सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ।
कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको हो।
लामा प्रेसर, सुगरको समस्यासँगै किड्नीको समस्याबाट समेत पीडित थिए
पछिल्लो समय श्रीमतीसँग मनमुटाव रहेको र आफू अस्पतालको शय्यामा रहँदा समेत श्रीमती आफ्नो साथमा नरहेको केही दिनअघि सामाजिक सजाल फेसबुकमा लेखेको पोस्टबाट प्रस्ट हुन्छ।
उनले श्रीमतीलाई आफूले आमापछिको दोस्रो माया गरेको र उसैबाट विस्वासघात हुँदा आफ्ना केही सपनाहरु अधुरै रहेको उल्लेख गरेका छन्।
लामाले श्रीमतीलाई आफूहरूको प्रेम ‘बर्मुडा ट्रयाङगल’मा फसेको बताएका छने्। ‘मैले संसारमा सबैभन्दा बढी माया गर्ने आमा। प्रिय, मैले तिमीलाई त्यही आमापछिको दोस्रो माया गरेको थिएँ’, उनले लेखेका छन्, ‘तर, त्यो आज याम्बालिङ रुपी बर्मुडा ट्रयाङगलमा फसेको छ।’
‘जीवन मरणको यो लडाईंका बेला मेरी श्रीमती मेरो साथ हुन्न भने उसलाई अझै श्रीमती भनिरहनु कत्तिको औचित्यपूर्ण छ? लौ प्रिय गरिखान मनग्ये गरी दिएको छु। बाँकी जीवन मोज गर’, फेसबुकमा लामाले लेखेका छन्।
उनले श्रीमती र उनको भाइलाई आफ्नो काजकिरियामा सामेल नहुन समेत अनुरोध गरेका छन्।
यस्तो छ उनले एक हप्ता अगाडि लेखेको भावुक सन्देश
‘आमा’ नाम नै कति मोहक। आमा, मैले संसारमा सबैभन्दा बढी माया गर्ने मान्छे। प्रिय, मैले तिमीलाई त्यही आमापछिको दोस्रो माया गरेको थिएँ।
तर, त्यो आज याम्बालिङ रुपी बर्मुडा ट्रयाङगलमा फसेको छ। यसलाई सामान्य लोग्ने स्वास्नीको झगडाको रूपमा लिँदै आफ्नी स्वास्नी आफैँले हात लिन सक्नुपर्छ भन्नछन्, छ्या कति कुरुप सिलाबरको कुच्चिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरू।
प्रिय, तिमी त उसको परिवार रे, आफ्नो श्रीमतीलाई आफैँले हात लिनुपर्छ रे। वा रे वा! नेताज्यू हातमा हैन मैले शिरमा राखेको थिएँ। ढोंगीहरुले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार, जे होस तिम्रा जाल झेल खेती सप्रेको नै छ। ‘सादा जीवन उच्च विचार’का होर्डिङबोर्ड बगैंचा, घरका भित्तामा टाँसेका छौँ, त्यो तिमीलाई कत्तिको सहज लाग्छ कुन्नी? मलाई त हाँडीघोप्टेजस्तो लाग्छ।
ठमेलमा ५० हजार यूयस डलरको बिटा भेट्टाएछ। सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोबरले डलर टाँसेर झिलीमिली बनाएछ। हाँडीमा खिचडी बसाएर दुई बुढाबुढी गीत गाएर नाचिबसेको खोज्दै जाने प्रहरी र टुरिस्टले भेटे छ। यही केसले हाँडीघोप्टेका लोग्नेस्वास्नीको युरोप, अमेरिकाको यात्रा भयो।
हाम्रा महान् पा.का. महान् साधुसन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिनँ। थुईक्क जाली फटाहा, द्रव्य पिशाचहरु...।
प्रिय, मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्रयाङगलमा फस्यो प्रिय।
१. मेरो स्वाभिमानको ट्रयाङगल
२. चल–अचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति
३. हाम्रो बीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरबिरोधहरु। यो हो हाम्रोबीचको अहिलेको बर्मुडाको ट्रयाङगल।
याद गर प्रिय, मैले तिमीलाई सबै कुर सम्पत्तिसम्म सुम्पें तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिएको छैन। धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यहि छ।
बर्मुडा ट्रयाङगल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन।तर, यसको बनावट भूमध्यरेखा काल्पनिक लाइनसँगै भएको हो। जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो। हामी बसेको भू–भाग गोण्डावना ल्यान्डसंगै दक्षिणी धुर्वमा टाँसिएर बसेको थियो।
