी भए। प्रक्रिया सुरु गर्नका लागि भन्दै उनीसहितका तीन युवाले करिब ६० लाख रुपैयाँ विद्यालाई बुझाएको तप्तकुमारीले बताइन्।

विद्याले दैलेखमा राहत वितरण त गरिन् तर त्यो पनि व्यापारीलाई फसाएर। राहत वितरणका लागि लगेको सामाग्रीको रकम उनले पछि दिन्छु भनेको र नतिरेको बताइएको छ।

सुरुमा व्यापारीले उधारो पत्याएका थिएनन्। तर कार्यक्रम सकिएपछि बिलभर्पाइ पठाउनू, रकम निकासा हुन्छ भनेपछि शर्मिला स्टेशनरी र लक्ष्मी स्टोरका सञ्चालक विश्वस्त भए। विद्याले यी पसलबाट सामाग्री लगेर वितरण गरेकी थिइन्।

यसबारे अनुसन्धान भइरहेको प्रहरी बताउँछ। त्यसो त दैलेखमा मुद्दाको किनार लागेपछि पनि उनले छुट पाउने अवस्था छैन।

उनकै गृह जिल्ला सुनसरीमा पनि उनीविरुद्ध जाहेरी परेको छ। काठमाडौंमा पक्राउ परेको जानकारीपछि इटहरीबाट प्रहरीले उनलाई झिकाइसकेको छ। त्यहाँ गिर्वाणराज तिमल्सिनाले उनीविरुद्ध ठगीको आरोपमा जाहेरी दिएका छन्। दैलेखपछि प्रहरीले इटहरी पठाउने काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए।

अभद्र व्यवहारमा उनलाई बढीमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ प्रहरीले। तर त्यसपछि अदालतले पुर्पक्षका लागि कारागार नपठाएर धरौटी लिएर वा सामान्य तारेखमा छाड्न पनि सक्छ।

यदि छुटेको अवस्थामा तत्काल दैलेख लग्ने तयारी प्रहरीको तयारी छ। तर पुर्पक्षका लागि कारागार चलान भएमा र अर्को जिल्लामा भएको मुद्दाको हद म्याद सकिने अवस्था आएमा उनलाई कारागारबाटै अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .