ad ad

समाज


श्रीमती मारेर फाले, १७ दिनपछि आफैँले फोन गरेर सोधे- पनौतीमा के भएको हो?

श्रीमती मारेर फाले, १७ दिनपछि आफैँले फोन गरेर सोधे- पनौतीमा के भएको हो?

उजिर कार्की
पुस १४, २०७७ मंगलबार १६:२३,

गत शनिबार बाराका जीवन नेपालीले भाइ राजेन्द्रलाई फोन गरेर सोधे, ‘पनौतीमा के घटना भएको हो?’

श्रीमती सीताको हत्या आरोपमा प्रहरी जीवनलाई नै खोजिरहेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट जीवनले नै श्रीमतीको हत्या गरेको खुलिसकेको थियो। तर जीवनले भने काठमाडौंमा रहेका भाइलाई फोन गरेर अनविज्ञता जनाइरहेका थिए।

मंसिर २३ गते पनौतीबाट ५३ वर्षीय जीवनसँगै बारास्थित घरतिर लागेकी ४३ वर्षीया सीताको बाटैमा हत्या भएको थियो। पनौतीस्थित आफन्तकोमा बसेकी सीतालाई लिएर जीवन दूध बोक्ने गाडीमा चढेका थिए।

गाडी चढेको १० मिनेटमै उनीहरुबीचको झगडा बल्झियो। गाडीका चालकले प्रहरीलाई बयान दिएअनुसार जीवनले सीतालाई कुट्न थाले। जीवन र सीता पनौतीबाट बेथानचोक खानीखोला हुँदै घर जाने भनेर गाडीमा चढेका थिए। तर हात्तीढुंगामा पुगेपछि उनीहरु गाडीबाट झरे।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार रातको ९ बजे जीवनले सीताको हत्या गरेर खोलाको छेउमा झाडीमा फालिदिए । आफू भने अर्को गाडीमा चढेर भोलिपल्ट बिहानै बाराको निजगढ नगरपालिका २ स्थित घर पुगे।

सीताको हत्या भएपनि कसैलाई थाहा थिएन। पुस ९ गते बिहान पौने ११ बजे एकजना महिलाको लास सडिएको अवस्थामा फेला परेको भनेर स्थानीयले प्रहरीलाई खबर गरे। काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले तत्काल डीएसपीको कमान्डमा धुलिखेल अस्पतालका फोरेन्सिक डाक्टरसमेत घटनास्थलमा पठाए।

मृतकको साथमा प्रहरीले कागजको टुक्रो फेला पा¥यो। जसमा मृतकका श्रीमान जीवन र देवर राजेन्द्र नेपालीको पनि मोबाइल नम्बर भेटियो। प्रहरीले जीवनलाई खबर ग¥यो। तर जीवनले वास्तविकता बताएनन्।

राजेन्द्र भने खबर पाउनासाथ घटनास्थलमा पुगे। उनैले मृतक आफ्नै भाउजु सीता भएको पुष्टि गरे।

आत्मसमर्पण गर्न आउँदा बाटैमा पक्राउ
‘राजेन्द्र प्रहरीको सम्पर्कमा पुगेसँगै हामीलाई थप प्रमाण जुट्यो,’ एसपी पौडेलले भने, ‘उनले दाजुविरुद्ध जाहेरी दिए र अभियुक्तसम्म पु¥याउन पनि सहयोग गरे।’

९ गते बिहान प्रहरीले फोन गरे लगतै जीवनले भने घर छाडे। १० गते उनले भाइलाई फोन गरेर सोधे, ‘पनौतीमा के भएको हो?’

राजेन्द्र झोँक्किँदै भने, ‘सबै घटना तैँलै घटाएको हो, अझै थाहा नभएको नाटक गर्छस्?’