त्यसबखत ठूला–ठूला भौगोलिक उथलपुथल भइरहन्थे। एक्कासी गोण्डावना ल्यान्ड दक्षिणी धुर्वसँग छुट्टियो र ३ मिटर उत्तर सर्यो। पृथ्वी बीचमा उसिनेको अण्डाबीचमा फ़ुटाएको जस्तो फुट्यो। पृथ्वी दुई भागमा बाँडियो। उत्तरी गोलार्ध पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्यान्ड। यहि घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयाङगल बन्यो। त्यो आजपर्यन्त अभेद्य छ। त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं।
प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानी–जानी धोका दिँदा मेरा केही सपनाहरु अधुरा नै रहने भए। राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडी पु¥याइ हाले। के कुरा गर्ने? तिमी र म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने। विश्वका आठै वटा आश्चर्यको रसस्वादन गर्ने, माचिपिच्यूमा पुरानो पोर्तुगिज खाना खाने, गोन्जालोको देश हेर्ने, माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ। त्यो तिमीले भाँडिदियौ।
हामी दुईले मध्यरातमा घाम झुल्किएको फिनल्यान्ड, नर्वेवाट रसस्वदन गर्ने सपना अधुरै रहने भयो। ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने,
उलान बटोर र ऐतिहासिक गोवी मरुभूमिमा उट चढने सपना अधुरै रहने भयो।
मानव विकासक्रमको २૪ लाख वर्षको इतिहासमा सिन्थोपस प्रकृतिको जीवाश्माका मूलका मानिसहरू, ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तियान म्यान, वुसानम्यानले गरेका उपलब्धि र आदिबारे अलि सूक्ष्म अध्यन गरी हाम्रो ठुसाकाबारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने, दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरुले एक ठूलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्य चकित हुने हाम्रा प्रागकालिन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसँगै पढ्ने ईच्छा अधुरै रहने भयो।
हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने वसन्त ऋतुमा अध्ययन भ्रमणका रूपमा डुल्ने योजना थियो, त्यो अधुरै रह्यो।
प्रिय, म कोरोनाले लिएर जानको लागि सबै योग्यता पुगेको मान्छे। म अरुले भने मृत्यशय्याबाट भन्थे होला, तर म भन्दिनँ। कोभिडसँग पैंठेजोरी खेल्दैछु। सायद म बाच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि। तर, म आत्तिन्नँ।
यो अन्तिम घडीमा पनि मेरो धन मेरै लागि काम लाग्दैन भने त्यो धनको के काम? आफ्नो पाउनु पर्ने त यो हालतमा दिंदैन भने मेरो निम्ति त्यो कहिलेलाई चाहियो?
जीवन मरणको यो लडाईंका बेला मेरी श्रीमती मेरो साथ हुन्न भने उसलाई अझै श्रीमती भनिरहनु कत्तिको औचित्यपूर्ण छ? लौ प्रिय गरिखान मनग्ये गरी दिएको छु। बाँकी जीवन मोज गर। मैले पूरा गर्न नसकेका अधुरा काम अरुसँगै पूरा गर। आठै आश्चर्य हेर्ने, घुम्ने भोक मैले नै जगार्इ सकेको छु तिमी पनि सक्षम पनि छौ। लौ बधाई प्रिय!
यो ६/७ महिना बाहेक २८/३० वर्षको. तिमीसँगको सहयात्रा ज्यादै सुखद् नै रह्यो। यो ६/७ महिनाले मलाई गलायो किनकि मैले तिम्रो मायामा विस्वासघात पाएँ।
मेरो सेयरको करिब दुई वर्षको सावा–ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो। उस्ले पैसा नदिए सिधैँ मसँग मिल्न आइज्। हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने।
प्रिय यदि तिमी जाली फटाहाकै पक्षमा लागि नै रहने हो भने, यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने सम्बन्ध छ भनिरहनुको औचित्य नै के रह्यो र प्रिय?
कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ, माफ गर प्रिय! यदि कथंकदाचित म मरे भने मेरो काजकिरियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु। यो मेरो बिन्ती!
Shares
प्रतिक्रिया