यस अभियान अन्तर्गत गत नोभेम्बर २३ मा चिनियाँ अन्तरिक्ष यान चन्द्रमाका लागि उडेको थियो।
चिनियाँ यानले डिसेम्बर २ तारिखका दिनसम्ममा चन्द्रमाबाट सफलतापूर्वक त्यहाँको ढुंगा र माटोको नमुना संकलन गर्न सफल भएको थियो।
त्यसपछि डिसेम्बर ५ मा चिनियाँ मुन ल्यान्डर रिटर्न मोड्युलको सम्पर्कमा आएको थियो। सोही दिन ल्यान्डरले रिटर्नरमा झन्डै २ केजी चन्द्रमाको ढुंगा र माटोको नमुना पठाउन सफल भयो।
सो क्रममा चीनले चन्द्रमामा आफ्नो देशको झण्डा फहरायो, चीन अमेरिकापछि चन्द्रमामा झण्डा फहराउने विश्वकै दोस्रो मुलुक बन्यो।
चिनियाँ विज्ञहरुका अनुसार रिर्टन मोड्युल अर्थात् रिटर्नरले यतिबेला चन्द्रकक्ष छाडि सकेको छ। यो बुधबार रातिदेखि पृथ्वीतर्फ अगाडि बढीसकेको छ।
यदी रिटर्नर पृथ्वीमा सफलतापूर्वक अवतरण गर्न सके चीन रुस र अमेरिकापछि चन्द्रमाको ढुंगाको नमुना पृथ्वीमा ल्याउने तेस्रो मुलुक बन्नेछ।
चाङ’ए ५ चन्द्र अभियानमा महिलाको योगदान
चन्द्रमाबाट ढुंगा र माटोको नमुना संकलन गर्ने चीनको ऐतिहासिक चन्द्र अभियान सफल हुनै लाग्दा यतिबेला यस चन्द्र अभियानमा महत्वपूर्ण योगदान दिने तीन चिनियाँ महिला वैज्ञानिकको चर्चा हुन थालेको छ।
चीनको सामाजिक सञ्जालमा २४ वर्षीया महिला वैज्ञानिक चाउ चेङयु सबैभन्दा बढी चर्चित बनेकी छिन्।
यस अभियानमा चाउ रकेट कनेक्टर प्रणालीको प्रमुखको जिम्मेवारीमा थिइन्।
यस ऐतिहासिक अभियानमा चाउको महत्वपूर्ण योगदानपछि चिनियाँ नागरिकहरुले महिलाको सामर्थ्यलाई उमेर र समाजले छेक्न नसक्ने बताइरहेका छन्।
‘मानिसहरु चाउको बारेमा जिज्ञासु छन् किनभने उनी जवान छिन्’ चाइना युनिभर्सिटी अफ माइनिङ एन्ड टेक्नोलोजीमा पीएचडी गरिरहेका वैज्ञानिक वान चाओरान भन्छन्,‘मलाई विश्वास छ एकदिन महिला वैज्ञानिकको कामको बारेमा विशेष रिपोर्टहरु बन्ने छैनन्। हामी सबै मानव हौं र हामीमा एकै किसिमको क्षमता छ।’
चीनको चन्द्र अभियान ‘चाङ ए’को विषयलाई लिएर चाउसँगै अन्य दुई महिलाको पनि चर्चा भइरहेको छ।
सुई यिहान र सन जेनलियानको योगदानको विषय पनि चिनियाँ सामाजिक संजालमा उत्तिकै चर्चामा छ।
सुई यिहानले रेकट सफ्टवेर सम्बन्धी कार्यमा योगदान दिएकी थिइन् भने सन जेनलियान रकेट प्रक्षेपण प्रणालीको निर्देशक थिइन्।
सुईले हालै युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी अफ चाइनाबाट स्नातक सकेकी हुन्। सनभने चीनको लङ–मार्च रकेट प्रक्षेपणलाई सफल बनाइसकेकी वैज्ञानिक हुन्।
(चिनियाँ मुन ल्यान्डर र रिटर्नर यसरी आएका थिए सम्पर्कमा)
पछिल्लो समय चीनमा महिलाहरु पनि विज्ञानको क्षेत्रमा अगाडि बढ्दै गएको देख्न सकिन्छ। विज्ञानका कक्षाहरुमा महिला र पुरुषको सहभागीता बराबरी देखिने गरेको पनि बताइएको छ।
सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ अर्थात् यसपटकको अभियानले सघाउने अपेक्षा विज्ञहरूको छ।
चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ। (इन्कस्टोन र एजेन्सीको सहयोगमा)
प्रतिक्रिया