भाइले आफ्नो सबै कुरा थाहा पाएको पुष्टि भएपछि जीवनले फोन काटे। राजेन्द्रले आफ्नो र दाजुको बीचमा कुरा भएको जानकारी दिए। प्रहरीले जीवनको मोबाइल नम्बरका आधारमा उनी रहेको स्थान पत्ता लगाइरहेको थियो।

तर पछि जीवनले मोबाइल पनि घरी बन्द गर्ने र घरी खोल्ने गरिरहे। भोलिपल्ट ११ गते फेरि राजेन्द्रलाई फोन गरे। तर जीवनले आफू रहेको स्थान भने भाइलाई पनि ढाँटिरहेका थिए।

राजेन्द्रले दाइलाई सम्झाए, ‘कतिदिन भाग्छस्? काम गरेर खान सक्ने स्थितिको छैनस्। ५० वर्षपछि नेपाल आए पनि तँलाई प्रहरीले छाड्दैन। यहाँ आएर प्रहरी कार्यालयमा आत्मसमर्पण गरिस् भने तेरो कैदको समय कम हुन्छ।’

त्यसपछि भने जीवन प्रहरी कार्यालय आउन तयार भए। उनले त्यसपछि आफू कलैयामा रहेको साँचो कुरा बताए। राजेन्द्रले त्यहीँको प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भने पनि जीवनले भने काभ्रे नै आउने बताए।

स्थानीय नेतामार्फत त्यहाँको प्रहरीलाई पनि उनको बारेमा जानकारी दिइसकिएको थियो। तर प्रहरी बसपार्क पुग्दा जीवन गाडी चढिसकेछन्। प्रहरीले कलैयाबाट उनी चढेको गाडी पत्ता लगायो। सोही गाडी नम्बर र हुलियाका आधारमा जीवनलाई मकवानपुर प्रहरीले आइतबार दिउँसो रातमाटेबाट पक्राउ ग¥यो।

सोमबार साँझ उनलाई काभ्रे पु¥याएर अनुसन्धान अगाडि बढाइएको एसपी पौडेलले बताए। मंगलबार ७ दिन अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। सीताको अन्तिम संस्कार पनि मंगलबार नै आफन्तले गरेका छन्।

श्रीमतीले ऋण लिएको खुलासापछि सुरु भएको थियो झगडा
गत साउनसम्म सीता र जीवनको परिवार ठिकठाकै चलिरहेको थियो। उनीहरुका दुई छोरी हेटौंडा बसेर बढ्थे। सीता बारामा बस्थिन्, जीवन पनौतीमा ढुंगामाटोको काम गर्थे।

निजगढमा पनि उनीहरुको सम्पत्ति थिएन। कोठा भाडामा लिएर बस्थिन् सीता।

तर, गत साउनमा गाउँकै एक जनासँग सीताले ३३ लाख ४० हजार रुपैयाँ ऋण लिएको कुरा बाहिर आयो। यो रकम उनले किन लिइन् र कहिले कहिले लिइन् भन्ने कुरा न दिनेले बताए न त सीताले नै श्रीमानलाई खुलाइन्।

श्रीमानले जति कर गरेपनि ऋण किन लिएको भनेर कुरा सीताले भन्दै भनिन्। त्यहीँबाट जीवन र सीताबीचमा झगडा सुरु भयो। जीवनले सीतामाथि कुटपिट पनि गर्ने गरेको परिवारले बताएको छ।

जीवनसँगको झगडापछि सीताले भदौ ३१ गते घर छाडिन्। कोठामा भएका सामान बेचेर सीताले घर छाडिन्। केही दिनपछि उनी रसुवा पुगेको पत्ता लाग्यो। रसुवा पुगेकी सीतालाई परिवारले घर फर्किन भन्यो। तर सीता मानिनन्।

पछि जीवन सीतालाई लिन रसुवा नै पुगे। ‘रसुवाबाट भाउजु लिएर फर्किंदा पनि दाइले भाउजुलाई कुट्दै काठमाडौं ल्याएको थियो। भाउजुको अनुहारभरि चोट लागेको थियो,’ राजेन्द्र भन्छन्।

सीताले हेटौंडामा प्रहरी कार्यालय पुगेर उजुरी गरेपछि प्रहरीले उपचार गरिदिएको थियो। तर पछि जीवन पनि त्यहीँ पुगे । छोरीहरु भएको ठाउँमा पनि उनीहरुको झगडा सुरु भएपछि सीता पनौतीस्थित आफन्तकोमा पुगेकी थिइन्।

जीवनले मंसिर १५ गते सीता त्यहाँ बसेको पत्तो पाए। मंसिर २२ गते गाडी चढेर २३ गते बिहान काठमाडौं आएका थिए जीवन। बेलुकी ७ बजेतिर उनी पनौती श्रीमती भएको ठाउँमा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .